तरकारीले बजार नपाएको भन्दै ज्ञान केन्द्र धाउन बाध्य छन् बाजुराका किसान – Nepal Press

तरकारीले बजार नपाएको भन्दै ज्ञान केन्द्र धाउन बाध्य छन् बाजुराका किसान

किसानसँग सस्तोमा किनेर उपभोक्तालाई महँगोमा बेच्छन् व्यापारी

कैलाली । बाजुरा बडिमालिका ४ रिलाका हर्क नाथले ३० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । बाजुरामा यति धेरै क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्ने निकै कम किसान छन् ।

कृषि ज्ञान केन्द्र बाजुराले नमुना प्लट अन्तर्गत जग्गाको भाडा तिरिरहेका छ भने बिउ र मलमा पनि अनुदान दिइरहेको छ ।

उच्च पहाडी जिल्लामा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान केन्द्रले किसानलाई अनुदानको व्यवस्था गरेको हो । त्यसपछि यहाँका किसानहरूले पनि कृषिमा लगानी बढाए । तर, उत्पादन भएको बस्तुले बजार नपाउँदा यहाँका किसानहरू मारमा परेका छन् ।

केही दिन अघि मात्रै व्यावसायिक तरकारी खेती गरिरहेका नाथ आफूले उत्पादन गरेको करिब १० क्विन्टल बढी तरकारी लिएर ज्ञान केन्द्र बाजुरा पुगे । गह भरी आँसु बनाउँदै गेटमा पुगेका उनले सूचना अधिकारी मीन प्रसाद जैसीलाई सम्पर्क गरे ।

आफूले उत्पादन गरेको तरकारी महँगो भएको भन्दै व्यापारीले खरिद गर्न आनाकारी गरेको भन्दै उनले बिक्री गरिदिन याचना गरे ।

वार्षिक २ लाख १० हजार रुपैयाँ भाडा तिर्ने गरी गोलभेँडा, हरियो खुर्सानी, चिचिन्डो, लौका, काँक्रा, करेला, फर्सी, भेडे खुर्सानी, प्याज, भिण्डी, घिरौँला, भन्टा आदी उत्पादन गरिरहेका छन् । तर उत्पादनले बजार नपाउँदा निकै समस्या भइरहेको नाथले गुनासो गरे ।

‘धेरै मेहनत गरेर उत्पादन गरेको तरकारी बजारमा पुराउँदा महँगो भने किन्न सक्दैनौँ भन्छन् । अनि तराइबाट आएको विषादी प्रयोग भएको तरकारी उपभोक्तालाई झन् महँगोमा बेच्छन् हामी मारमा छौ’ उनले कृषि ज्ञान केन्द्रमा दुखेसो पोखे ।

वार्षिक १३ देखी १५ लाख सम्मको कारोबार हुने गरेको बताउने नाथले उत्पादनले बजार नपाउँदा सोचे अनुसारको फाइदा लिन नसकेको बताए ।

उनको अहिले हरेक ३ देखी ५ दिनमा ७ देखी १० क्विन्टल तरकारी बजारमा आउने गरेको छ ।बारीमै कुहिन भन्दा बरु सस्तोमा बेच्न बाध्य भएको उनको पीडा छ ।

‘सस्तोमा नबेच्ने हो भने बारीमा कुहिन्छ । त्यो भन्दा घाटा खाएर भए पनि सस्तोमा बेचिरहेका छौँ’ उनले भने ‘हामीले सस्तोमा बेचेर पछि हामी नै किन्न जाँदा व्यापारीले दुई गुणा बढीमा बेच्ने गरेको पाएका छौँ ।’

नाथको जस्तै पीडा र समस्या बडिमालिका ६ जडांगा महेन्द्र दानीको पनि छ । उनले पनि भाडामा १० रोपनी जग्गा लिएर तरकारी खेती गरिरहेका छन् । उनी पनि अहिले उत्पादनले बजार नपाउँदा हैरान भएको बताउँछन् ।

‘उच्च पहाडी जिल्लामा कृषि उत्पादन गर्न निकै समस्या छ त्यति समस्या झेलेर उत्पादन गर्दा पनि बिक्री हुँदैन’ उनले भने ‘हामी त अहिले निकै समस्यामा छौँ ।’

किसानको उत्पादनले बजार नपाउँदा किसानलाई कृषि पेसा तर्फ आकर्षित गरिहरेको ज्ञान केन्द्र पनि समस्यामा परेको छ । ठुलो लगानी कृषिमा गर्दा पनि जीवन स्तरमा सुधार भने आउन सकेको छैन । उनीहरू अझै पनि उत्पादन भएको बस्तु बिक्री गर्न सहयोग गरिदिन आग्रह गर्दै ज्ञान केन्द्र धाउन थालेका छन् ।

व्यापारीबाट उपभोक्ता ठग्न किसान पनि ठगिन थालेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जौशीको बुझाइ छ ।

‘यहाँका किसानले चिचिन्डो ५० घटी दिन सक्दैनन् । तराइबाट ४० सम्ममा यहाँ आउँछ । व्यापारीले त्यसैलाई १२० मा बिक्री गर्छन्’ उनले भने ‘व्यापारीको महँगो मूल्य र उपभोक्ताको लापरबाहीका कारण यहाँका किसान मारमा परेका छन् ।’

पहाडमा विषादी प्रयोग नगरी उत्पादन गर्दा पनि उपभोक्ताले सोधी खोजी नगर्दा तराइको उत्पादनले पहाड मारमा परेको उनको भनाइ छ ।

बाजुराको बडिमालिका कृषिको उर्वर भूमि मानिन्छ । बडिमालिका ३ रजाली २ घाँघर लगायतका क्षेत्रका धेरै किसान कृषिमा आधारित छन्। यहाँ धेरै किसानले थोरै थोरै उत्पादन गरेर पनि बजार पाउन सकस छ ।

यहाँका किसानले स्थानीय बजारमा तिते करेला किसानले ५० देखी ६० मा दिन्छन् । तर, व्यापारीलाई यही महँगो हुन्छ ।

तराईबाट २/४ रुपैयाँ सस्तो पाउँदा उनीहरूले स्थानीय उत्पादनलाई चासो नदिने गरेको सूचना अधिकारी जैशीले बताए ।

स्थानीय किसानसँग ५० रुपैयाँमा करेला राख्न आनाकानी गरेका व्यापारीले उपभोक्तालाई भने धमाधम एक सय रुपैयाँमा बेचिरहेका हुन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *