क्रिप्टो, हाइपर फण्डजस्ता कारोबारका एप र वेबसाइट नेपालमा बन्द हुने – Nepal Press

क्रिप्टो, हाइपर फण्डजस्ता कारोबारका एप र वेबसाइट नेपालमा बन्द हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारोबारी एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ ।

नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणको लागि काम सुरु गरेको हो ।

संचारमन्त्रालयको निर्णय अनुसार प्रधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर अवैध आर्थिक कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक सूर्यप्रसाद लामिछानेले नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत सबै अवैध आर्थिक कारोबार गर्ने एप बन्द गर्ने निर्देशन दिएको बताए ।

उनले भने, ‘सरकारले अध्ययन र अनुसन्धान गरेर नै अवैध कारोबार हुने एप बन्द गर्ने निर्देशन दिएका हो । एपबाट नै नेपालमा अवैध कारोबार भएको पाइएकाले बन्द गराउन निर्देशन दिइएको हो ।’

अर्थमन्त्री जनार्दन शर्माले बजेको अर्धवार्षिक समीक्षाको बेला क्रिप्टोकरेन्सी र बिटक्वाइनजस्ता अवैध कारोबार बढेको भन्दै सरकारले यसलाई रोक्ने तयारी गरिरहेको संकेत गरेका थिए ।

क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्या क्रिप्टोकरेन्सी कारोबारी छन् ।

विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ ।

नेपालमा पटक पटक अबैध मानिएको क्रिप्टो कारोबारीहरु भेटिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर