चुनावको दुई दिनअघि भोजभतेर गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य सिंहविरुद्ध उजुरी – Nepal Press

चुनावको दुई दिनअघि भोजभतेर गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य सिंहविरुद्ध उजुरी

सुर्खेत । मतदातालाई भोज खुवाएर प्रभावित पार्न खोजेको भन्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानकी सिंहविरुद्ध आज मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रनगरमा राप्रपाले उजुरी दर्ता गरेको छ । राप्रपाको तर्फबाट वीरेन्द्रनगर वडा नं. ९ को वडाध्यक्ष उम्मेदवार केशव गिरीले उजुरी दिएका हुन् ।

उजुरीमा उल्लेख भए अनुसार वीरेन्द्रनगर वडा नं. ९ का मतदाताहरूलाई प्रभावित तुल्याउने गरी सिंहले बुधवार राती करिब १० बजे रक्सी, मासुसहितको भोजभतेर गरेको उल्लेख छ ।

उनले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै कारबाही गर्न भाग गरिएको छ । मोबाइलबाट खिचेको भोजभतेरको भिडियोलाई पेनड्राइभमा प्रमाण पेस गरिएको छ ।

उक्त उजुरी कार्यालयले आज ६४ नम्बरमा दर्ता गरेको हो । राप्रपा का उम्मेदवार गिरीले सत्ता र शक्तिको दुरुपयोग गर्दै आचारसंहिता उल्लंघन गरिएको बताए ।

‘मौन अवधिमा उहाँहरूले हाम्रो वडामा आएर भोजभतेर गर्नुका साथै मतदातालाई प्रलोभन देखाउने र धम्की दिने गरेको समेत सुन्नमा आएको छ,’ गिरीले भने ।

कार्यालयमा प्रमाणको रूपमा पेस गरिएको भिडियोमा केही महिला तथा पुरुषहरू खाना खाइरहेको देखिन्छ भने मदिराका वोतलहरु समेत देखिन्छन् । कांग्रेस नेतृ सिंहले भिडियो खिचेको थाहा पाएपछि उनी ढोकाबाट भित्र प्रवेश गर्दै ढोका बन्द गरेको प्रस्ट देखिन्छ ।

मुख्य निर्वाचन अधिकृत डा। राजेन्द्रकुमार आचार्यले आजै दर्ता भएको बताउँदै त्यसबारेमा आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जानकारी दिने बताए ।

‘आज कार्यालय बन्द भइसकेको छ । प्रहरीलाई भन्छौँ र आवश्यक कदम चाल्छौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर