कैलालीमा तालमेल गर्न गठबन्धनका दलहरूलाई सकस : तीन दलका तीन थरी ‘मोडालिटि’ – Nepal Press

कैलालीमा तालमेल गर्न गठबन्धनका दलहरूलाई सकस : तीन दलका तीन थरी ‘मोडालिटि’

कैलाली । आगामी स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पनि कैलालीमा गठबन्धनमा रहेका दलहरूबिच चुनावी तालमेलको मोडालिटिबारे सहमति हुन सकेको छैन ।

केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरूबिच पनि भागबन्डामा कुरा मिलेको छैन ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

‘हामीले १० स्थानीय तहमा दाबी गरेका छौँ । अन्तिममा सात सम्ममा सहमति हुन सक्छ’ नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले सोधे ‘त्यो भन्दा कमजोर अवस्थामा त कसरी गठबन्धन गर्ने त ?’

अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलाली गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् । यसरी निर्णय गर्नेमा यस अघि माओवादी विजयी भएको कैलारी गाउँपालिका र भजनी नगरपालिका, एमाले विजयी भएको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको छ । ती क्षेत्रमा कांग्रेस बलियो रहेको र एक्लै निर्वाचन लड्दा पनि जित सुनिश्चित भएको भन्दै गठबन्धन नगर्न दबाब आइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेस बाहेक माओवादी केन्द्र र एकीकृत साजवादीले पनि कैलालीका १३ स्थानीय तह मध्ये करिब आधा दर्जन स्थानीय तहमा दाबी गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका लम्की चुहा नगरपालिका गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।

अहिले कैलालीका १३ स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहका प्रमुखहरू एकीकृत समाजवादीमा छैनन् ।

गोदावरी र घोडाघोडीका उपप्रमुखले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । तर, एकीकृत समाजवादीका नेता भने अहिले कैलालीका आधा भन्दा धेरै ठाउँमा आफ्नो पार्टी बलियो रहेको दाबी गर्छन् ।

‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो । एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

पाँच वा छ स्थानीय तहमा एकीकृत समाजवादी पार्टीले दाबी गरे पनि अन्तिममा चार स्थानीय तह सम्ममा सम्झौता हुन सक्ने उनको बुझाइ छ ।

‘यहाँ १३ वटा स्थानीय तह छन् । धनगढी उपमहानगरपालिका कांग्रेसलाई दिएर अन्य १२ वटामा सबैलाई तीन भाग गर्दा पनि हुन सक्छ’ उनले भने ‘यी सबै कुरामा हामी छलफलमा छौँ ।’

माओवादी केन्द्रले पनि आधा भन्दा धेरै क्षेत्रमा दाबी गरेको छ । कैलालीमा माओवादीले यस अघि निर्वाचनमा विजयी भएको क्षेत्र र दोस्रो भएको क्षेत्रमा दाबी गरेको हो । यस अघिको निर्वाचनमा कैलारी गाउँपालिका र भजनी नगरपालिकामा विजयी भएको थियो ।

घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरीगा गाउँपालिका र जानकी गाउँपालिका माओवादी केन्द्र उपविजेता भएको थियो ।

तर, माओवादी नेताहरू भने अझै मोडालिटिबारे छलफल सुरु नभएको बताउँछन् । ‘हामी आन्तरिक छलफलमा छौँ माओवादी प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने ‘यस विषयमा हामी भोलि थप छलफल गर्छौ ।’

नेपाली कांग्रेसकै कारण तालमेलका विषयमा ढिलाइ भइरहेको माओवादी नेताहरूको बुझाइ छ । यता नेपाली कांग्रेसले भने कैलालीमा भागबन्डामा सकस भएको भन्दै केन्द्रबाट टुङ्ग्याउनु पर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर