ब्राउन सुगर कारोबारीको र्‍याकेट- सशस्त्रका हवल्दार र झापाका ६ सहित ११ जना पक्राउ – Nepal Press

ब्राउन सुगर कारोबारीको र्‍याकेट- सशस्त्रका हवल्दार र झापाका ६ सहित ११ जना पक्राउ

काठमाडौं । लागु औषध नियन्त्रण ब्युरोले ब्राउन सुगर अर्थात खैह्रो हेरोइनको कारोबारमा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट ३२२.६ ग्राम हेरोइन बरामद भएको ब्युरोले जनाएको छ । सुरुमा एक जनालाई पक्राउ गरि ती व्यक्तमार्फत १० जनाको लहरो समातिएको हो ।

प्रहरीका अनुसार माघ २४ गते एक सय मिलिग्राम ब्राउन सुगरसहित म्याग्दीको मंगला गाउँपालिका- ५ स्थायी घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका २५ वर्षीय लालबहादुर बुढाथोकीलाई पक्राउ गरिएको थियो ।

बुढाथोकी प्रयोगकर्ता पनि भएको प्रहरीको भनाई छ। उनीमार्फत दोलखाको भीमेश्वर नगरपालिका- १३ स्थायी ठेगाना भएका २५ वर्षीय कौशल बस्नेत र सिन्धुपाल्चोक घर भएका समिर घले गुरुङ बुढानिलकण्ठबाटै २१ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

कौशललाई लागु औषध उपलब्ध गराउने झापाको हल्दिबारी स्थायी घर भएका २४ वर्षीय अन्जान राई र उनका सहयोगी झापाकै बुद्ध शान्ती गाउँपालिकाका २३ वर्षीय सन्जय लक्सम्बा लिम्बु ७.५ ग्राम ब्राउन सुगरसहित माघ २५ गते पक्राउ परेका थिए ।

अन्जानलाई पनि बिक्री गर्ने गरेका झापाको विर्तामोडका २९ वर्षीय अजय तामाङलाई २ सय ९४ ग्रामसहित माघ २६ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सोही दिन विर्तामोडकै २८ वर्षीय पुकार गुरुङ, ३० वर्षीय प्रविन भण्डारी र माघ २७ गते झापाको दमकका २८ वर्षीय सुनिल ताजपुरिया पक्राउ परेका थिए ।

फागुन १ गते भारतको दार्जिलिङ घर भएका ३१ वर्षीय श्यामल सिंह र फागुन १६ गत झापामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार, मोरङ घर भएका ३९ वर्षीय खगेन्द्र भुजेल पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर