प्रदेश १ : २०७४ भन्दा बलियो बन्दै माओवादी – Nepal Press

प्रदेश १ : २०७४ भन्दा बलियो बन्दै माओवादी

काठमाडौं । प्रदेश एकमा स्थानीय निर्वाचनको मत परिणाम अनुसार १३७ स्थानीय तह मध्य हाल सम्म ९९ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

२०७४ मा ९ स्थानमा नेतृत्व लिन सफल भएको माओवादी केन्द्र यो स्थानीय निर्वाचनमा बलियो भएको देखिन्छ । हाल सम्म माओवादीले प्रदेशभरि १२ वटा स्थानीय तहमा नेतृत्व लिन सफल भएको छ भने १७ वटा स्थानीय तहमा उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

हाल सम्म गणना भएका स्थानीय तह मध्य ताप्लेजुङको फाङतालुङ, मौवाखोला गाउँपालिकामा माओवादी उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने मिक्लाखोला, सिङदिङवा र सिरीजंघामा उपाध्यक्ष जित्न सफल भएको छ ।

यसै गरी पाँचथरको मिक्लाजुङमा नेतृत्व माओवादीको रहेको छ, भने कुम्याक, तुम्वेवा, फलेलुङ, फाल्गुनन्दमा उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

मोरङको मिक्लाजुङ, धनकुटाको छतरजोरपाटी, तेर्हथुमामा अठराई गाउँपालिका र संखुवासभाको मकालु गाउँपालिकामा पनि माओवादीले गाउँपालिका उपाध्यक्ष जित्न सफल भएको छ ।

भोजपुरको आमचोक गाउँपालिमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा माओवादीले विजय हासिल गरेको छ । कांग्रेस माओवादी गठबन्धन भएको राम प्रसाद राई गाउँपालिका र षडानन्द नगरपालिकामा उपाध्यक्ष जितेको छ ।

माओवादीले सोलुखुम्बुको थुलुङ दुधकोशीमा अध्यक्ष उपाध्यक्ष र माप्यदु धकोशीमा उपाध्यक्षमा जीत हासिल गरेको छ ।

माओवादीले ओखलढुंगामा भने एक गाउँपालिकामा चित्त बुझाएको छ । चिशंखुगढी गाउँपालिकामा निशान्त शर्मा बास्तोलाले जिल्लामै माओवादीको साख बँचाएका छन् ।

खोटाङको जन्तेढुंगा र खोटेहाँङमा माओवादीका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् भने साकेला गाउँपालिकामा उपाध्यक्ष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उपप्रमुखका उम्मेदवार निर्वाचित भएका छन् ।

उदयपुरको ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा माओवादीका अध्यक्ष निर्वाचित भएका छन् भने यहाँ माओवादीले गठबन्धनका कारण उपाध्यक्षमा कुनै स्थानीय तहमा आफ्नो जित हासिल गरेको छैन ।

झापा र सुनसरीमा अहिले सम्मको मत परिणाम अनुसार माओवादीले कुनै पनि स्थानीय तहमा जीत हासिल गर्न सकेको छैन ।

अहिले सम्मको परिणाम अनुसार प्रदेश १ मा कांग्रेस ५० स्थानीय तहमा जितहासील गर्दै पहिलो , दोस्रोमा एमाले ३१ स्थान, तेस्रोमा माओवादी १२ स्थानमा विजयी भएका छन् ।

प्रदेश एकमा हाल सम्म सार्वजनिक भएको परिणाम अनुसार जनता समाजवादी पार्टीले दुई स्थानीय तहको नेतृत्व लिएका छन् भने नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक स्थानमा विजय भएका छन् ।

प्रदेश एकका दुई स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवारले गाउँपालिकाको नेतृत्व लिन सफल भएका छन् ।

१३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, सङ्घीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर