जसपामा जुँगाको लडाइँ, फेरि विभाजनको घण्टी – Nepal Press

जसपामा जुँगाको लडाइँ, फेरि विभाजनको घण्टी

काठमाडौं । प्रमुख सत्तारुढ घटक जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको टकरावले जसपामा पुनः विभाजनको घण्टी बजेको छ ।

अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राईलगायतले कार्यकारिणी समितिमा अध्यक्षविरुद्ध बहुमत पुगेको दाबी गर्दै आएका छन् । तत्काल केन्द्रीय कार्यकारिणीको बैठक बोलाउन उनीहरूको माग छ ।

विवादको जड

जसपाबाट अलग हुन गत भदौ ९ गते तत्कालीन अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले निर्वाचन आयोगमा सनाखत गराएका थिए । ठाकुरको नेतृत्वमा प्रतिनिधिसभाका १३, राष्ट्रियसभाका १ र कार्यकारिणी समितिका १६ जना सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए । विभाजनको ६ महिना नपुग्दै जसपामा फेरि विवाद चुलिएको हो । राष्ट्रियसभा निर्वाचनमा एकलौटी ढंगले उम्मेदवार तोकेको, प्रदेश १ मा हेमराज राई पराजित भएको लगायतका आरोप अध्यक्ष यादवमाथि लगाइएको छ ।

साबिकको नयाँ शक्ति नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि पनि यादव-भट्टराई टकराव भइनै रहेको थियो । राजपासँग एकता भएपछि जसपामा महन्थ पनि अध्यक्षको भूमिकामा थिए । महन्थको बहिर्गमनको अशोक राईलाई पनि अध्यक्ष बनाउनुपर्ने भट्टराई पक्षको माग छन् । संस्थापन पक्षले भने लगाइएका आरोपको खण्डन गर्दै आएको छ भने राईलाई अध्यक्ष बनाउन नसकिने अडान राखेको छ ।

जसपा प्राइभेट लिमिटेड होइन : नेता राइ

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ जसपा कसैको प्राइभेट कम्पनी नभएको बताउँछन् । पार्टीभित्र सामुहिक नेतृत्व र आन्तरिक लोकतन्त्रको अभाव देखिएको उनको दाबी छ ।

‘यो एकजना व्यक्तिले जे मन लाग्यो त्यो निर्णय गर्न पाउने प्रालि होइन । यसमा विधान, लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वको सवाल जोडिएको छ । त्यसैले पार्टीभित्र हाम्रो संघर्ष व्यक्तिवादभन्दा माथि उठाउनको लागि हो’, राइले नेपाल प्रेससँग भने । उनले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनुको विकल्प नभएको भन्दै बहुमत पक्षको विचार नै सदर गरेर जानुपर्ने बताए ।

‘विभाजन विकल्प होइन । पार्टीको बैठक बसेर जसको विचार सही छ त्यसलाई अनुमोदन गरेर जानुपर्छ । बहुमत सदस्यहरूको भावना अनुसार पार्टी चल्नुपर्छ’, राईले भने ।

विवादको अर्थ छैन, अर्को अध्यक्ष बनाउन सकिन्न : नेता यादव

जसपा केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद रामबावु यादव पार्टीभित्र विवादको औचित्य नभएको दाबी गर्छन् । संस्थापन पक्षका नेता यादव पार्टीको बैठकमा नआउने तर निर्णयमा असहमति जनाउने काम असन्तुष्ट पक्षले गरेको आरोप लगाउँछन् । ‘मन्त्री छान्नेदेखि राष्ट्रियसभाको उम्मेदवार छान्नेसम्मका निर्णय बैठक बसेर गरेको हो । बैठकमा नआउने अनि बाहिर गएर विवाद गर्ने त राम्रो कुरा भएन नि’, यादवले नेपाल प्रेससँग भने । असन्तुष्ट पक्षका कुरा मिडियाबाट सुनिएपनि पार्टीभित्र प्रवेश नगरेको यादवको भनाइ छ ।

पार्टीको बैठक आवश्यक समयमा हुने भन्दै उनी अध्यक्षलाई घेराबन्दीमा पार्ने प्रयास गरेर पार्टी बलियो नहुने बताउँछन् । ‘जसपामा कसको तागत कति भन्ने स्पष्टै छ । हिजोको समाजवादी पार्टीको शक्ति बिर्सेर नयाँ शक्तिले जे भन्यो त्यही त हुँदैन नि’, यादवले भने ।

पार्टीभित्र बहुअध्यक्ष प्रणाली असफल भएको भन्दै महन्थको स्थानमा अर्को अध्यक्ष नतोकिने बताए । ‘महन्थजीकै लागि मात्रै अध्यक्ष पद राखेको हो । नेपालमा २ अध्यक्ष हुने व्यवस्था असफल भइसक्यो अब जसपामा त्यो लागु हुँदैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर