अछाम घटना : दोषी पक्राउ नहुँदा ४ दिन सम्म उठ्न सकेन शव – Nepal Press

अछाम घटना : दोषी पक्राउ नहुँदा ४ दिन सम्म उठ्न सकेन शव

एसएसपी नेतृत्वको टोली घटनास्थलमा

कैलाली । जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय विनोद शाहीको घटनामा संलग्नहरू अझै पक्राउ परेका छैनन् ।

पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिवार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। स्थानीयले उनको हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् । प्रहरीले घटनाबारे तथ्य सार्वजनिक गर्न सकेको छैन ।

दोषी पक्राउ नपरेको मृतकका आफन्तहरूले अझै शव उठाउन मानेका छैनन् ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव शनिवार बिहान स्थानीयले फेला पारेका थिए।

निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।

विद्यामन्दिर उच्च माविको कक्षा १० मा अध्ययनरत शाही शङ्कास्पद अवस्थामा मृत भेटिएपछि घटनाको चौतर्फी विरोध भइरहेको छ।

विद्यामन्दिर मावि विनायक, षोडशादेवि मावि मङ्गलसेन, अछाम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलवार पनि दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलन गरेका छन्। सदरमुकाम मंगलसेन विद्यार्थीहरूले पनि जिल्ला प्रशासन तथा प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्।

आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जन बहादुर शाहीको पुतला दहन गरेका थिए ।

किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन्।

स्थानीय आन्दोलित भएपछि पञ्चदेवल विनायक नगरपालिकाकी मेयर सदरमुकाम मंगलसेनमा बस्न थालेकी छन्। मेयर अम्बिका चलाउने आफू विरुद्ध नाराबाजी भएपछि असुरक्षित ठहर गर्दै सदरमुकाम सरेकी हुन्।

घटनामा आफूलाई लगाएको आरोप झुटो भएको भन्दै दोषी जोसुकै भए पनि घटनाको सत्य तथ्य छानबिन गर्न आफू पनि लागेको उनले बताइन्। मेयर चलाउनेकै संलग्नतामा किशोरको हत्या भएको एमाले कार्यकर्ताले आरोप लगाएका छन्।

एसएसपी नेतृत्वको टोली घटनास्थलमा

अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली खटाएको छ। सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यका अनुसार अपराध अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा खटाइएको टोली अछाम पुगिसकेको छ।

आजदेखि एसएसपी नेतृत्वको टोलीले काम सुरु गर्ने उनले बताएका छन्। यसअघि सीआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमान्डमा ६ सदस्यीय टोली पनि खटाइएको छ।

प्रदेश प्रहरी कार्यालयले पठाएको सीआइबी टोलीले पनि घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दा पनि अझै दोषी पक्राउ पर्न सकेका छैनन् ।

बोले थापा

यसैबिच नेपाली कांग्रेसमा महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अछाम घटनाका अपराधीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्। मङ्गलवार संसदमा बोल्दै थापाले अछामका विनोद शाह मृत फेला प्रकरणका अपराधीले सजाय पाउनुपर्ने र निर्दोष कहीँ–कतैबाट फस्ने अवस्था बन्न नहुने बताएका हुन्।

उनले भने, ‘यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषी छुट्दै नछुटोस्। यो हाम्रो माग छ। कहीँ–कतै राजनीतिक प्रतिशोध साध्नका लागि यस्ता घटनाहरूको प्रयोग नहोस् माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर