प्रकाश सपूतको प्रश्न- मैले गलत गरेको हो कि ? तपाईंहरूले गलत बुझ्नु भएको हो ? – Nepal Press

प्रकाश सपूतको प्रश्न- मैले गलत गरेको हो कि ? तपाईंहरूले गलत बुझ्नु भएको हो ?

काठमाडौं । विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रष्टिकरण दिएका छन् । सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सधैँ कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई मर्का परेको प्रकाशले बताएका छन् ।

उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’

‘पिर’ बाट आफूले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीतमार्फत आफूले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।

‘मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् ।

यसअघिका गीतहरूमा बुनेका कथा, बनाएका पात्र, टिपेका टुक्का, हालेका लय र रेकर्ड/छायांकन गरेजस्तै प्रक्रियामा यो गीत लेखेको उनको भनाइ छ ।

उनले गीतको पृष्ठभूमिका बारेमा समेत लेखेका छन् ।

उनले लेखेका छन्- ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने-बजाउने- पकाउने-पस्कनेमध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पिर’ । यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरू पढें । आममानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यहि हो ।’

एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने, पूरै बुझाइ बुझाउन पनि नसकिने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर