कांग्रेस प्रदेश सभापतिकै वडा माओवादीले मागेपछि तालमेलमा सकस – Nepal Press

कांग्रेस प्रदेश सभापतिकै वडा माओवादीले मागेपछि तालमेलमा सकस

सुदूरपश्चिमका चार जिल्लामा समस्या

कैलाली । आगामी ११ र १२ गते स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । तर, सुदूरपश्चिम प्रदेशमा अहिले सम्म पनि गठबन्धनका दलहरू बिच भागबन्डा मिल्न सकेको छैन ।

पटक पटक भएको छलफलका क्रममा तीनै दलले दाबी बढी गरेपछि सहमति हुन नसकेको हो । यस अघि दार्चुला र बझाङमा सहमति भइसकेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लमा तालमेल नगर्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भइरहेको छ । त्यस बाहेकका केही जिल्लामा सहमति नजिक भए पनि अछाम डोटी कैलाली र कञ्चनपुर सहमति गर्न समस्या भइरहेको हो ।

नेपाली कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरकै वडा माओवादीले दाबी गरेपछि समस्या भएको हो । ‘हाम्रो प्रदेश सभापति ज्यूकै वडा माओवादीले चाहिन्छ भनेर दाबी गरेको छ’ प्रदेश पदाधिकारी एक नेताले भने,‘ हाम्रो गड भएको क्षेत्र पनि माओवादीलाई बुझाउने गरी गठबन्धन नगर्न दबाब छ ।’

डोटीको शिखर नगरपालिकामा कांग्रेस बलियो अवस्थामा रहेको छ ।

‘गठबन्धन हो जितिहाल्छौँ भनेर कांग्रेस सभापतिको वडा मागिरहनु भएको छ ’उनले भने ‘शिखर नगरपालिकामा माओवादी व्यक्ति केन्द्रित हुन थाल्यो । ’

डोटीका ३ पालिका माओवादीले राखेर पाँच पालिका कांग्रेसलाई दिने आन्तरिक सहमति भए पनि वडामा विवाद भए पछि सहमतिले मूर्त रूप पाउन नसकेको बताइएको छ ।

अछाममा पनि समस्या भइरहेको छ । अछाममा एकीकृत समाजवादीले दुई पालिका मागेको भए पनि उनीहरूको जनमत त्यो अनुसार नरहेको कांग्रेसको ठहर छ ।

‘समाजवादीले दुई पालिका मागेको छ । एउटा दिए पनि चित्त बुझाउने देखिन्छ ’कांग्रेस स्रोतले भन्यो‘ अझै सम्म सहमति हुन सकेको छैन । ’

कञ्चनपुरमा पनि सहमति हुन सकेको छैन । कञ्चनपुरमा कांग्रेसले पाँच पालिका पाउने सहमति भए पनि माओवादी र एकीकृत समाजवादीले पाउने पालिकाका विषयमा सहमति जुट्न सकेको छैन ।

केही समय अघि एमालेबाट एकीकृत समाजवादीमा लागेका अशोक चन्दको स्थानीय तह बेदकोट एकीकृत समाजवादीले पाए पनि थप एक स्थानीय तहको दाबी गरेको छ ।

कञ्चनपुरमा बेदकोट र पुर्नवास नगरपालिकाका प्रमुख एकीकृत समाजवादीमा छन् । पुर्नवास नगरपालिका भने माओवादीले नछा्ेड्ने बताएको छ ।

कैलालीमा पनि अहिले सम्म कुरा मिलेको छैन । मनोनयन दर्ता गर्ने समय आइसक्दा पनि भागबन्डामा कुरा नमिल्दा केही स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा हुन सक्ने तीनै दलको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर