तुलसीपुरका टीकाराम : ‘हली’ देखि मेयरसम्म – Nepal Press

तुलसीपुरका टीकाराम : ‘हली’ देखि मेयरसम्म

दाङ । डेढ वर्ष हुँदा आमा गुमाएका विद्रोही स्वभावको एउटा ‘ख्याउटे केटो’ नेतृ मेनका पाेखरेलको नजरमा पर्‍यो । हाडेमीको मजगैँया परिवारकी छोरी मेनका २०३५/०३६ सालतिर पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलनमा होमिएकी थिइन् । उनको नजरमा परेको ख्याउटे केटोे टीकाराम खड्का थिए ।

टीकारामको गतिविधि हेर्दा मेनकालाई लाग्यो, ‘यसले केही गर्न सक्छ ।’ अनि उनले टीकारामलाई पञ्चायतविरुद्धको विद्यार्थी आन्दोलनमा लाग्न प्रेरित गरिन् । टीकाराम पनि के कम, मेनकाले हिम्मत दिएपछि हेलिए आन्दोलनमा । नेकपा मालेको अनेरास्ववियूका सदस्य रहेका उनी त्यतिबेला ७ कक्षामा पढ्थे ।

२०३७ सालको माघमा नारायणपुरमा विद्यार्थीहरुको सभा थियो । त्यो सभामा उनी पनि पुगे । प्रहरीले दमन गर्‍यो । टीकारामले प्रहरीको लाठी खाए । पञ्चायतविरुद्ध आन्दोलन चलिरह्यो, उनी लागिरहे ।

कक्षा ७ पासपछि उनी काकासँग रुकुम गए । मुरु माविमा ८ कक्षामा भर्ना भए । त्यतिबेला उनलाई राजनीतिको नशा लागिसकेको थियो । उनले आफू कम्युनिष्ट भएको बताउँदै त्यहाँ अखिल छैटौंमा आवद्ध भए । उनी त्यतिबेला अखिल छैटौंको एरिया कमिटी सदस्य भए । ६ महिनापछि उनले थाहा पाए अखिल छैटौं त मसालको संगठन रहेछ । पछी उनी पुनः माले निकट अनेरास्ववियूमा आवद्ध भएर राजनीतिक यात्रा अघि बढाए ।

२०३९ जेठमा उनका बुवाको निधन भयो । अनि दाङ फर्के । डेढ वर्षमा आमा गुमाएका उनले १४ वर्षमा बुवा पनि गुमाए । दिदीको बिहे भर्खरै भएको थियो । बुवाको निधनपछि बावुको नाममा रहेको २० हजारको ऋणले उनको टाउको थिच्यो । उनले चाहेर पनि पढ्न पाएनन् । ऋणबाट मुक्त हुन उनी भारत पसे । भारतमा ३ वर्ष मजदुरी गर्दा उनले ३ हजार रुपैयाँमात्रै कमाउन सके । नेपाल फर्के । उनलाई थप १७ हजार रुपैयाँ आवश्यक पर्‍यो । आम्दानी केही थिएन । न जग्गाजमिन नै थियो । ऋण कटाउन टीकाराम जमिनदार मोहनसिंह केसीको घरमा ‘हली’ बसे । हली बसेरै उनले बिजौरीमा पढ्न थाले ।

प्रारम्भिक शिक्षा प्रावि भित्री संक्राम र कक्षा १० सम्मको अध्ययन जनता संस्कृत मावि बिजौरीमा गरे । उनले भारतको गोरखपुरबाट एसएलसी पास गरे । त्यसपछि पढाइ थाँती राखेर पूर्णकालीन राजनीतिमा सक्रिय भए ।

२०४१ सालमा टीकाराम तत्कालीन मालेको भ्रातृ संगठन अखिल नेपाल किसान संघको बिजौरीस्तरीय संगठित सदस्य बने । २०४२ सालमा अनेरास्ववियूको जिल्ला कमिटी सदस्य, २०४३ सालमा अनेरास्ववियूकै सहसचिव भए । उनी पार्टीमा पनि उत्तिकै क्रियाशील थिए । राजनीति गर्ने क्रममै उनी २०४४ सालमा जेल परेका थिए ।

२०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदादेखि नै टीकाराम पूर्णकालीन कार्यकर्ताको रुपमा भूमिगत भए । त्यही क्रममा उनी २०४६ सालमा देउखुरी उपत्यका इलाका सचिव हुनुका साथै नेकपा माले जनआन्दोलन संघर्ष समिति दाङको जिल्ला सदस्य भएका थिए ।
त्यसपछि उनलाई पार्टी संगठन विस्तार गर्न रोल्पा पठाइयो । २०४६ सालको जनआन्दोदन सफल भएपछि टीकाराम २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटी उपसचिव भए । २०४८ साल जेठ १ मा भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघको पहिलो महाधिवेशनले केपी ओलीलाई अध्यक्ष चयन गर्दा टीकाराम केन्द्रीय सदस्य बने ।

२०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भए । उक्त जिम्मा २०५७ सम्म सम्हाले । रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिकाको अझै पनि प्रशंसा हुने गर्छ ।

२०५८ सालदेखि टीकारामले दाङमा जिल्ला कमिटीमा रहेर काम गरे । २०६४ सालमा अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य बने । २०६७ मा संघको स्थायी कमिटी सदस्य भए । उनले २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको नेतृत्व गरे । उनी तत्कालीन एमाले र माओवादी एकीरकण भएर बनेको नेकपा दाङको अध्यक्षसमेत भएका थिए । पार्टी विभाजनपछि खड्का एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवाय सदस्य छन् ।

सादगी र निम्न वर्गीय टीकारामले आफ्नो जीवन राजनीतिमै सुम्पेका छन् । कम्युनिष्ट नेतामा उनी उदारहण बन्ने गरेका छन् ।

कम्युनिष्ट पार्टीभित्र वर्ग उत्थान भएका नेता तथा कार्यकर्ताले विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्ने, प्रलोभनमा पर्ने, उनीहरुकै एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिने प्रवृत्ति हावी भएको अवस्थामा टीकाराम खड्का जस्ता व्यक्ति राजनीतिक पार्टीहरुमा विरलै भेटिन्छन् ।

यस्तै व्यक्तिहरुले अहिले कम्युनिष्ट आन्दोलनलाई पतन हुनबाट जोगाएका छन् । उनी तुलसीपुर– १८ स्थित अक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका वुवाले जोतभोग गरेको ५/७ कठ्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरुले जोतभोग गर्दै आएका छन् ।

उनलाई २०७४ सालमा भएको निर्वाचनमा एमालेले लुम्बिनी प्रदेशबाट समानुपातिक उम्मेदवार बनाएको थियो । तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि उनी परेनन् ।

२०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्षमा नियुक्त भएका थिए । तर, तीन महिनामै आयोगसम्बन्धी मुद्दा परेपछि अदालतले कामकाज अगाडि नबढाउन आदेश गरेको थियो ।

पार्टीभित्र होस् वा राजनीतिक एजेण्डामा नियमित संघर्ष गर्दै आएका टीकारामले घरपरिवारभित्र पनि निकै संघर्ष गर्नुपर्‍यो । कम्युनिस्ट आन्दोलनको राप र संघर्षको तापले खारिएका यी नै टीकाराम खड्का सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर