बालेनलाई खुल्लापत्र : राजनीतिको ग्ल्यामर छोड्नुस्, पार्टी खोलेर आउनुस् – Nepal Press

बालेनलाई खुल्लापत्र : राजनीतिको ग्ल्यामर छोड्नुस्, पार्टी खोलेर आउनुस्

प्रिय बालेन जी ! नमस्ते । पछिल्लो करिब महिना दिन यता सामाजिक सञ्जालमा अधिक चर्चामा रहेको पात्र भएकाले तपाईँप्रति मेरो पनि स्वाभाविक चासो रहेको हो । यसर्थ पनि यो पत्र लेख्दै छु । हुनतः म एउटा राजनीतिक संगठनको सदस्य पनि भएको हुँदा चिठीमा लेखिएका सबै विषय तपाईँ र तपाईँका समर्थकका निम्ति रुचिकर नहुन पनि सक्ला । तर, साँच्चै तपाईँ राजनीतिक नेतृत्वमार्फत मुलुक रूपान्तरणको यात्रामा लाग्नुभएको हो भने यो पत्र पढ्ने समय निकाल्नुहुनेछ भन्ने विश्वास छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा भएसँगै एकाएक तपाईँको चर्चा बढ्यो । र्यापर तथा इन्जिनियरको पृष्ठभूमि भएको व्यक्तिले काठमाडौं महानगरलाई विकासको नयाँ उचाइमा लैजाने घोषणा सहित मैदानमा उत्रिएपछि धेरैको आँखा तपाईँमा पर्‍यो । सामाजिक सञ्जाल र त्यहाँ क्रियाशील युवा र किशोर किशोरीमाझ त तपाईँ देश बनाउने ‘नायक’का रूपमा नै उदाउनुभयो । कतिपय राजनीतिक दल र तिनका सदस्यले पनि खुलेर तपाईँलाई समर्थन गर्नुपर्ने धारणाहरू अभिव्यक्त गर्न थाले । एक दृष्टिकोणबाट हेर्दा यो साँच्चै रोचक र उत्साहप्रद पनि देखिएको छ ।

बालेन जी, तपाईँले चुनावमा कस्तो नतिजा ल्याउनुहुन्छ भन्ने त चुनाव पछि नै थाहा होला । तपाईँप्रति व्यक्तिगत रूपमा अधिकांशको झैँ मेरो पनि शुभेच्छा नै छ । तर, यहाँ प्रश्न बालेनको मात्र होइन । प्रश्न त राजनीतिले नै थिलथिलो बनाएको समाज र त्यसबाट मुक्ति दिलाउने सत्प्रयास र सत्मार्ग कसरी पहिल्याउने भन्ने हो ।

राजनीतिक अकर्मण्यता, भ्रष्टाचार र गैरजिम्मेवारीपनले जर्जर बनाएको हाम्रो देश र समाजलाई के एउटा व्यक्तिको प्रयासबाट सुधार गर्न सकिएला ? बालेनले राजधानी नै कायापलट गर्न सक्छन् भन्ने सदिच्छा वा भ्रम राख्ने नागरिक र बुद्धिजीवीहरूलाई मेरो जिज्ञासा छ, के संस्थागत, संरचनागत भ्रष्टाचार र अकर्मण्यताका कारण तन्नम भएको व्यवस्था सुधार गर्न एउटा गैर राजनीतिक व्यक्ति काफी छन् त ? होला, बालेन जी व्यक्तिगत रूपमा इमानदार, दूरदर्शी र सक्षम पनि हुनुहोला । तर, के महानगरपालिकामा रूपान्तरण ल्याउन मेयर एउटाको इमानदारिताबाट मात्र सम्भव होला ? राजनीतिक आरोह अवरोहका जानकारहरूले पनि संगठनमा नभई व्यक्तिप्रति यति धेरै अपेक्षा गर्नुले कि त उनीहरूको बुझाई सतही देखिन्छ । या त उनीहरू पनि राजनीतिक समस्याको पिँधमा नपुगी ‘ग्ल्यामर’को पछाडि मात्र लागेका छन् ।

बालेन जी तपाईँले अहिले काठमाडौं महानगरको सुधार गर्ने जस्ता प्रतिवद्धताहरु गर्नुभएको छ । त्योसँगै महानगर के कारणले गर्दा बिग्रियो भन्ने विषयमा ठोस विश्लेषण गरेको पाइएन । सायद, तपाईँलाई थाहा छ राजधानी सधैँ परिवर्तनको भोको छ । मानिसहरू सपना देख्न र सुन्न रुचाउँछन् । सपना बाँड्न सजिलो पनि हुन्छ । व्यालेटबाट हुने परिवर्तनलाई जहिले पनि आसपासले नभै केन्द्रले नेतृत्व गर्छ ।

कुनै पनि क्षेत्र, भूगोल वा समग्र समाजको सुधार गर्न पहिले त्यसलाई बिगार्ने कारक तत्त्वहरूका बारेमा विश्लेषण गर्नु श्रेयष्कर हुन्छ । समस्याको पहिचान बिना समाधान सम्भव छैन । तर, बालेन जी तपाईँले अहिले काठमाडौं महानगरको सुधार गर्ने जस्ता प्रतिवद्धताहरु गर्नुभएको छ । त्योसँगै महानगर के कारणले गर्दा बिग्रियो भन्ने विषयमा ठोस विश्लेषण गरेको पाइएन । सायद, तपाईँलाई थाहा छ राजधानी सधैँ परिवर्तनको भोको छ । मानिसहरू सपना देख्न र सुन्न रुचाउँछन् । सपना बाँड्न सजिलो पनि हुन्छ । व्यालेटबाट हुने परिवर्तनलाई जहिले पनि आसपासले नभै केन्द्रले नेतृत्व गर्छ । दैनिक जीवनका अनगिन्ती समस्याहरूले निस्सासिएको राजधानी धेरै पहिलेदेखि नै विकल्पको खोजीमा छ । राजधानी यथास्थितिबाट यथाशीघ्र मुक्ति चाहन्छ ।

डेढ दशकयता कै चुनावको विश्लेषण गर्ने हो भने पनि २०६४ मा माओवादीले गरेको क्लिनस्विप हेर्न सकिन्छ । त्यसको ६ वर्षमै राप्रपा नेपालले ल्याएको भोट र २०७४ को स्थानीय निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाको भोटले पनि राजधानीवासी एकपछि अर्को विकल्पका निम्ति उद्धत देखिन्छन् । तर, त्यो चाहना कुनै एउटा अमुक व्यक्तिको जीतले पुरा हुनै सक्दैन । होला, केही लोकप्रिय कदमहरू चाल्न सकिएला । तर, हाम्रो मात्रात्मक अव्यवस्थालाई सुधार्न त्यो खासै सहयोगी हुन सक्दैन ।

बालेन जी, तपाईँ राजनीतिक ‘ग्ल्यामर’ मात्र चाहनुहुन्छ भने तपाईँको अहिलेको यात्रा गज्जब छ । तर, व्यवस्थागत त्रुटिहरू सुधार गरेर समाज रूपान्तरण नै गर्न चाहनुहुन्छ भने तपाईँले संगठनात्मक अभ्यास गर्नै पर्छ । ढिलो वा चाँडो । सबै वडाका अध्यक्ष, सदस्य, नगरका उपप्रमुख र कर्मचारीतन्त्र उही पृष्ठभूमि र उही चरित्रको हुँदासम्म तपाईँका सदिक्षाहरु पूरा गर्न त परै जाओस् तपाईँले सुरुवातसमेत गर्न गाह्रो छ ।

हाल देशको समस्या भनेको संरचनागत र प्रणालीगत असक्षमता हो । जस्तै, भ्रष्ट राजनीतिक नेतृत्व, व्यक्तिवादी र आत्म केन्द्रित बुद्धिजीवी, दलीय आग्रहमा काम गर्ने पत्रकार, वकिलजस्ता पेसाकर्मी र दलीय खेताला बनेका कर्मचारीतन्त्र रूपान्तरणका मूल बाधक हुन् । हाम्रो सामाजिक मनोविज्ञान र चरित्र पनि यस्तै व्यक्तिवादी र स्वार्थी छ । पूर्वजहरूले समाजको हितका निम्ति काम गर्थे, सदाचारको पालना गर्थे तर पत्रकार विजयकुमारले भन्ने गरेझैँ अहिले समाज वैश्य युगमा छ । राजनीतिक, आर्थिक स्वतन्त्रता र विकृत पुँजीवादले मानिसलाई हदैसम्मको आत्म केन्द्रित बनाइदिएको छ । पैसा बिना बाँच्नै नसक्ने अवस्था बन्दा मानिसहरू आफू र आफ्नो परिवारको आर्थिक र भौतिक सुरक्षणमा मात्र केन्द्रित हुनुपर्ने बाध्यता छ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता मौलिक र आधारभूत विषय पैसामा मोलमोलाइ हुँदा भ्रष्टाचार नै गरेर भए पनि यथेष्ट पैसा कमाउनुपर्ने बाध्यता नागरिकमा छ । राज्य पनि उत्पादनमा केन्द्रित नभएर वितरणमा केन्द्रित छ । युवा जनशक्ति निर्यात गर्ने र बसेर खाने उपभोक्तामुखी समाज निर्माण भएको छ । उत्पादन गर्नमा त न राज्यको भूमिका र हौसला छ न त समाज नै यसका लागि सकारात्मक छ । यो सबै अहिलेका मूल समस्याका जड हुन् । विद्यासुन्दर, केपी ओली र शेरबहादुरजस्ता व्यक्तिहरू मात्र देश विकासका बाधक होइनन् । बरु, उनीहरूले निर्माण गरेको संगठन, त्यसको पृष्ठभूमि, स्वरूप र चरित्र विकासका बाधक हुन् ।

हुन त कतिपय राजनीतिक पार्टीकै कार्यकर्ताहरू पनि बालेनकै पक्षमा बोलेको देखिन्छ । सायद, त्यो उनीहरूको राजनीतिक निराशाको प्रकटीकरण होला वा आफ्नो पार्टीमा पद वा चुनावी टिकट नपाउनुको कुण्ठित अभिव्यक्ति होला । त्यो जेसुकै होस् । आफ्नो ठाउँमा छ । तर, बालेनबाट अपेक्षा गर्ने नागरिकहरूप्रति मेरो सम्मान छ । यो अवस्थामा उनीहरूलाई पुर्‍याउने राजनीतिक दलहरू नै हुन् ।

यी समस्या समाधानका निम्ति एउटा व्यक्तिको लगावबाट असम्भव प्रायः छ । संस्थागत कमजोरीलाई सुधार गर्न संस्थागत प्रयास नै आवश्यक छ । बहुलवादी राजनीतिक व्यवस्था भएको मुलुकमा राजनीतिले बिगारेका कुरा सुधार्न राजनीतिक संगठन नै आवश्यक छ । राजनीति ग्ल्यामर होइन यो त एउटा संस्थागत र संरचनागत इमानदारिता र दृढताको संगठित स्वरूप हो । लामो संघर्ष र मिहेनतबाट प्राप्त इमानदार र जबाफदेही राजनीतिक नेतृत्वबाट मात्र अहिलेका तमाम समस्याको समाधान हुनसक्छ ।

बालेन जी, तपाईँ राजनीतिक ‘ग्ल्यामर’ मात्र चाहनुहुन्छ भने तपाईँको अहिलेको यात्रा गज्जब छ । तर, व्यवस्थागत त्रुटिहरू सुधार गरेर समाज रूपान्तरण नै गर्न चाहनुहुन्छ भने तपाईँले संगठनात्मक अभ्यास गर्नै पर्छ । ढिलो वा चाँडो । सबै वडाका अध्यक्ष, सदस्य, नगरका उपप्रमुख र कर्मचारीतन्त्र उही पृष्ठभूमि र उही चरित्रको हुँदासम्म तपाईँका सदिक्षाहरु पूरा गर्न त परै जाओस् तपाईँले सुरुवातसमेत गर्न गाह्रो छ । राजधानीका समस्या राजधानीको मात्र सापेक्ष समस्या होइन । यो त समग्र देशकै समस्या हो । जनघनत्व बढी भएका कारणले राजधानीका समस्या बढीमात्रामा प्रकट भएको मात्र हो । यसर्थ सामूहिक र संस्थागत इमानदारिता र प्रयत्नबाट मात्र यो समस्याको समाधान हुनसक्छ ।

हुन त कतिपय राजनीतिक पार्टीकै कार्यकर्ताहरू पनि बालेनकै पक्षमा बोलेको देखिन्छ । सायद, त्यो उनीहरूको राजनीतिक निराशाको प्रकटीकरण होला वा आफ्नो पार्टीमा पद वा चुनावी टिकट नपाउनुको कुण्ठित अभिव्यक्ति होला । त्यो जेसुकै होस् । आफ्नो ठाउँमा छ । तर, बालेनबाट अपेक्षा गर्ने नागरिकहरूप्रति मेरो सम्मान छ । यो अवस्थामा उनीहरूलाई पुर्‍याउने राजनीतिक दलहरू नै हुन् । जनतालाई तमाम सपना देखाएर धोखा दिने राजनीतिक नेतृत्वप्रतिको चरम असन्तुष्टि र निराशाका कारण नागरिकहरू बालेनजीबाट अपेक्षा गर्नुपर्ने अवस्थामा पुगेका हुन् । यो नागरिकहरूको कमजोरी होइन बरु राजनीतिकर्मीहरूको असफलताको स्पष्ट द्योतक हो ।

बालेन जी, तपाईँको राजनीतिक परिवर्तनको हुटहुटी सम्मानजनक छ । तपाईँले यसलाई व्यक्तिगत तहबाट माथि उठाएर संस्थागत र संगठनात्मक स्वरूपमा लैजानुभयो र समाज सुधारका लागि इमानदार अभ्यास गर्नुभयो भने कुनै बिन्दुमा हाम्रो सहकार्य पक्कै हुनेछ । म फेरी पनि दोहोर्‍याउँछु राजनीतिक संगठनले क्षतविक्षत बनाएको समाज सुधार गर्न असल र इमानदार राजनीतिक संगठननै आवश्यक छ । नत्र विश्वका विकसित मुलुकहरूमा त पार्टीहरू नै चाहिँदैनथ्यो होला नि होइन र ?

अन्त्यमा, बालेन जी तपाईँलाई उज्ज्वल राजनीतिक जीवनको लागि हार्दिक शुभकामना ।

भेटुवाल विवेकशील साझा पार्टीका नेता हुन् ।


प्रतिक्रिया

2 thoughts on “बालेनलाई खुल्लापत्र : राजनीतिको ग्ल्यामर छोड्नुस्, पार्टी खोलेर आउनुस्

  1. बालेन जी, तपाईँ राजनीतिक ‘ग्ल्यामर’ मात्र चाहनुहुन्छ भने तपाईँको अहिलेको यात्रा गज्जब छ । तर, व्यवस्थागत त्रुटिहरू सुधार गरेर समाज रूपान्तरण नै गर्न चाहनुहुन्छ भने तपाईँले संगठनात्मक अभ्यास गर्नै पर्छ । ढिलो वा चाँडो । सबै वडाका अध्यक्ष, सदस्य, नगरका उपप्रमुख र कर्मचारीतन्त्र उही पृष्ठभूमि र उही चरित्रको हुँदासम्म तपाईँका सदिक्षाहरु पूरा गर्न त परै जाओस् तपाईँले सुरुवातसमेत गर्न गाह्रो छ ।

  2. यो कुन दलाल पर्यो फेरी पार्टीको बन्दसत्र कार्यक्रममा हुने बकवास नाथे कुरा लेखेछ साले यस्तो जाबो तोरी कुरा बर्षौ देखि सुनेका र देखेका छौ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *