सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तकको चरम अभाव, शिक्षक पुरानै पुस्तक पढाउन बाध्य – Nepal Press

सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तकको चरम अभाव, शिक्षक पुरानै पुस्तक पढाउन बाध्य

कैलाली । धनगढी ५ शिव नगरकी सुशीला जोशी धनगढी हसनपुरमा रहेको समर्पण पुस्तक पसलमा पुग्न थालेको करिब डेढ महिना पुग्न थाल्यो । उनी कक्षा ८ मा अध्ययनरत छोराका लागि अङ्ग्रेजी र नेपाली विषयको पुस्तक चाहिएको भन्दै पसल पुग्छिन् । करिब डेढ महिना देखि पुस्तक पसल सञ्चालन डिल्लीराज ओझाले उनलाई किताब आए सम्पर्क गर्छु भन्दै रित्तो हात फर्काउन बाध्य भएका छन् ।

‘कहिले सुशीला म्याडम आउनु हुन्छ । कहिले उहाँको श्रीमान् आउनु हुन्छ । कहिले विद्यार्थी स्वयम् आउनु हुन्छ तर, हामीले पुस्तक छैन भन्न बाध्य छौँ’ उनले भने, ‘अहिले उहाँहरू जस्ता सयौँ अभिभावकहरूलाई हामी त्यही भनिरहेका छौँ ।’

सुशीला जस्तै हसनपुरकी सुनिता रावल पनि पुस्तक पसलमा पुग्न थालेको करिब १ महिना पुग्न थाल्यो । उनी आफै कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । नेपाली विषयको पुस्तक लिन पसल पुग्ने उनले अहिले सम्म पुस्तक पाउन सकेकी छैनन् ।

धेरै अभिभावक र विद्यार्थी पुस्तक चाहिएको भन्दै पसल आउन थालेपछि ओझा आफै पुस्तक बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रको गोदाममा पुग्ने गरेका छन्।

‘कतै पुस्तक आएर पनि हामीले नपाएका हौँ कि भन्दै गोदाममा जाँदा गोदाम रित्तो पाएका छौ’ उनले भने ।
अहिले सुदूरपश्चिम प्रदेशमा करिब १० लाख बढी पाठ्य पुस्तक अभाव रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना पुग्नै लाग्दा पनि विद्यार्थीले पाठ्य पुस्तक नपाउँदा मारमा परेका छन् ।

कक्षा ४, ५,६,७,८,९ र १० का विद्यार्थीहरू पुस्तक नपाएर मारमा परेका छन् । सबै भन्दा धेरै मारमा कक्षा ८ का विद्यार्थीहरू रहेका छन् । सुदूरपश्चिम प्रदेशका कक्षा ८ को पाठ्य पुस्तक कुनै पनि नआएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सुदूरपश्चिम अध्यक्ष मेखराज दाहालले बताए ।

‘सुदूरपश्चिम प्रदेशमा पुस्तकको निकै ठुलो अभाव छ’ उनी भन्छन्, ‘समयमा पुस्तक नपुग्दा विद्यार्थीको पठन पाठन नै प्रभावित भइरहेको छ ।’

उनका अनुसार प्रदेशका कक्षा ४ को मात्र ७० हजार थान पाठ्यपुस्तक चाहिन्छ । तर, १० हजार थान मात्रै आएको छ ।

कक्षामा ६ मा ५० हजार थान पुस्तक आवश्यक पर्नेमा ३० प्रतिशत मात्रै पुस्तक आएको छ । ७ कक्षाको अत्यन्त कम आएको र केही दिनमा आउने जनाइएको छ । कक्षा ८ को पुस्तक अझै सुदूरपश्चिम प्रदेशमा पुगेको छैन ।

‘विद्यार्थीलाई मात्र होइन कक्षा ८ को पुस्तक नहुँदा शिक्षकलाई पनि समस्या छ’ उनले भने ‘अघिल्लो वर्षको पुस्तक लिएर केही ठाउँमा विद्यार्थी पढाइरहेको भन्ने पनि सुन्न आएको छ ।’

अरू कक्षा भन्दा १० कक्षाको पुस्तक भने केही मात्रामा उपलब्ध भएको दाहालको भनाइ छ । प्रदेशमा १० कक्षाको पनि करिब ७ हजार थान पुस्तक अपुग छ ।
आवश्यक मात्रामा पुस्तक नहुँदा पहिलो चरणमा दार्चुला र बाजुरामा पुस्तक बाँडिए , त्यहाँ पनि पर्याप्त मात्रामा पुस्तक नपुगेको दाहाल बताउँछन् ।

‘पहिले दार्चुला र बाजुरामा वितरण गरिएको थियो । ‘१ सय थान माग्नेलाई २० पिस दिइएको थियो’ उनले भने ‘जिल्लागत रूपमै सबै जिल्लामा पुस्तक पुगे पनि क्षेत्रगत रूपमा धेरै क्षेत्रहरूमा अझै पुस्तक पुग्न बाकी छ ।’

कैलालीको पण्डौनमा अहिले सम्म कुनै पनि विषयमा पुस्तक नपुगेको उनको दाबी छ ।

धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका प्राचार्य हरिशकुमार ओझाले पनि पुस्तक नहुँदा निकै समस्या झेल्नु परेको बताए ।

‘शिक्षकहरूले पाठ्यक्रम डाउनलोड गरेर पढाउने गरेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयले पुराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए। केही कक्षाका पुस्तकहरू परिवर्तन भएका छन्।’

सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको थियो। तर असार पहिलो साता सुरु हुँदा पनि प्रदेशलाई आवश्यक पर्ने पुस्तक अझै उपलब्ध भएको छैन।

तराइका दुई जिल्ला कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लामा पुस्तक पुगेको छैन। केन्द्र बाट नआएका कारण प्रदेशमा वितरण गर्न नसकिएको बताइएको छ।

विगतका वर्षहरूमा कतिपय विद्यालयका विद्यार्थीले शैक्षिक सत्र सकिँदा पनि पुस्तक नपाएको गुनासो थियो। यस वर्ष पनि सोही अवस्था सिर्जना हुने आशंका गरिएको छ।

तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिमका निर्देशक ध्रुवराज पन्तले असारको मसान्त सम्म पुस्तक वितरण गरिसक्ने दाबी गरेका छन्।

‘पुस्तक आउने क्रम जारी छ । आज पनि आइरहेको छ’ उनले भने ‘असार मसान्त सम्मा हामी सबै ठाउँमा पुस्तक पुराउँछौँ ।’

जनक शिक्षा सामग्रीले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा केही ढिलाइ भएको दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर