नेपालको तगारो- जस्तो फुटबलमा भारत, त्यस्तै क्रिकेटमा युएई – Nepal Press

नेपालको तगारो- जस्तो फुटबलमा भारत, त्यस्तै क्रिकेटमा युएई

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसीपको सेमिफाइनलबाट बाहिरिएसँगै नेपालको एसिया कप खेल्ने सपनामा ग्रहण लाग्यो । बलिङमा राम्रो प्रदर्शन गरेर जितको आधार खडा गरेको भए पनि नेपालका लागि बाधक बन्यो वर्षा ।

वर्षाका कारण पुरा खेल हुन नसकेपछि नेपाल फाइनलमा पुग्नबाट वञ्चित भएको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल समूह चरणका चारमध्ये तीन खेल जित्दै सेमिफाइनल पुगेको थियो । युएईले भने समूह ‘ए’मा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङमा आएको युएई १९.५ ओभरमा ८१ रन जोड्दै अल आउट भयो । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि युएई सस्तैमा समेटिएको थियो । तर दोस्रो इनिङको खेल हुन नसकेपछि आईसीसीको नियम अनुसार नेपालको यात्रा समाप्त भएको हो ।

समूह चरणमा हङकङसँगको हार नेपाललाई आज भारी पर्‍यो । समूह चरणमा हङकङलाई हराएको भए नेपाल अपराजित रहँदै सेमिफाइनल पुग्थ्यो । सेमिफाइनलमा तुलनात्मक रूपमा कमजोर रहेको समूह ए को उपविजेता मलेसियालाई नेपालले हराउन सक्थ्यो । त्यसले नेपाललाई एसियाकपमा डोर्‍याउन मद्दत गर्थ्यो । तर अब त्यो सबै काल्पनिक कुरा मात्रै भयो ।

पछिल्लो समय नेपालको महिला र पुरुष दुवै फुटबल टिमका लागि प्रमुख बाधक बन्दै आएको छ छिमेकी देश भारत । ठिक त्यसैगर क्रिकेटमा चाहिँ युएईले नेपाललाई हैरान पार्न थालेको छ । जसरी नेपाली फुटबल टिम धेरै प्रतियोगिताको फाइनलमा भारतसँग पराजित हुने गर्छ, क्रिकेट टिमको युएईसँग यही अवस्था छ । आज महिला टिमसँग युएईको बाधा पन्छाउने सुवर्ण अवसर थियो, तर वर्षाले नेपालको दुर्भाग्य निम्त्यायो ।

पछिल्लो तीन वर्षमा नेपाली महिला क्रिकेट टिमले युएईसँग चार खेल खेलेको छ । अघिल्ला दुई खेल खेल्दा नेपालभन्दा धेरै कमजोर थियो युएई । तर आज एसोसिएट क्रिकेटमा सबैको बलियो प्रतिद्वन्द्वी बनिसकेको छ ।

नेपाली महिला टिमले सन् २०१९ मा युएईसँग दुई खेल खेल्दा सहज जित हासिल गरेको थियो । जनवरी, २०१९ मा थाइल्यान्डमा भएको महिला ‘थाइल्यान्ड महिला टी–२० स्मास’ मा नेपालले युएईविरुद्ध २० ओभरमा ६ बल बाँकी रहँदा ६ विकेटले जितेको निकालेको थियो । यस्तै, २०१९ फेब्रुअरीमा थाइल्यान्डमा भएको आईसीसी महिला विश्वकप एसिया रिजन छनोटमा युएईलाई १७.३ ओभरमा ४१ रनमा समेट्दै ७ विकेटको उत्कृष्ट जित निकालेको थियो ।

तर, तीन वर्षमा युएईले आफ्नो स्तर धेरै बढाइसकेको छ । त्यसपछिका पछिल्ला दुई खेलमा नेपाल युएईसँग लज्जास्पद रूपमा पराजित भएको छ । नोभेम्बर २०२१ मा भएको विश्वकप छनोट एसिया रिजन छनोटमा टस जितेर पहिला फिल्डिङ गरेको नेपाललाई युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २८ रनको लक्ष्य दिएको थियो । तर, नेपाल १९.४ ओभरमा ७९ रन बनाउँदै अलआउट भयो । यो सिनियर टिमको मात्रै कुरा भयो । गत महिना सम्पन्न यु–१९ महिला विश्वकप एसिया रिजन छनोटमा नेपाल युएईसँग ८ रनमा समेटिँदै लाजमर्दो रेकर्ड बनायो ।

महिला टिमका लागि मात्रै होइन, पुरुष क्रिकेट टिम पनि युएईसँग आजित छ । नेपालले युएईसँग खेलेका पछिल्ला चार खेलमा एउटा पनि जित निकाल्न सकेको छैन । गत फेब्रुअरीमा सम्पन्न टी–२० विश्वकप छनोटमा नेपाल समूह चरणमा अपराजित रहेको सेमिफाइनलमा युएईसँग पराजित हुँदा विश्वकप खेल्ने सपनालाई बिट मार्दै फर्किएको थियो ।

सन् २००७ मा नेपाली महिला क्रिकेट टिमसँगै आफ्नै क्रिकेट यात्रा सुरु गरेको युएई एसोसिएट क्रिकेटमा सबैभन्दा बलियो साबित भएको छ । यस्तै, पुरुषतर्फ सन् १९९४ मा नेपालभन्दा करिब दुई वर्ष अघि मात्रै खेल्न सुरु गरेको युएई एसोसिएटको शीर्ष टिमका रूपमा उभिएको छ ।

युएई नेपालभन्दा माथि उठ्नुमा धेरै फ्याक्टरहरू छन् । त्यहाँका खेलाडीले पाउने एक्सपोजर, क्रिकेटमा लगानी, मैदानको गुणस्तर, ग्रास रुट क्रिकेट सबैमा युएई नेपालभन्दा धेरै अगाडि छ ।

नेपालमा उमेर समूहका प्रतियोगिता नै कम हुन्छन् । अझ भनौँ, आयोजना नै हुँदैनन् । ग्रास रुट राम्रो बनाउन नसक्दा त्यसको असर सिनियर टिममा पनि पर्नु स्वाभाविक हो । हरेक समय नेपाली टिममा फरक–फरक अनुहार देख्ने गरिएको छ । धेरै खेलाडी निरन्तर टिममा टिक्न सक्दैनन् । खेलेर जीवनयापन हुँदैन भनेर कयौँ खेलाडी विदेश पलायन भइरहेका छन् । कुनै खेलाडीको विकल्प नपाउँदा खराब प्रदर्शन गरे पनि वर्षौँ टिममा परिरहेका छन् । कम लगानी र बढ्दो अपेक्षाले प्रत्यक्ष रूपमै क्रिकेटलाई असर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर