प्रचण्डको जिकिर- माओवादीको १२२ सिट चाहेअनुसार देशलाई मोड्ने तागतसहितको हो – Nepal Press

प्रचण्डको जिकिर- माओवादीको १२२ सिट चाहेअनुसार देशलाई मोड्ने तागतसहितको हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन् । उनका अनुसार माओवादी पार्टी निर्वाचनबाट प्रभावशाली बनेको छ ।

‘हामी १२२ (स्थानीय तह) मा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’, प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भने ।

उनले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताए । पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उनको भनाइ छ ।

तर, गठबन्धन अपेक्षा गरेजस्तो नबन्नु र गाउँ/नगरपालिकामा भने माओवादी बलियो भएको ठाउँमा गठबन्धन नै नभएजस्तो भएको बताए ।

‘तल (गाउँ/नगरपालिकामा) गएपछि त झण्डैझण्डै गठबन्धन नहारेको देखियो । जहाँ हामी बलियो छौं, त्यहाँ के कांग्रेस, के एमाले के विप्लव ? के-के सबै … । गठबन्धनमा भएका पनि सबै । गठबन्धनमा नभएका पनि सबै मिलेर माओवादीलाई हराउने प्रयास गरियो’, उनले भने, ‘रोल्पा, कालिकोट, अरु पनि थुप्रै ठाउँमा । तर, पनि ती ठाउँहरूमा हामीलाई नै जनताले भरोसा गरे ।’

यद्यपि, प्रचण्डले गठबन्धन पूरै असफल भयो भन्न नचाहेको बताए । एमालेलाई पहिलो हुनबाट छेक्ने उद्देश्य पूरा भएको संकेत गर्दै उनले भने, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ ।’

अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा भने गठबन्धनभित्र माओवादीको स्वरुप बदल्नुपर्ने बताए । माओवादी यसअघि अलिक बढी उद्धार र अलिक बढी गठबन्धनप्रति भरोसा गर्ने दल बनेको प्रचण्डले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर