मेस्सी र एमबाप्पेका नयाँ प्रशिक्षक माउरिन्हो वा जिदान ! – Nepal Press

मेस्सी र एमबाप्पेका नयाँ प्रशिक्षक माउरिन्हो वा जिदान !

काठमाडौं । फ्रान्सको घरेलु प्रिमियर लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

ट्रान्सफर गुरु फाब्रियानो रोमानोले पीएसजीले आगामी केही दिनभित्र पोचेटिनोलाई बर्खास्त गर्न लागेको उल्लेख गरिएको हो । उनकै खुलासालाई आधार मान्दै डेली मेल, टेलिग्राफ, द सनजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पोचेटिनो बर्खास्त हुन लागेको बारे समाचार लेखेका छन् ।

पीएसजीमा अध्यक्ष नास्सर अल खेलाईफी फर्किएलगत्तै उक्त निर्णय हुने समाचारहरूमा दाबी गरिएको छ ।

‘पीएसजी आगामी केही दिनभित्र पोचेटिनोलाई बर्खास्त गर्नतिर लागिरहेको छ । हटाउने निर्णय हुन अब एउटा बैठक मात्र बाँकी छ । नास्सर फर्किएपछि यो निर्णय हुने छ’, रोमानोले भनेका छन् ।

गत सिजन पीएसजीलाई घरेलु लिग उपाधि जिताए पनि युरोपियन च्याम्पियन्स लिगबाट भने प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो । लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमार, एन्जेल डी मारियाजस्ता खेलाडी टोलीमा भएर पनि च्याम्पियन्स लिगको प्रदर्शनबाट पीएसजी व्यवस्थापन पोचेटिनोसँग सन्तुष्ट छैन । इङ्ल्यान्डमा ६ वर्षको बसाइपछि ५० वर्षीय अर्जेन्टिनी पोचेटिनो गत वर्ष मात्र पीएसजीमा आबद्ध भएका थिए ।

समाचारमा पीएसजी च्याम्पियन्स लिग जिताएका प्रशिक्षकको खोजीमा पीएसजी रहेको उल्लेख छ । क्लब छाड्ने मनस्थिति बनाएका एमबाप्पेलाई राजी गरेपछि पीएसजी अब क्लबलाई तत्काल कसरी च्याम्पियन्स लिग जिताउनेस्तरमा पुग्न सकिन्छ भनेर त्यसतर्फ लागि परेको छ ।

द सनले रियल म्याड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान पीएसजीको प्रशिक्षकका रूपमा बलियो दाबेदार रहेको उल्लेख गरेको छ । जिदानले लगातार तीन सिजन रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन बनाएका थिए । २०१६ देखि २०१८ र १०१९ देखि २०२१ सम्म रियल म्याड्रिडको प्रशिक्षक रहेका जिदान अहिले जिम्मेवारीमा छैनन् । फ्रान्सका लागि विश्वकप जिताएका उनी तीनपटककका फिफा वर्ष खेलाडी पनि हुन् । जिदान फ्रान्सको प्रशिक्षक बन्न पनि इच्छुक छन् । कतारमा हुने विश्वकपपछि राष्ट्रिय टोलीमा डिडियर डेसच्याम्प्सको स्थान आफूले पाउन सक्ने उनको अपेक्षा छ ।

यता डेली मेलले भने प्रशिक्षक जोसे माउरिन्होको सम्भावना बलियो रहेको उल्लेख गरेको छ। ५९ वर्षीय माउरिन्हो हाल इटालियन सिरिए क्लब एएस रोमामा रहेका छन् ।

रोमामा उनको अझै २ कार्यकाल बाँकी रहेको छ । माउरिन्होले इटालियन सिरि ए क्लब इन्टर मिलान र पोर्चुगलको एफसी पोर्टोका लागि च्याम्पियन्स लिग जिताएका छन् । विश्वका एकसे एक क्लबहरुलाई प्रशिक्षण गरेको अनुभव उनीसँग छ ।

माउरिन्होले सन् २००२ देखि २००४ सम्म पोर्टो, चेल्सीलाई २००४ देखि २००७ र २०१३ देखि २०१५ सम्म, इन्टर मिलानलाई २००८ देखि २०१० सम्म, रियल म्याड्रिडलाई २०१० देखि २०१३ सम्म, म्यानचेस्टर युनाइटेडलाई २०१६ देखि २०१८ सम्म टोट्टनहामलाई २०१९ देखि २०२१ सम्म प्रशिक्षण गराएका थिए । उनले म्यान युनाइटेड, टोट्टनहाम र रोमाका लागि मात्र घरेलु लिगको उपाधि जिताउन सकेका छैनन् ।

जिदान वा माउरिन्होमध्ये एक जना पीएसजीको प्रशिक्षक बनेको अवस्थामा मेस्सीका लागि त्यो नौलो अनुभव हुनेछ । यी दुवै प्रशिक्षक स्पेनिस क्लबमा रहँदा मेस्सी टाउको दुखाइ बन्ने गर्थे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *