‘रियल हिरो’ कि प्ले-ब्वाई ? – Nepal Press

‘रियल हिरो’ कि प्ले-ब्वाई ?

काठमाडौं । सिनेमाको रंगीन दुनियाँमा ‘रिलेसनसीप’ लाई साह्रै हल्कारुपमा लिने गरिन्छ भन्ने धेरैले सोच्छन् । तर, त्यति हल्कारुपमा पनि लिइँदैन, जति नायक पल शाहले सोच्छन् ।

भाइरल पत्रकार प्रकाश सुवेदीले केही परोपकारी काम गरेका पललाई ‘रियल हिरो’ को उपाधि भिराइदिएका थिए । यद्यपि फिल्मी सर्कलमा भने उनलाई धेरैले ‘प्ले–ब्वाई’ का रुपमा चिने गरेका छन् । किशोरी गायिका समिक्षा अधिकारीसँगको स्क्यान्डलपछि उनी निकै विवादित बने । उक्त स्क्यान्डलले अझै निकास नपाइरहँदा पलले अरु युवतीहरुसँग पनि विवाहको वाचा गरेर समानान्तर रिलेसनसीपमा बसेको प्रमाणहरु हामीले भेटेका छौं ।

हुन त यो व्यक्तिगत जीवनको मामला हो । आममानिस भइदिएको भए चर्चाको विषय नै बन्थेन । तर, पल एक पब्लिक फिगर हुन् । चर्चित सेलिब्रिटी हुन् । युवायुवतीका आइडल पनि । त्यसैले उनको निजी जीवनका उतारचढावमा धेरैको चासो रहन्छ र ती मिडियाका विषयवस्तु पनि बन्न पुग्छन् । बाहिर ‘रियल हिरो’ को पगरीसमेत गुथेर हिँडिरहेका उनी भित्र कस्तो दूषित जीवन बाँचिरहेका छन् भन्ने पर्दाफास जरुरी भएको छ ।

तपाईंलाई विश्वास गर्न कठिन होला, ‘रियल हिरो’ एकैसाथ कम्तिमा चारजना युवतीहरुसँग अफेयरमा थिए । यो पछिल्लो दुई वर्षभित्रको कुरा हो ।

त्यसो त जुन फिल्म वा म्युजिक भिडियोमा काम गर्यो, त्यसकै महिला कलाकारसँग पलको नाम जोडिने गरेको छ । उनको बारेमा निकटस्थहरु भन्ने गर्छन्, नयाँ–नयाँ युवतीहरुसँग हिमचिम बढाउने र सम्वन्ध राख्ने लतमा परेका छन् उनी । विगतमा नायक भुवन केसी यस्तो मामलामा विवादित थिए । तर, पलले भुवनलाई धेरै पछाडि छोडिसकेको बताउने गरिन्छ ।

कुनै बेला टेलिभिजनमा भिडियो एडिटरका रुपमा काम गर्ने पूर्णविक्रम शाह उर्फ पल शाह म्युजिक भिडियो हुँदै फिल्ममा आएका हुन् । भिडियोमा अत्यधिक सफलता पाएपश्चात ‘नाई नभन्नु ल’ सिरिजबाट उनले चलचित्रमा डेब्यू गरे । दोस्रो चलचित्र ‘सत्रु गते’ मा काम गर्दैगर्दा सो चलचित्रकी नायिका आँचल शर्मासँग पलको नाम जोडियो । उनीहरुको अफेयरको चर्चा मिडियामा छ्याप्छ्याप्ती बनेको थियो । यद्यपि, उनीहरुले आफूहरु सम्बन्धमा रहेको सार्वजनिकरुपमा स्वीकार गरेनन् । पछि आँचलले अर्कै युवकसँग विवाह गरी घरजम गरिसकेकी छन् ।

आँचलसँग अलग भएसँगै पलको सम्बन्ध जोडियो अंकिता गुरुङसँग । उनी पहिले फ्यानको हिसाबले पलसँग नजिकिएकी थिइन् । फ्यान र स्टारको सम्बन्ध चाँडै ‘अफेयर’ मा बदलियो । दुई वर्षअघि नै अंकिताले पललाई आफ्नो परिवारसँग भेटाएर विवाहको निधो गराएकी थिइन् । पलले अंकिताको परिवारसँग आफूहरुबीचको प्रेम स्वीकार्दै विवाह गर्ने वाचा गरे । त्यो वाचामा अंकिता अहिले पनि ढुक्क छिन् । योबीचमा उनी अध्ययनका लागि केही समय विदेश बसिन् । अहिले नेपाल फर्किएकी छन् । पल र अंकिताबीच अफेयर जारी छ ।

अंकितासँग सम्बन्धमा हुँदाहुँदै पल समिक्षासँग नजिकिए । समिक्षा पनि पहिल्यैबाट पलकी फ्यान थिइन् । करिब १० महिना अगाडि ‘सुर्ति माड्दै’ बोलको गीतको सुटिङका क्रममा उनीहरुबीच मित्रता भएको थियो । मित्रतालाई प्रेममा परिणत हुन समय लागेन । समिक्षा पलसँग छुट्नै नसक्ने गरी गहिरो प्रेममा डुबिन् ।

यता, समिक्षासँगै पलले म्युजिक भिडियोकी एक मोडलसँग पनि हिमचिम बढाइरहेका थिए । यो थाहा पाएपछि समिक्षा र ती मोडलको झगडा परेको थियो । भिडियो सुटिङका लागि एउटा होटलमा सँगै बस्दा यो घटना भएको हो । आक्रोशमा आएर समिक्षाले आफ्नो हातसमेत काटेको र पछि त्यो घाउ छोप्न ट्याटु बनाएको अपुष्ट कुरा सुनिएको छ । समिक्षाको स्क्यान्डल बाहिरिएसँगै ती किशोरी मोडल पलसँग टाढा भइन् ।

केही समयको निकटता पछि पल पनि समिक्षासँग टाढिने प्रयासमा लागे । फोन र म्यासेजको रेस्पोन्स नगर्ने र भेट्न पनि इन्कार गर्न थालेपछि समिक्षा निकै छट्पटाइन् । केही नलागेपछि पलविरुद्ध प्रहरीमा सप्रमाण उजुरी गर्ने र आफूसँग भएको फोटो/भिडियो सार्वजनिक गरिदिने चेतावनी उनले दिइन् । त्यसपछि पलले समिक्षासँग दुई वर्षपछि बिहे गर्ने गरी परिवारको रोहबरमा सम्झौता गरेका थिए ।

समिक्षासँग पलको सम्बन्ध सामाजिक र कानूनीरुपमा समेत यसकारण गलत थियो कि समिक्षा उमेरले नाबालिग (हाल १७ वर्ष) नै छिन् । यदि समिक्षाले प्रमाणसहित प्रहरीमा उजुरी गरेको खण्डमा पललाई जेल जानबाट कसैले रोक्न सक्दैन । त्यसैले उनी समिक्षासँग प्रेम नभए पनि बिहेको सम्झौता गर्न वाध्य भएका थिए ।

पलले समिक्षासँग दुई वर्षपछि विवाह गर्ने सहमति गरेको विषयमा नेपाल प्रेसले गत कात्तिक ५ गते खुलासा गरेको थियो । समाचार प्रकाशित भएपछि पलले खण्डन गरेका थिए भने समिक्षालाई पनि फकाएर खण्डन हाल्न लगाएका थिए । फेसबुकमा स्टाटस राख्दै दुवैले आफूहरुबीच प्रेम सम्बन्ध नरहेको दावी गरेका थिए ।

तर, त्यसबेला लेखेको स्टाटस समिक्षाका घाँडो भयो । फलतः गत माघ ६ गते उनले पहिलेको स्टाटसमा लेखेका कुराहरु वास्तविकताभन्दा टाढा रहेको भन्दै अर्को स्टाटस लेखिन् । त्यसमा उनले चाँडै यथार्थ सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । समिक्षाले पललाई रियल हिरोको उपाधि भिराउने उनै भाइरल पत्रकार प्रकाश सुबेदीलाई अन्तरवार्ता दिएकी छन्, जुन आज प्रशारण हुँदैछ ।

यथार्थ यही नै हो कि पल र समिक्षा अन्तरंग सम्बन्धमा थिए । तर, उनीहरु दुवैका लागि यो सम्बन्धका आयामहरु फरक भइदिए । समिक्षा पललाई दिलोज्यानले चाहन्थिन् र चाहन्छिन् । तर, पलको लागि यो फगत ‘टाइम पास’ थियो । क्षणिक मनोरञ्जनका लागि मात्र उनी समिक्षासँग नजिक भएका थिए ।

सुरुमा समिक्षालाई पलले अंकितासँग पनि विवाहको वाचा गरेका छन् भन्ने मालुम थिएन । यसर्थ उनले पललाई सहजै विश्वास गरेकी थिइन् । पल–अंकिताको सम्बन्ध थाहा पाएपश्चात उनी विक्षिप्त बनिन् । डिप्रेसनकै अवस्थामा पुगेकी समिक्षाले केही समय गीत रेकर्डिङसमेत गर्न सकिनन् ।

पछि समिक्षाले अंकितालाई समेत सम्पर्क गरेर पल र आफ्नो सम्बन्धबारे सुनाइन् । फेसबुक म्यासेञ्जरमा भएको कुराकानीमा समिक्षाको कुरा अंकिताले अपत्यार गरेको वा अपत्यारको अभिनय गरेको देखिन्छ । अंकिताले पल र समिक्षा दुवैलाई सँगै राखेर आफूले कुरा गर्ने आश्वासन दिएकी छन् । यद्यपि, पलले दुवैसँग एकैसाथ कुराकानी गर्न अस्वीकार गरे ।

यता, समिक्षा र अंकितासँगै पल म्युजिक भिडियोकी मोडल कविता रायसँग पनि अफेयरमा थिए । कविता र पलको अफेयर पनि करिब एक वर्षअघि सुरु भएको हो । उनीहरुले केही म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

कवितालाई पनि अंकिता र पलको सम्बन्धबारे सुरुमा थाहा थिएन । समिक्षाले जस्तै उनले पनि पललाई चरम विश्वास गरेकी थिइन् । पलसँग विवाहको सपना बुन्दै थिइन् उनी पनि ।

कविताले ६ महिनाअगाडि किनेको कार प्राय: पलले नै चलाउने गर्थे । कविताले पललाई कार उपहार दिएको चर्चासमेत चलेको थियो । तर, पल र अंकिताको सम्बन्ध थाहा पाएपछि एक महिनादेखि कविता पलसँग टाढिएकी छिन् । पलकै अनुनयमा उनले अंकितालाई भेटेर आफूहरुबीच कुनैखाले सम्बन्ध नरहेको भनि स्पष्टीकरण दिन तयार भइन् । कविताले यति गरेपछि पलले केही दिनअघि कविताको गाडी फिर्ता गरिदिएका छन् ।

सार्वजनिक रुपमा पलले कहिले पनि कसैसँग आफ्नो सम्बन्ध रहेको स्वीकारेका छैनन् । तर, हामीलाई एउटा अडियो प्राप्त भएको छ, जसमा पलले समिक्षा र अर्की युवतीसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका छन् । उक्त अडियोमा पल र समिक्षासँगै गायक दुर्गेश थापा, सरोज ओली लगायतका व्यक्तिहरुको आवाज सुनिएको छ । गत जेठतिरको हुनसक्ने यो कुराकानीमा दुर्गेश र सरोजले पल र समिक्षाबीच मध्यस्थता गर्न खोजेको देखिन्छ ।

अडियोमा पलका भनाइ यस्ता छन्ः

– पुलिस केस गर्यौ भने मलाई त मात्र होइन, तिमीलाई पनि नराम्रो हुन्छ । तिम्रो होल फेमिलीलाई नराम्रो हुन्छ । यो समस्याको भागीदार हामी दुवै हौं ।

– हाम्रो खासमा भेटै नहुनुपर्ने रहेछ । उसले यति डिपली ट्रु लभ गर्दोरहेछ । तर मैले उसलाई कहिल्यै नराम्रो बोलेको छैन । तँ पनि भनेको छैन ।

– विहे मात्र अप्सन हो त ? तिमी मसित बिहे गरेर खुशी हुन्छौ ? तिमी खुशी हुन्छौ होला म त हुन्न नि । मेरो अर्को (प्रेमिका) सित प्रोब्लम हुन्छ… उता पनि झगडा भइराखेको छ ।

– हामी रिलेसनमा हुँदाखेरि तिमीलाई केही नराम्रो भएर प्रोब्लम भएको भए स्वीकार्ने भन्ने कुरा हुन्थ्यो । हामीले एकदम सल्लाहमा… दिमाग नबिगांरिन… मेरो गल्ति छ भने सरी भन्छु.. जिन्दगीभरि हामी सँगै हुन्छौं । तिमीले मलाई माया गर्छौं भने ठिक छ । तर, बिहे मात्रै त अप्सन नहोला नि ।

समिक्षा भन्छिन् – म तपाईंलाई साँचो माया गर्छु । मैले तपाईंलाई सोधेको हो, यदि तपाईंको अर्को गर्लफ्रेन्ड छ भने रिलेसनमा नबसौं भनेर । अहिले आएर यस्तो कुरा भन्न मिल्छ ?

दुर्गेश र सरोजले पनि निर्णय लिन दबाव दिन्छन् ।

त्यसपछि पल भन्छन्– यसमा डिसिजन लिनुपर्ने के छ र ? यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा आउँथ्यो । गर्लफ्रेन्ड–व्वाइफ्रेन्डबीच अन्डरस्टयान्डिङमा केही भयो होला.. यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं । म सँधै तिमीसँग बोल्छु, रिप्लाई गर्छु भइहाल्यो नि ।

समिक्षा भन्छिन्– तर, यो सानो गल्ति होइन नि त । ठूलो कुरा हो मेरो लागि ।

पल जवाफ दिन्छन्– मैले मात्रै गरेको होइन नि त गल्ति ।

अन्त्यमा समिक्षालाई बेवास्ता नगर्ने र विगतको सम्झौतामा कायम रहने समझदारीमा उक्त छलफल टुंगेको थियो । तर, पलले फेरि पनि समिक्षालाई पन्छाउन खोजिरहेपछि समिक्षा विक्षिप्त बनेकी छन् । करिब एक महिनाअगाडि उनले प्रहरीमा उजुरीको तयारी गरिन् । यसका लागि पोखरा पुगेर एक वकिललाई उजुरी समेत लेखाइसकेकी थिइन् ।

आफूसँग भएका प्रमाणसहित उनले उजुरी गर्न आँटेको सुईंको पाएपछि पल केही कलाकार र पत्रकारलाई लिएर पोखरा पुगे । त्यहाँ भएको कुराकानीमा पनि फेरि पहिलेकै जस्तो सहमति भयो । तर, निकटस्थहरुको भनाइमा पलले समिक्षासँग विवाह गर्ने सम्भावना एक प्रतिशत पनि छैन ।

प्रेम वास्तवमै अजिव चिज हो । पलको सबै वास्तविकता थाहा पाइसक्दा पनि समिक्षाको आँखा उघ्रेको छैन । अहिले पनि उनी पललाई पाउन सके संसारै जित्थेँ जसरी मरिहत्ते गरिरहेकी छन् । कलिलो उमेरमै लोभलाग्दो उडान भरिरहेको समिक्षाको करिअरलाई अपरिपक्व प्रेमले गञ्जागोल पार्ने त होइन भन्ने चिन्ता पैदा भएको छ ।

निकटस्थहरु पल शाहलाई परोपकारी भावना भएका र असाध्यै मिहिनेति कलाकारको रुपमा चित्रित गर्छन् । उनले चलचित्र र म्युजिक भिडियोबाट राम्रै नाम र दाम कमाइरहेका छन् । तर, अति भएपछि खति हुन्छ भनिन्छ । आफ्नो स्टारडम र क्रेजको दुरुपयोग गरेर अरुका छोरीचेली बिगार्दै हिँड्दा पल आगामी दिनमा गम्भीर समस्यामा फस्न सक्ने र करिअरको जहाज डुब्न सक्ने चिन्ता उनका हितचिन्तकहरुको छ ।

-यस कथामा उल्लेखित विवरण पुष्टि हुने अडियाे तथा अन्य प्रमाण हामीसँग सुरक्षित छन् ।

(चर्चित सेलिब्रिटीसँग अफेयरमा रहेका व्यक्तिको नाम/तस्वीर सार्वजनिक हुनु राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रकारितामा सामान्य नै मानिन्छ । यद्यपि, हामीसँग पल शाहकी एक प्रेमिकाले आफू एक आम व्यक्ति भएको भन्दै तस्वीर र नाम प्रयोग नगर्न आग्रह गरेकाले यो समाचारमा उनको नाम परिवर्तन गरी तस्वीरसमेत हटाएका छौं ।)

 


प्रतिक्रिया

2 thoughts on “‘रियल हिरो’ कि प्ले-ब्वाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *