बर्ड फ्लू नियन्त्रणका लागि सबै जिल्लामा समिति बन्ने, नयाँ नियमावलीमा के–के छन् ?

काठमाडौं । सरकारले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको नियमावली पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वययनमा आएको हो । नियमावली कार्यान्वयनमा आएसँगै बर्ड फ्लू रोग निन्त्रण आदेश २०६४ खारेज भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
नियमावलीअनुसार बर्ड फ्लू रोकथाम तथा नियन्त्रण गर्नका लागि प्राविधिक कार्य गर्न पशु सेवा विभागका महानिर्देशकको संयोजकत्वमा सरोकारवालाको सहभागिता रहनेगरी बर्ड फ्लू नियन्त्रण समन्वय समिति गठन हुने भएको छ ।
उक्त समितिको पदेन सदस्यमा पशु सेवा विभागकै उपमहानिर्देशक, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक सदस्य रहने छन् ।
यस्तै भेटेरिनरी इपिडिमियोलोजी शाखाका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कम्तिमा पनि उपसचिवस्तरको प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । समितिको सदस्य सचिव भने पशु सेवा विभागको पशुपन्छी रोग अन्वेषण तथा व्यवस्थापन शाखा प्रमुख रहने व्यवस्था गरिएको छ ।
जिल्लामा सीडीओको संयोजकत्वमा समिति
नियमावलीअनुसार बर्ड फ्लू नियन्त्रणसम्बन्धी कार्य गर्न ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बर्ड फ्लू नियन्त्रण समिति रहने भएको छ ।
समितिको पदेन सदस्यमा जिल्ला समन्वय समितिको प्रतिनिधि, बर्ड फ्लू देखापरेको स्थानीय तहको प्रतिनिधि, जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट, पशु क्वारेन्टाइन कार्यालय वा चेकपोष्टको प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु आरक्षको प्रमुख, जिल्ला रेडक्रस सोसाइटीको प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीले तोकेको पन्छीपालक व्यवसायीको प्रतिनिधि रहनेछन् ।
समितिको सदस्य सचिव भने जिल्लास्थित भेटेनरी अस्पताल वा पशु सेवा विज्ञ केन्दको प्रमुख रहने व्यवस्था छ ।
बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिने
बर्ड फ्लू नियन्त्रण नियमावलीअनुसार बर्ड फ्लू प्रभावित क्षेत्रको वरिपरिको तीन किलोमिटरसम्मको क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिने छ । त्यसका लागि प्रयोगशालाको प्रतिवेदनबाट कुनै स्थानमा बर्ड फ्लू लागेको पुष्टि भएमा वा बर्ड फ्लू थप फैलन सक्ने सम्भावना भएमा पशु सेवा विभागले त्यस्तो नमूना लिइएको स्थानलाई केन्द्रविन्दु बनाएर त्यसको वरिपरिको तीन किलोमिटरसम्मको क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्नका लागि कृषि तथा पशुपन्छी मन्त्रालयमा सिफारिस गर्न सक्नेछ ।
सिफारिस बमोजिम सरकारले त्यस्तो स्थान वा क्षेत्रलाई तोकी बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ । बर्ड फ्लू प्रभावित क्षेत्रमा बर्ड फ्लूको नियन्त्रण भइसकेपछि त्यसै जिल्ला वा प्रदेश र सम्बन्धित जिल्ला वा प्रदेशसँग सीमाना जोडिएका अन्य जिल्लामा बर्ड फ्लू देखापरेमा त्यसरी बर्डफ्लु देखापरेको क्षेत्रलाई आधार मानेर वर्ड फ्लू प्रभावित क्षेत्रको परिधि विस्तार गर्न सकिने छ ।
बर्ड फ्लू प्रभावित क्षेत्रबाट बाहिर कम्तीमा पनि सात किलोमिटर वरिपरिको क्षेत्र र बर्ड फ्लू लागको क्षेत्रमा पर्ने चिडियाखाना वा संरक्षण क्षेत्रलाई आवधिक तोकेर बर्ड फ्लूको सघन निगरानी क्षेत्र घोषणा गरी सघन निगरानीको कार्य अघि बढाउन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।
घोषणा गरिएको सघन निगरानी क्षेत्रमा बर्ड फ्लूको नियन्त्रण भइसकेपछि त्यसै जिल्ला वा प्रदेश र सम्बन्धित जिल्ला वा प्रदेशसँग सीमाना जोडिएका अन्य जिल्लामा बर्ड फ्लू देखा परेमा सघन निगरानीको परिधि विस्तार गर्न सकिनेछ ।
घोषणा गरिएको सघन निगरानी क्षेत्रबाट कार्यालय प्रमुख वा उसले तोकेको अधिकृतले बर्ड फ्लू परीक्षणको लागि नमूना संकलन वा प्रयोशालामा परीक्षण गराउन सक्नेछ । बर्ड फ्लू प्रभावित क्षेत्रभित्र चिडियाखाना वा संरक्षण क्षेत्र परेमा विभागले उक्त स्थानमा सम्बन्धित चिडीयाखाना वा संरक्षण निकायसँग सम्वन्य गरी जोखिम विश्लेषण प्रतिवेदनका आधारमा निगरानी तथा नियन्त्रणको आवश्यक व्यवस्था मिलाउनेछ ।
ओसारपसारमा प्रतिबन्ध
बर्ड फ्लू प्रभावित क्षेत्र वा सघन निगरानी क्षेत्रबाट अन्य क्षेत्रमा बर्ड फलू फैलिन सक्ने सम्भावना देखिएमा कार्यालय प्रमुख वा उसले तोकेको अधिकृतले घोषित बर्ड फ्लू प्रभावित क्षेत्र, सघन निगरानी क्षेत्रबाट वा त्यस्तो क्षेत्र भएर पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा बर्ड फ्लू सार्नसक्ने अन्य वस्तुको ओसारपसार गर्न प्रतिबन्ध लगाउन सक्नेछ ।
बर्ड फ्लू प्रभावित क्षेत्रमा त्यस्तो घोषणा कायम रहेसम्म कसैले पन्छीपालन गर्न, ह्याचरी तथा पन्छी दाना उद्योग सञ्चालन गर्न र पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा वर्ड फ्लू सार्न सक्ने अन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसार पसार गर्न पाइने छैन । बर्ड फ्लू प्रभावित क्षेत्रमा बर्ड फ्लू नियन्त्रणका लागि विभागले आवश्यकता अनुसार सम्बन्धित प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयसँगको समन्वयमा तत्काल बर्ड फ्लू नियन्त्रण कक्ष स्थापना गरी नियन्त्रण कार्य सञ्चालन गर्न सक्नेछ ।
रोग सार्नसक्ने वस्तु नष्ट गरिने
बर्ड फ्लू प्रभावित क्षेत्रभित्र रहेका निःसंक्रमणपछि पुनःप्रयोग गर्न सकिने बाहेकका घरपालुवा पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री लगायतका रोग सार्न सक्ने वस्तु मानवीय तवरले नष्ट गर्ने, तह लगाउने, निःसंक्रमण गर्ने तथा सरसफाई गरी सुरक्षित रुपमा व्यवस्थापन गर्नु पर्नेछ । बर्ड फ्लू प्रभावित क्षेत्रमा निःसंक्रमण तथा बर्ड फलू नियन्त्रणका लागि खटिने जनशक्ति तथा त्यस क्षेत्रका नागरिकको स्वास्थ्य निगरानीको लागि बर्ड फ्लू नियन्त्रण समितिले जनस्वास्थ्य टोली खटाउन सक्नेछ ।
नष्ट गर्दा वा तह लगाउँदा क्षति भएको पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्रीको परिमाण खुल्ने गरी नष्ट गरेको मिति सहितको विवरण विभागले निर्धारण गरेको ढाँचामा प्रमाणित गरी त्यसको प्रतिलिपि सम्बन्धित धनीलाई दिनुपर्नेछ । बर्ड फ्लू प्रभावित क्षेत्र भएर आवतजावत गर्ने पन्छी, पन्छीजन्य उत्पादन तथा उत्पादन सामग्री ओसारपसार सम्बन्धी कार्यमा प्रयोग भएको सवारी साधनलाई त्यस्तो क्षेत्रको सीमानामा निःसंक्रमण गरेर मात्र आवतजावत गर्न दिइनेछ ।
घोषणा गरिएको बर्ड फ्लू प्रभावित क्षेत्रभन्दा बाहिर त्यस जिल्लाभित्र वा सीमाना जोडिएको अन्य जिल्लामा बर्ड फ्लूको संक्रमण देखापरेमा त्यस्तो स्थानका पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्रीलाई समेत नष्ट गरी व्यवस्थापन गरिनेछ ।
बर्ड फ्लू प्रभावित क्षेत्रबाट बर्ड फ्लू प्रभावित क्षेत्र भन्दा बाहिर लगेको वा ल्याएको प्रमाणित भएमा ती सामग्री र ती सामग्रीसँग प्रत्यक्ष सम्पर्कमा रहेका रोग सान सक्ने सम्पूर्ण सामग्रीसमेत नष्ट गरिनेछ । कार्यालय प्रमुखले बर्ड फ्लू प्रभावित क्षेत्रमा बर्ड फलू नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सक्नेछ ।
सरकारले राहत दिनसक्ने
बर्ड फ्लूको कारण पन्छी वा पन्छीजन्य पदार्थ नष्ट गरिएको कारण हानि नोक्सानी भएका व्यक्तिलाई सरकारले स्वीकृत गरेको मापदण्डको आधारमा राहत दिन सकिनेछ । नियमावली बमोजिम बर्ड फ्लू निन्यत्रण कार्यका लागि नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक रोग अन्वेषण, रेपिड रोस्पोन्स समेतका प्रतिकार्य काममा खटाइएका कर्मचारी वा व्यक्तिलाई सरकारले निर्धारण गरे बमोजिमको प्रोत्साहन सुविधा उपलब्ध गराउन सक्नेछ ।