तालमेलको निर्णयले कांग्रेसमा गोलमाल, कोही पार्टी छाड्दै कतै बागी विद्रोहीको तयारी – Nepal Press

तालमेलको निर्णयले कांग्रेसमा गोलमाल, कोही पार्टी छाड्दै कतै बागी विद्रोहीको तयारी

काठमाडौं । आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूसँग चुनावी तालमेल गर्ने तयारीमा रहेको नेपाली कांग्रेसभित्र ‘परालको आगो’ दन्किरहेको छ ।

केन्द्रीय समितिको बैठकले ‘स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने’ निर्णय गरेको भएपनि सबैजसो स्थानीय तहमा केन्द्रको निर्णय ‘लाद्ने’ प्रयास सुरू भएको छ । कांग्रेसको आन्तरिक संरचनाभन्दा ५ दलीय गठबन्धनको संयन्त्रले गर्ने निर्णय हाबी हुने देखिएपछि कांग्रेसमा असन्तुष्टि चुलिदो छ ।

सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको मापदण्ड बनिसकेको छैन । यद्यपि शीर्ष तहको छलफलमा केही महानगरको भागबण्डा टुंगिसकेको बताइन्छ । सर्वाधिक चासोका हेरिएको चितवनको भरतपुर महानगरपालिकाको नेतृत्व फेरि पनि माओवादीले नै पाउने देखिन्छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरू ‘प्रधानमन्त्रीभन्दा मेयर ठूलो नहुने’ भन्दै गठबन्धनको पक्षमा दृढ देखिएका छन् । सभापति देउवा चुनाव अघि र पछिसम्म गठबन्धन जोगाएर सरकारको नेतृत्व सुरक्षित गर्न चाहन्छन् । त्यसका लागि स्थानीय निर्वाचनमा गठबन्धनका साझेदारहरूलाई आधा हिस्सा छोड्ने तयारी देउवाले गरेका छन् ।

६ वटा महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलहरूले ३ मा नेतृत्व पाउने सम्भावना बढेको छ । गठबन्धनका कारण कांग्रेसले नेतृत्व नपाउने निश्चित देखिएका स्थानीय तहहरूमा असन्तुष्टीसँगै विद्रोहको क्रम पनि सुरू भएको छ ।

हालै नुवाकोट कांग्रेसका पूर्वउपसभापति यामबहादुर थापा र नेता भगवान पौडेल एमालेमा प्रवेश गरे । पूर्वगाविस अध्यक्षसमेत रहेका थापासहितका नेताहरूले चुनावी तालमेलकै विषयमा असन्तुष्ट रहेर विद्रोह गरेका हुन् । महोत्तरीमा प्रेस युनियन र पत्रकार महासंघको नेतृत्व गरिसकेका पत्रकार कमलेश मण्डल माओवादीमा प्रवेश गरेका छन् । गठबन्धन हुँदा माओवादीको भागमा पर्ने देखिएको मठिहानी नगरपालिकाको मेयरमा मण्डललाई उम्मेदवार बनाउने सहमति भएको छ ।

माओवादीसँगको तालमेलबाट असन्तुष्ट चितवनको माडी नगरपालिकामा कांग्रेसबाट निर्वाचित एकमात्रै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले पनि पार्टी त्यागेको घोषणा गरेका छन् । रौतहटको राजपुर नगरपालिकामा निर्वाचित मेयर मोहम्मद साकिल अख्तर नै कांग्रेस त्यागेर एमालेमा प्रवेश गरे । अन्य जिल्लाहरूमा पनि कांग्रेसका असन्तुष्ट नेताहरू पार्टीबाट बाहिरिने क्रम बढेको छ ।

कांग्रेसवृत्तमा पार्टीभित्रको आन्तरिक उतारचढावलाई सामान्य मानिए पनि पार्टी नै छाड्ने विषयलाई गम्भीर रूपमा लिने गरिन्छ । स्थानीय निर्वाचन नजिकिदै जाँदा कतिपयले माओवादीसँगको गठबन्धनलाई कारण बनाएर त कतिपयले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस छाडेका छन् । यो क्रम बढ्ने हो भने गठबन्धन गर्दापनि कांग्रेसको शक्ति बढोत्तरी हुन समस्या पर्ने देखिन्छ ।

‘जति नै असन्तुष्ट भएपनि अपमान सहेपनि पार्टी छाडिहाल्ने कल्चर कांग्रेसको थिएन । तर हिजोआज यो वा त्यो बाहनामा सम्भावना बोकेका नेताहरूले पनि विद्रोह गर्ने क्रम देखिन्छ । यसप्रति पार्टीले गम्भीर समिक्षा गर्नुपर्छ’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् ।

संस्थापनइतर समूहका ती केन्द्रीय सदस्यका अनुसार स्थानीय आवश्यकता नभइ केन्द्रबाट तालमेल लादेको अवस्थामा कांग्रेसमा विद्रोहको लहर अझ बढ्नेछ ।

भरतपुरमा संगठित विद्रोहको तयारी

नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरका लागि २५ जनाले आकांक्षा देखाएका छन् । चितवन कांग्रेसका सबैजसो नेताहरूले यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा पनि हसियाँ हथौडामा भोट हालेका भरतपुर महानगरका कांग्रेसीहरू यसपटक रुखबाहेक अन्यत्र भोट नहाल्ने बताउन थालेका छन् । सामाजिक सञ्जालमार्फत अधिकांश कांग्रेस कार्यकर्ताहरूले भरतपुरको मेयरमा कांग्रेसले उम्मेदवारी नदिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

चितवन कांग्रेसका पुराना नेता, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले त भरतपुरको मेयर माओवादीले पाए आफू स्वतन्त्र उम्मेदवार बन्न घोषणा गरेका छन् । अर्कोतिर भरतपुरको मेयरमा कांग्रेसले उम्मेदवारी नदिए पूर्वजिल्लासभापति विकास कोइराला स्वतन्त्र उम्मेदवार बन्ने सम्भावना पनि छ ।

विगतमा टिकट खोसिएकै कारण सुशिल कोइरालाविरुद्ध दोस्रो संविधानसभामा बागी बनेका विकासमाथिको कारबाही अझै फुकुवा भएको छैन । यस्तो अवस्थामा कोइराला स्वतन्त्र उम्मेदवार बने असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताको मत तान्नसक्ने देखिन्छ । चितवन कांग्रेसका जिम्मेवार नेताहरूले नै भरतपुरमा माओवादीले मेयर पाए जिताउन गार्हो पर्ने बताउँदै आएका छन् ।

‘भरतपुरमा रुखमा भोट दिन नपाउने हो भने हसिँया हथौडामा पनि दिइँदैन । जसले विद्रोह गर्छ उसैलाई मत दिन्छौं’, भरतपुरका एक कांग्रेस कार्यकर्ताले भने ।

पार्टीको जिम्मेवार पदमा रहेकाहरूले संगठित विद्रोह गर्न सम्भव नभएपनि आम कार्यकर्ताबीच विद्रोहको मनोविज्ञान बढेको तथ्य भने कांग्रेस नेताहरूले अनौपचारिक संवादका दौरान स्वीकार्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर