रेल र चिया बगानले छोपेको दार्जिलिङका दुःख लेख्ने काविमो – Nepal Press

रेल र चिया बगानले छोपेको दार्जिलिङका दुःख लेख्ने काविमो

आख्यानकार छुदेन काविमो बुधबार रेलको लिग समातेर भारतको सिलगुढीबाट जयपुर हान्निए । नेपालबाट आख्यानकार बुद्धिसागर पनि त्यतै लम्किए । यी दुई लेखकको भेट एकै प्यानल डिस्कसनमा हुनेछ जयपुरमा । संसारभरका लेखकहरुको कुम्भमेलामा पुगेका दुई लेखकहरुले नेपाली साहित्यको चर्चा गर्नेछन् ‘नेपाली ब्लुज’ शीर्षकमा ।

काविमोलाई ‘सिलगुढीदेखि जयपुर’सम्म रेलको टिकट काट्ने साइत जुराएको पुस्तक हो, ‘फातसुङ’ । नेपालबाट फाइनप्रिन्टले निकालेको पुस्तकलाई नेपाली पाठकले ‘वार्म वेलकम’ दिएका थिए ।

काविमोको ‘फातसुङ’बारे भारतीय लेखक एवं जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले भनेकी छन्,‘आशा, आकांक्षा र तुषारापात भएको सपना नियाल्ने उपन्यासले हिमाली समुदायको धड्किरहेको मुटुभित्र लैजानेछ ।’

कथाकार दिलिप वान्तवा लेख्छन्, ‘फातसुङ एउटा समय रेखामा चक्का राखेर अहिलेसम्म निरन्तर गुडिरहेको दार्जिलिङको यात्रा कथा हो । ‘गोर्खाल्याण्ड’ को माग र त्यो आन्दोलनभित्रका घात, प्रतिघात, बलिदान अनि आम नागरिकहरुको आम-सपनाको विषयलाई ज्यादै सिलसिलेवर ढंगले वर्णन गरिएको कृति हो ।’

०००

फातसुङ बंगाली र अंग्रेजीमा पनि अनुवाद भइसकेको छ । हिन्दी पनि अनुवाद भएर आउँदैछ । काविमोको ‘१९८६’ नामक कथा संग्रह पनि छ । र नयाँ उपन्यास पनि लेखिरहेका छन् ।

नयाँ पुस्तक लेख्न त लेखिरहेका छन्, तर एकदमै ढिलो । काविमोकै शब्दमा, ‘म अलि स्लो लेख्छु । ढिलोढिलो लेख्छु ।’

काम, जागिर अनि धपेडीले भनेजस्तो गतिमा लेख्नै सकिरहेका छैनन् । यही वर्ष नयाँ पुस्तकको प्रथम लेखन चाहिँ सकाउने योजनामा छन् ।

यसपटकको कथामा काविमो दार्जिलिङ बाहिर निस्किएका छन् । ‘फातसुङ’ मा दार्जिलिङको कथा लेखेका थिए, यसपटक भने डुवर्सको कथा लेख्दैछन् ।

भुटानको एकदमै नजिक पर्छ डुवर्स । तर, राजनीतिक रुपमा चाहिँ दार्जिलिङसँग जोडिन्छ सधैं । दार्जिलिङले गरेको हरेक आन्दोलनमा डुवर्स मिसिएको छ । तर, जब राजनीतिक समाधान हुन्छ, डुवर्स जहिल्यै बाहिर पर्छ । सन् १९८६ को मुभमेन्टमा पनि त्यही भइदियो, २०१०/११ मा पनि त्यस्तै भइदियो ।

डुवर्समा दार्जिलिङ, सिक्किमको तुलनामा नेपाली भाषी र आदिवासीहरु छन् । त्यहाँको मिश्रित समाजमा चिया उमार्नेहरु पनि आदिवासी र नेपाली भाषी हुन् । असुर, उराव, टोटो, राभा, कोचे–मेचे लगायत आदिवासी छन् । काविमो भन्छन्, ‘डुवर्समा आदिवासीहरु कस्ता हुन्छन् भने अलि चलाख छ भने ठिकै छ । चलाख छैन भने रोड छेउको जमिन बेचेर गाउँ पस्ने खालका सोझा हुन्छन् । उनीहरुको निर्दोषपनामाथि धेरैले खेलिसके ।’

यही भूगोल र पृष्ठभूमिमा कथाको प्लट तयार गर्दैछन् काविमो ।

०००

काठमाडौंबाट हेर्दा नेपालीभाषी देखिने ठाउँ हो दार्जिलिङ र सिक्किम । नेपालबाट हेर्दा सबैथोक दार्जिलिङ केन्द्रित नै देखिन्छन् । तर, दार्जिलिङ छेउछाउका ठाउँमा पनि नेपालीभाषी उस्तै संख्यामा रहेको काविमो बताउँछन् ।

आसाम, मनिपुर, मिजोराम, कालिम्पोङतिर पनि राम्रै संख्यामा नेपालीभाषी छन् । लेखक पिटर जे कार्थक, लिलबहादुर क्षत्री आसामका हुन् । कवि राजा पुनियानी सिलगुडीका हुन् । नयाँ पुस्ताका गायक पुष्पन प्रधान डुवर्सका हुन् । सर्जकहरुको मूलथलो खोज्दै जाँदा सूची लामो नै बन्छ, जो दार्जिलिङ बाहिरका छन् ।

तर, दार्जिलिङको ठूलो विम्बले वारिपारिका ऐतिहासिक ठाउँहरुलाई छपक्कै छोपेको छ ।

‘नेपालबाट मात्रै होइन, यहाँबाट हेर्दा पनि साहित्यको केन्द्रमा दार्जिलिङलाई नै राखिरहेको हो । अब चाहिँ छेउछाउका स्थानहरुलाई पनि समेटेर आउनुपर्छ भन्ने छ,’ काविमो सुनाउँछन्, ‘सुरुवातबाटै दार्जिलिङ नाम स्थापित भएर पनि होला, भन्दाखेरि ठ्याक्कै दार्जिलिङ भनिदिने । कालिम्पोङ चाहिँ गाउँको नामले चिनिने । दार्जिलिङ भन्ने ठूलो विम्बले पनि असर गरेको हो, लोकल ठाउँहरु पनि आउनुपर्ने हो ।’

०००

हेर्दाखेरि दार्जिलिङ चिटिक्कको देखिन्छ । त्यहाँको त्यो सानो रेल, अन्तर्राष्ट्रिय स्वाद बनेको चियाको चर्चा हुन्छ । त्यो सुन्दर र कलात्मक पहाड छेउमा बग्ने टिस्टा नदीको सौन्दर्य देखिन्छ । तर, परबाट हेर्दा जति भव्य देखिन्छ दार्जिलिङ, नजिकबाट हेर्दा दुःखको आगो दनदनी बलिरहेको देखिने काविमो सुनाउँछन् ।

दार्जिलिङ छेउछाउका कत्ति गाउँमा राम्रो विद्यालय छैन । रोड छैन । दार्जिलिङको विश्वप्रसिद्ध चिया देख्नेले त्यहाँको विश्वप्रसिद्ध दुःख किन देख्दैन ? काविमोको प्रश्न हो यो, ‘नाली भत्कियो भन्दा देशव्यापी समाचार भन्छ, तर सय जना मान्छे मर्दा कसैले किन केही थाहा पाउँदैन ?’

दार्जिलिङ पश्चिम बंगाल राज्य अन्तर्गत पर्छ । पश्चिम बंगालमा बंगाली भाषाको बहुमत छ । नेपाली भाषा अल्पमतमा छ । भाषिक समस्याले पनि कतिपय मुद्दाहरु राज्यसम्म पुग्दैन ।

‘अब हामी नेपाली भाषा बोल्दा आफ्नै राज्यभन्दा बाहिर गएजस्तो लाग्छ । त्यहीँ नजिकको सिलगुडी पुग्नसाथ यो दुःख सुरु हुन्छ । भाषा नबुझेपछि मान्छेलाई हेर्ने दृष्टिकोण बदलिन्छ,’ काविमो सुनाउँछन्, ‘मुभमेन्ट कतै न कतै भाषासँगै जोडिएर आइरहेको हुन्छ । दश, बीस वर्ष लगाएर गरिएको आन्दोलन एकै छिनमा भत्काइदिन्छ ।’

चिया बगानको समस्या अहिले पनि जस्ताको तस्तै भएको काविमो सुनाउँछन् । अहिले पनि लुटी ल्यायो, भुटी खायोको अवस्था छ । न्यूनतम ज्याला पनि छैन । दैनिक खान नसक्ने स्थिति छ । उनी दुःख सुनाउँछन्, ‘आफ्नै राज्य भयो भने आफ्नै राज्यसँग बोल्नसक्ने अवस्था हुन्छ । आफ्नै राज्य भएमा प्रश्न गर्न सकिन्छ । तर, भाषिक हिसाबमै अल्पमतमा पर्छौं । त्यही भएर नै अलग राज्यको बहस छेडिएको हो ।’

०००

दार्जिलिङतिरका काविमोहरु कवितामार्फत् जोडिएका थिए नेपालसित । नेपालसितको साइनो अथवा सम्बन्धको डोरी बढीजसो कविताले जोडेको थियो । लिलबहादुर क्षत्री, इन्द्रबहादुर राई, पिटर जे कार्थकहरुपछि धेरै कविहरु आए– मनप्रसाद सुब्बा, राजेन्द्र क्षत्री, राजा पुनियानी, मनोज बोगटी, सुधिर क्षत्री, भूपेन्द्र सुब्बाहरु । जसले विम्ब र प्रतीकहरुको माध्यमहरुबाट दार्जिलिङलाई नेपालसित जोडेका थिए । आख्यानमा भने लामो ग्याप थियो, जसलाई काविमोले चिरिदिए ।

नेपालका कविहरु दार्जिलिङ पुग्थे कविता सुनाउन । उताका कविहरु नेपाल आउँथे कविता सुनाउन । काविमोको आँकलन छ, ‘यतातिर साहित्य भनेकै कविता हो भन्ने देखिएको थियो । आख्यानमै केही गर्नुपर्छ भनेर छलफल चाहिँ हुने, तर लेख्न चाहिँ पातलो मात्रै लेखिने अवस्था थियो ।’

गोर्खा मुभमेन्टमाथि धेरै कविता सृजिए । तर, आख्यान किन नलेख्ने ?

काविमोले पनि आख्यान नलेखिएको भन्ने दबाब झेलिरहेका थिए । अन्ततः उनले आख्यान नै लेखे । ‘पहिलो मुभमेन्टभन्दा पछि जन्मिएको मान्छे भएँ । त्यही मुभमेन्टमाथि लेख्दा धेरै रिसर्च गर्नुपर्ने अवस्था थियो । २००७ को मुभमेन्टसँग भने नजिकबाट जोडिएँ, लेख्नका लागि त्यसले सहयोग गर्‍यो ।’

२००१ मा सुवास घिसिङलाई हमला गरेको आरोपमा छत्र सुब्बा पक्राउ परेका थिए । त्यसपछि जेल परे । दश वर्षपछि छुटे । काविमोलाई आख्यान लेख्ने माध्यम सुब्बा पनि भइदिए । सुब्बाका कार्यकर्तालाई भेट्दै गए । पत्रकारिता गरिरहेका काविमोलाई जानकारी लिन सहज पनि भइदियो पेशाले । र आख्यान सुरु गर्ने सोच बनाए ।

दार्जिलिङतिर आख्यान लेखेरै जीविका चलाउने अवस्था कमजोर थियो । नेपालमा पनि एकाधबाहेक लेखकहरु जागिरमा कतै न कतै जोडिएकै छन् । आख्यानलाई समय बढी दिनुपर्ने हुन्छ । त्यो समय पाउन बाँच्ने अवस्था राम्रो चाहिन्छ ।

बाँच्नुसँगको लडाइँले नै दार्जिलिङतिर कविता बढी लेखिएको लाग्छ काविमोलाई । कविताका लागि आख्यानमा जसरी लामो समय रिसर्च, लेखनमा लाग्नु नपर्ने भएकाले पनि कवितामा ज्यादा आकर्षण भएको हो कि ठान्छन् ।

‘बाँच्नका लागि केही गर्ने, त्यहाँबाट बाँकी रहेको समय कवितालाई दिने । हाम्रोतिरबाट आख्यान कम लेखिनुमा सर्जकले समय दिन नसकेर पनि हो । त्यसले आख्यानमा ग्याप पनि निर्माण गर्‍यो, त्यो ग्याप पूरा गर्नतिर किन नलाग्ने भनेर आख्यानतिर लागेँ,’ काविमो सुनाउँछन् ।

०००

‘फातसुङ’ काविमोले सामान्य हिसाबले लेखेका थिए । उनले त नेपाली पाठकसम्म मज्जाले पुग्छ भनेर सोचेका पनि थिएनन् । साधारण रुपमा लेखेका थिए । तर, पुस्तकले अत्याधिक प्रेम पाएपछि काविमाले बुझे, ‘लेखिन्जेल चाहिँ पुस्तक लेखकको हुँदोरहेछ । लेखेपछि पुस्तकले आफैं बाटो बनाएर जाँदोरहेछ ।’

अहिले पनि ‘फातसुङ’बाट केही न केही प्रतिक्रिया पाइरहन्छन् काविमो । प्रतिक्रियाहरुले जिम्मेवारी थपिएको महसुुस पनि गराउँछ । ‘मान्छेले आख्यान पढ्दैनन्’ भन्थे, अहिले ‘मान्छेले आख्यान पढ्दा रहेछन्’ भन्ने अवस्था बनाए काविमोले ।

बंगाली भाषामा ‘फातसुङ’ अनुवाद भएपछि काविमोलाई कलकत्ता लिटरेचर फेस्टिभलमा बोलाएका थिए । त्यहाँ एकजना बंगालीसँग उनको भेट भयो । फिल्म लाइनमा काम गर्ने ती युवकले काविमोलाई एकछिन रोकेर भने, ‘दार्जिलिङको मुभमेन्ट बंगाली विरुद्ध हो कि भन्ने लागेको थियो । दार्जिलिङ मान्छे काट्ने ठाउँ हो भन्ने विम्ब थियो । तर, दार्जिलिङप्रतिको मेरो बुझाइलाई तिम्रो पुस्तकले गलत सावित गरिदियो । मेरो धारणा नै बदलिदियो ।’

काविमोको ‘फातसुङ’लाई सिक्किमको एसआरएम विश्वविद्यालयले पाठ्यक्रममै समावेश गरेर पढाउन थालेको छ । अनुवादबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । काविमो सुनाउँछन्, ‘हाम्रोतिर आफैं लेख्ने, आफैं छाप्ने अवस्था थियो । तर, अलिकति राम्रो गर्दा बाटो राम्रो हुँदोरहेछ, बाटो बन्दोरहेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *