एमाले अध्यक्ष ओली २६ वर्ष पछि बझाङ पुग्दा… – Nepal Press

एमाले अध्यक्ष ओली २६ वर्ष पछि बझाङ पुग्दा…

बझाङ । सोमबार २६ वर्ष पछि बझाङ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली निकै उत्साहित देखिएका थिए । २०५२ सालमा स्थायी कमिटी सदस्य हुँदा बझाङ पुगेका उनी त्यसपछि करिब २६ वर्ष सम्म यहाँ पुग्न पाएनन् ।

सोमबार एमाले जिल्ला पार्टी कार्यालयको आयोजनमा भएको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनी बझाङ पुगेका हुन् ।

काठमाडौँबाट नेपालगन्जबाट सम्म विमान मार्फत आएका ओली नेपालगन्जबाट हेलिकप्टरमार्फत बझाङ पुगेका थिए ।

ओलीसँगै अर्काे हेलिकप्टरमा एमाले उपाध्यक्ष विष्णु पौडेल र जनसंगठन  विभाग प्रमुख भानुभक्त ढकाल पनि थिए । २६ वर्ष पछि बझाङ पुग्दै गरेका ओलीलाई बझाङ भन्दा पहिले नेपाल चीन जोड्ने नाका उरै भन्ज्याङ र सैपाल हिमालको परिक्रमा गरे ।

ओली सरकारकै पालामा चैनपुर ताक्लाकोट सडक निर्माणका लागि १ अरब ४० करोड रकम विनियोजन भएर काम थालनी भएको थियो । तर, अहिले उक्त सडकको निर्माण कार्य रोकिएको छ ।
धार्मिक र पौराणिक महत्त्व बोकेको बझाङमा आफूलाई पटक पटक आउन मन भएको तर परिस्थिति अनुकूल नभएको ओलीले मन्तव्यको क्रममा बोलेका थिए ।

ओलीलाई २६ वर्ष पछि सुदूरपश्चिम ल्याउन एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्लाका सह इन्चार्ज ऐन महरले प्रयास गरेका थिए ।

‘१० औँ महाधिवेशन पछि अध्यक्ष कमरेड सुदूरपश्चिम आउनु भएको छैन । हामीले बझाङमा पहिलो पटक ल्याउनु पर्छ भनेर पहल गरेको हो’ उनले भने, ‘बझाङ आउन हामीले निम्तो गर्दा उहाँ पनि उत्साहित हुनुभएको थियो ।’

 उनी २६ वर्ष पछि बझाङ पुग्दा कति खुसी देखिएका थिए भन्ने कुरा त उनले यहाँ प्रस्तुत गरेको नृत्यले पनि प्रस्ट पारेको छ । रामप्रसाद अवस्थी र पूर्णकला बिसीको स्वरमा रहेको ‘सूर्यमा भोट हालौँ’ बोलको गीतमा अध्यक्ष ओली छमछमी नाचेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

लामो समय पछि बझाङ पुगेका ओलीले लामो भाषण भने गरेनन् । उनले भाषणका क्रममा गठबन्धन सरकारको आयु, जनतामा गठबन्धन सरकार प्रति बढिरहेको वितृष्णा, आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने आधार र स्थानीय तह निर्वाचनमा जित सुनिश्चित हुने अवस्था बारे टिप्पणी गरेका थिए ।

उनले पाँच वटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गरेका छन् । ‘के हो यो पाँच दलीय गठबन्धन भन्या , पाँच वटा बाख्रा एक ठाउँमा बस्यो भने पनि भैँसीजस्तो हुँदैनन् ।’

  पाँच दलीय गठबन्धनलाई उनले ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिएका थिए । गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्याउन लागेको टिप्पणी गरेका थिए ।
बझाङमा एमाले अध्यक्ष ओलीले राजनैतिक विषयसँगै त्यहाँको भौगोलिक अवस्था र त्यसमा सम्भावनाको खोजी गर्न खोजेका थिए ।

त्यस क्रममा उनले चैनपुर ताक्लाकोट नाकालाई प्राथमिकता दिए । बाढी र पहिलोबाट प्रताडित भएका बझाङका नागरिकहरूलाई सरकारले केही गर्न नसकेको भन्दै आक्रोश पोखेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत आलोचना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर