पैसामा किन्न सक्छौ पारिवारिक मिलनको आभास ? – Nepal Press
ब्लग

पैसामा किन्न सक्छौ पारिवारिक मिलनको आभास ?

करिब १५ महिनाअघिदेखि हो, सानो छोराको बोली प्रस्ट नै थिएन त्यसबेला । ऊ मलाई बाबासँग लग्दिनु भन्दै जिद्दी गथ्र्यो । अहिले ऊ नै झन्डै पाँच वर्ष हुन लागिसक्यो । उसको जापान जाने तथा बाबा र ममीको हात समातेर घुम्ने सपना झन् धान्नै नसकिने तेज भएको छ । ठूलो छोरो पनि बाबा भएको ठाउँमा जान हतारिएको छ । पहिले त म उसको बालहठलाई सम्झाउन भन्ने गर्थे, ‘पख सानु, जापान खुल्छ अनि जानी हस् ।’

विस्तारै कोरोना आतंक सेलाउँदै गएपछि जापान खुलेको पनि दुई महिना बित्न लागिसक्यो । तर नेपालस्थित जापान एम्बेसीले अन्धभक्त भएर जिम्मेवारी सुम्पेको भीएफएसको काम गर्नै शैली, ढिलासुस्ती र अस्तव्यस्तताले हामी डिपेन्डेन्टले जति कोसिस गरे पनि यो अपोइन्टमेन्ट नामको अनलाइन सिस्टम पूरा गर्न सकेका छैनौं । महङ्गो पैसा लिएर अपोइन्टमेन्ट लिइदिनेको व्यवसाय चौपटै मौलाएको छ । जति चोटि जहाँ कम्प्लेन गरे पनि न त एम्बेसीले चित्तबुझ्दो जवाफ दिन्छ न कि भीएफएसले ।

पारिवारिक मिलनको प्रतीक्षाको वेगलाई धान्न नसक्नेहरू महङ्गो पैसा तिरेर जापान पुगिसके । सुरक्षा र डरको कारण पैसा तिरे पनि कोही आफ्नो मुख खोल्न चाहँदैनन् । जसोतसो जापान पुगिसकियो अब किन बेकारको तनाव लिने भनेर मुखमा बुझो लाएर बसेका छन्, लुटेराहरूलाई लुटाएर जापान जान तयारीमा भएका र जापान पुगिसकेकाहरू । पत्रकारहरूलाई भन्दा यस्ता लुटतन्त्र धैरै छन् के साध्य भनेर पन्छिन्छन् मात्रै ।

प्रमाणहरू प्रशस्त छन् र पनि हेरेर बस्नु पर्ने यो देश, यहाँ न्याय पाइन्न बरु उल्टै पीडामाथि पीडा थपिन्छ । त्यही भएर पैसाकै चलखेलमा दुई महिनाअघि सिओइ आउनेहरूले भिसा पाइसके तर पन्ध्र महिनाअघि सिओइ आएर त्यही एउटा अपोइन्टमेन्ट नामको के अनलाइन प्रक्रिया पूरा गर्न नसकेर धेरै आत्माहरू विक्षिप्त बनिसकेका छन् ।

डिपेन्डेन्टका लागि अझै गारो छ भन्ने जवाफ दिने भीएफएसमा एउटा अनलाइन अपोइन्टमेन्ट लिएको ५० हजारसम्म खानेहरूको कसरी ४० देखि ५० वटासम्म संख्या दर्ता हुन्छ । अनि वास्तविक पीडितका लागि जहिल्यै नो सलट अभाएलेबल भन्छ । यो त सीधै लुटतन्त्र होइन र ? सञ्जालभरि जहाँसुकै रोइलो आइरहँदा, पैसा खानेहरू फस्टाइरहँदा किन वास्तविक पीडितको पीडा सम्बोधन गर्न अर्काे विकल्पको खोजी गर्न सक्दैन यो भीएफएस र एम्बेसी ? किन रहस्यमय बनाएर पारिवारिक मिलनका लागि तड्पिएकाहरूलाई पीडामाथि पीडा थपिरहेको छ ? यो लुटतन्त्र कहिलेसम्म हाबी हुने हो ? लुटेराहरू सञ्जालभरि अपोइन्टमेन्ट अभाइलेबल भनेर विज्ञापन गरेर खुलेआम लुटिरहेका छन् । यस्ता लुटेराहरू छ्यापछ्याप्ती छन् ।

४० दिन ल्यापटप अगाडि राखेर सयौँ घण्टा त्यही अपोइन्टमेन्ट नामको सिस्टम पूरा गर्न बसेकाहरू ओठ–तालु सुकाएर बसिरहँदा धैर्यताको बाँध टुटेर फुट्ने बेला भैसकेको छ । सम्बन्धित निकायमा फोन गरे उठ्दैन । गुनासो गरे सुनिँदैन । दलालहरूले आफूलाई लुट्नका लागि अन्तिम विकल्प बनाइरहँदा पनि न पत्रकार न त सरोकार राख्ने निकायको ध्यान जान्छ ?

हुन त यो आम चासोको विषय नहोला तर जो पीडित छन् उनीहरूका लागि यो महत्वको विषय हो । अब भन दलालहरू ? तिमीहरूले भीएफएसको साइट नै ह्याक गरेर सयौं संख्यामा बुक गरेर राखेको अपोइन्टमेन्टले परिवारसँग भेट्नका लागि तड्पिएका आत्मालाई कति आघात पुर्याएको छ ? ती आत्माहरूको श्रापले भोलि तिमीहरु पनि आफ्ना परिवारसँग बिछोडिनु प¥यो भने अहिले लुटेको सम्पत्तिले खुसी दिन्छ ?

अनि प्लेन टिकट काट्ने दलालहरू सुन, ७० हजारमा पाइने प्लेन टिकट एक लाख ५० हजारसम्म मनलाग्दी भाउमा बेचेर जति सक्छौ लुट यो देश लुटेराहरूकै देश हो भनेर गायक पशुपति शर्माले पहिले गीतमा गाइसकेका छन् । कानुन निरीह, खबरदारी गर्ने निकाय निरीह, सबै निरीह देखेर खुलेआम लुटेका होलान् । एक दिन अवश्य भरिन्छ तिमीहरूको पापको झोली । पृथ्वी गोलो छ । अरुलाई पीडामा पारेर लुटेको धन तिमीहरूका लागि अभिसाप नबनोस् । जय डिपेन्डेन्टहरू ! जय पीडित आत्माहरू !

दुई वर्ष धैर्य ग¥यौं । अब एक वर्ष गरौं । कसैले हतारिएर ती लुटेराहरूलाई पैसा नबुझाऔं । एकदिन भेट हुन लेखेको रहेछ भने हुन्छ अवश्य । जापानले आफ्नो सीमा नाका मार्च १ तारिखबाट खोल्यो तर ४४ दिन कम्प्युटरमा लगातार बस्दा पनि सिओइ लिएर जापानका लागि प्रतिक्षा गरिरहेका डिपेन्डेन्ट र वर्किङका लागि सिओइ पाएकाले अपोइन्टमेन्ट पाएका छैनन् । कारण भीएफएसमा काम गर्ने कर्मचारीको मिलेमतोमा सिस्टम ह्याक गरेर सित्तैमा पाउने अपोइन्टमेन्ट प्रतिगोटा ३० देखि ३५ हजारसम्म खुलेआम बेचिरहेका प्रमाणहरू सञ्जालभरि छन् ।

यो विषयमा मेलमार्फत रिपोर्ट गर्दा हालै एउटा विज्ञप्ति निकालेर पन्छिएको छ एम्बेसी । भीएफएसमा गुनासो राख्दा स्टुडेन्ट धेरै भएकाले नसकेको भन्ने जवाफ दिन्छ । सुरुमा कसल्टेन्सीहरूले चौतर्फी दबाब नदिउञ्जेल स्टुडेन्टबाट पनि धेरै रकम यसरी नै असुले । तर अहिले कन्सल्टेन्सीले स्टुडेन्ट नरोकिऊन् भनेर कडा गरेपछि डिपेन्डेन्ट र कुकबाट असुलिरहेका छन् । तर हाम्रो भीएफएससँग भित्री लिन्क छ भन्दै अपोइन्टमेन्ट लिने दलालहरू अपोइन्टमेन्ट अभाइलेबल भन्दै विज्ञापन गरेका गरेयै छन् ।

यो कारण महिनौंदेखि प्रतिक्षामा रहेकाहरू पैसा तिर्न बाध्य हुँदै गएका छन् । मसँग थुप्रै प्रमाण छन् । हजारौंलाई धरधरी रुवाएर सित्तैमा पाइने अपोइन्टमेन्टलाई मुस्किल बनाएर बेच्ने दलालहरू छ्याप्छ्याप्ती छन् । पैसा तिर्नेले अपोइन्टमेन्ट पाउने तर पैसा नतिर्ने दुई वर्षदेखि जापानको सिओइ लिएर छटपटाएर बस्नुपर्ने ? आखिर कहिलेसम्म ? कहिलेसम्म ? नेपालको जापानी एम्बेसी र भीएफएसले जवाफ देओस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *