भन्सार एजेन्टको परीक्षा, अन्योल र यथार्थ – Nepal Press

भन्सार एजेन्टको परीक्षा, अन्योल र यथार्थ

भन्सार विभागले नयाँ भन्सार एजेन्ट नियुक्तिका लागि सार्वजनिक सूचना प्रकाशन गरेर दरखास्त आह्वान गरेको लामो समय भयो । छ सय ६० जना नयाँ भन्सार एजेन्ट नियुक्ति गर्न दरखास्त आह्वान भएकोमा नौ हजारभन्दा बढी आवेदकले निवेदन दिएका छन् ।

परीक्षाको सबै तयारी सकिएको अवस्थामा कोरोना महामारी र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण एकाएक परीक्षा स्थगित हुन पुग्यो । पछि अदालतबाट रिट खारेज भइ परीक्षा संचालनको व्यवस्थापकीय तयारी सम्पन्न भएर परीक्षा केन्द्रसहित सूचना प्रकाशन हुनै लाग्दा फेरि ओमिक्रोनको प्रभाव एक्कासी बढ्यो, परीक्षा स्थगित भयो ।

यसरी बारम्बार परीक्षा स्थगित हुँदा र लामो समयसम्म लिखित परीक्षा संचालन हुन नसक्दा र विगतमा पनि यसैगरी सूचना प्रकाशन भइ दरखास्त आह्वान गरिएको विज्ञापन लामो समयपछि खारेज नै भयो । परिक्षार्थीहरुमा फेरि कतै त्यस्तै हुने हो कि भन्ने शंका बढेको छ ।

हिजोआज केही सञ्चार माध्यममा परीक्षा नहुनेलगायतका विषयहरुमा समाचारहरु प्रकाशन हुन थालेका छन् । तर, भन्सार एजेन्ट भनेको को हो ? र यसको इजाजत प्राप्त गरेपछि के काम कसरी गर्ने ? भन्ने विषयमा विभिन्न भ्रमहरु रहेका छन् ।

भन्सार एजेन्ट भनेको को हो ?

भन्सार एजेन्ट भनेको भन्सार जाँचपास गर्ने कार्यमा आयात–निर्यातकर्ता व्यापारी र भन्सार कार्यालयबीच मध्यस्थको भूमिका खेल्ने भन्सार विभागबाट लाइसेन्स वा अनुमति प्राप्त व्यक्ति हो ।

सामान्य अर्थमा भन्सारमा मालवस्तु आयात–निर्यात गर्दा आफैं उपस्थित भइ जाँचपास गर्न नसक्ने वा नभ्याउने व्यवसायीले अख्तियारी दिएर खटाएका लेखनादास हुन् भन्दा पनि फरक पर्दैन ।

यसरी हेर्दा भन्सार एजेन्टले भन्सार विभागबाट जारी भएको लाइसेन्स वा इजाजत लिनु पर्दछ र भन्सारमा आफैं वा आप्mनो कर्मचारी उपस्थित हुन नसक्ने आयात–निर्यातकर्ता व्यवसायीले विश्वास गरी आप्mनो कुनै काम गर्न अख्तियारी दिएको हुनु पर्दछ ।

भन्सारमा आयात–निर्यातकर्ता व्यवसायी स्वयम् वा उसको कर्मचारीकै उपस्थिति हुनसक्ने अवस्था भएसम्म भन्सार एजेन्टको कुनै आवश्यकता पर्दैन । व्यवसायीले ‘मेरो यो काम गर्न यो एजेन्टलाई नियुक्ति गरेर पठाएको छु’ भनी भन्सार कार्यालयमा अख्तियारनामा नदिउन्जेल पनि भन्सार एजेन्टले कुनै व्यवसायीको तर्फबाट काम गर्न पाउँदैन ।

यसरी हेर्दा भन्सार एजेन्ट व्यवसायीले विश्वास गरी अख्तियारनामा दिएको, भन्सार विभागबाट अनुमति वा इजाजत प्राप्त गरी भन्सार जाँचपासको कार्यमा व्यवसायी र कार्यालयको बीचमा मध्यस्थको भूमिका खेल्ने लेखनदास हो ।

एजेन्टको इजाजत लिन र नवीकरण गर्न के गर्नु पर्छ ?

२१ वर्ष उमेर पूरा भएका, स्नातक तह उतीर्ण गरी कम्तिमा तीन महिनाको कम्प्युटरसम्बन्धी आधारभूत तालिम लिएका व्यक्ति अहिलेको भन्सार ऐन र नियमबमोजिम भन्सार एजेन्टको परीक्षा दिन योग्य हुन्छन् ।

भन्सार विभागले आह्वान गर्दा दरखास्त दिएका, सरकारी बाँकी बक्यौता नभएका र फौजदारी कसुरमा कसुरदार नठरिएका योग्य व्यक्तिबाट लिखित तथा अन्तरवार्ता परीक्षा संचालन गरी एजेन्टको इजाजत दिने गरेको छ । यस्तो इजाजत दिँदा सात हजार रुपैयाँ दस्तुर तथा सात लाख रुपैयाँ बरबरको नगद वा बैंक जमानत लिनुपर्दछ ।

यसरी प्राप्त गरेको इजाजतपत्र प्रत्येक वर्ष सातह जार रुपैयाँ तिरी अन्य करचुक्ताको कागजातसमेत पेश गरी नवीकरण गर्नु पर्दछ । भलै, तीन वर्षसम्मको एकैचोटि नवीकरण गर्नसक्ने प्रावधान पनि छ । तर एक वर्षभन्दा बढी नवीकरण नगरेमा कानूनबमोजिम इजाजत नवीकरण नहुनेगरी स्वतः खारेज हुन्छ ।

यसरी भन्सार एजेन्टको इजाजतपत्र भन्सार विभागबाट जारी गरिने र हरेक वर्ष आफ्नो व्यवसायबाट आर्जन गरेको आयमा तिर्नुपर्ने करसमेत तिरी निरन्तर नवीकरण गर्नुपर्ने हुन्छ ।

इजाजतपत्र हुँदैमा काम पाइन्छ ?

भन्सार एजेन्टको इजाजत प्राप्त हुनु भनेको आफैंमा कुनै जागिर पाउनु वा रोजगार हुनु होइन । यो एउटा निश्चित जमानतसहित प्रक्रिया पूरा गरेपछि मात्र काम गर्न पाइने प्रमाणपत्र वा अनुमति मात्र हो । यस्तो अनुमति पाएपछि आप्mनो नाममा भन्सार जाँचपास गर्ने छुट्टै फर्म वा कम्पनी दर्ता गर्न र कुनै व्यापारिक फर्महरुले आफूले निकासी–पैठारी गर्ने मालवस्तु आफैं भन्सार जान नपाउँदा एजेन्ट नियूक्ति गरी जाँचपासको अख्तियारी दिएमा मात्र सम्बन्धित व्यापारीको हकमा काम गर्न वा भन्सार जाँचपासको काम गर्न पाउँछन् ।

त्यसैले भ्रम नहोस, भन्सार एजेन्टको अनुमति पाउनु कुनै नयाँ रोजगारी वा काम पाउनु होइन । यस्तो अनुमति प्राप्त गरेपछि पनि आयात–निर्यात कर्तासंग विश्वास जितेर सहज र सरल किसिमले किफायती शुल्क लिएर काम गर्नसक्नु पर्दछ ।

अर्कोतर्फ भन्सारमा लागू भएका आधुनिक प्रविधिसंग साक्षात्कार हुँदै भन्सार प्रक्रिया, कानून र नियममा समेत विज्ञ बन्नसक्नु पर्दछ । नत्र लिएको लाइसेन्स कुनै विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र जस्तै सिरानमा राखेर सुत्नुपर्ने हुन्छ ।

लाइसेन्सका लागि राखेको बैंक जमानतबापत ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आउन पनि सक्छ । यसमा आफैंले प्रतिस्पर्धी बजारबाट काम खोजेर सेवा दिएबापत लिने पारिश्रमिक मात्र भन्सार एजेन्टको आम्दानी हुने हो । काम नभएमा कुनै आम्दानी हुँदैन ।

अहिलेको अवस्थामा समेत कतिपय भन्सार एजेन्टहरुले प्राप्त लाइसेन्स खारेज हुन नदिन मात्र प्रमाणपत्र नवीकरण गरेका छन् । कतिपयले भने आफूलाइ काम गर्न नआए पनि अर्को प्रतिनिधि वा कर्मचारी राखेर सामान्य गुजारा गरेको अवस्था छ । यसर्थ यस्तो लाइसेन्स लिनु भनेको काम पाउनु वा रोजगारी हुनु होइन ।

अहिलेको यथार्थ

करिब बीस वर्षदेखि नेपालमा नयाँ भन्सार एजेन्टको इजाजत जारी भएको छैन । विगतमा एक–दुई चरणमा जारी भएका इजाजत प्राप्त गरेका केही व्यक्तिको मृत्युसमेत भइसकेको छ । अहिले देशभर डेढ सयभन्दा केही बढी भन्सार एजेन्टको प्रमाणपत्र मात्र नवीकरण भएर चालु हालतमा छन् । त्यसमध्ये आधाले मात्रै काम गरिरहेका छन् ।

काम गर्ने भनिएका भन्सार एजेन्टहरु पनि धेरैजसो आफ्नो लाइसेन्सबापत प्रतिनिधि नियुक्त गरेर मासिक भत्ता बुझ्ने वा आफू मालिक बनेर दक्ष र काम गर्न सक्षम व्यक्तिलाई कर्मचारी बनाएर काम गरिरहेका छन् ।

करिब दश प्रतिशतले मात्रै वास्तविक भन्सार एजेन्टले गर्नुपर्ने काम गरिरहेका छन् । धेरैले लाइसेन्स ओगटेर मात्रै बसेका छन् । करिब दश वर्षभन्दा पहिले पनि भन्सार एजेन्टको संख्या थप्न भन्सार विभागले सूचना जारी गरी दरखास्त आह्वान गरेको थियो । त्यतिबेलासमेत लगभग सबै प्रक्रिया पूरा गरी लिखित परीक्षाका लागि केन्द्रसमेत तोकेर सूचना पनि जारी भएको थियो । तर पहिले सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट परीक्षा रोकियो । त्यसपछि अदालतबाट रिट खारेज भए पनि विभिन्न निकायको छानबिनका कारण लामो समय परीक्षा हुन सकेन ।

जुनबेला परीक्षा गर्नसक्ने अवस्था भयो, त्यतिबेला आधाभन्दा बढी दरखास्तवाला परीक्षार्थीहरु अन्यत्रै सेटल भइसकेका थिए । त्यहीं मूल्यांकनबाट नै होला, सायद पछि परीक्षा नभइ पूरै विज्ञापन खारेज हुन पुग्यो । अहिले पनि करिब छ सय साठी जना भन्सार एजेन्ट आवश्यकता पहिचान गरी सूचना प्रकाशन भएको पनि लिखित परीक्षाको सूचना जारी गर्नेबेला सर्वोच्चको आदेशबाट परीक्षा रोकिन पुग्यो ।

अहिले सर्वोच्चको फैसलाबाट रिट खारेज भइसकेको तर परीक्षा संचालनको सूचना ननिस्केकाले कतै पहिले जस्तै यो विज्ञापन पनि खारेज हुन्छ कि भन्ने चिन्ता छ, परीक्षार्थीलाई ।

लामो समयदेखि नयाँ भन्सार एजेन्ट थपिन नसक्नुको कारण मुख्यतः दुईवटा देखिन्छ । एउटा पुराना भन्सार एजेन्टहरुले आफ्नो अहिलेको हालीमुहालीको अन्त्य हुने डरले परीक्षा रोक्न वा ढिला गर्न चाहन्छन् ।

अर्को एउटा समूह पहुँच भएका तर परीक्षामा पास गर्नसक्ने हिम्मत नभएकाहरु छन्, जो लाइसेन्स पाउनासाथ रातारात करोडपति बन्ने सपना देखेर आफूले सोझै पाउनुपर्ने स्वार्थका कारण परीक्षा हुन नदिने ध्यानमा छन् ।

पहिलेको रद्द भएको परीक्षा हुन नसक्नुमा पनि भित्रीरुपमा यिनै दुईटा स्वार्थहरु कारक रहेको देखिन्छ । तर अहिले यथार्थ फरक भइसकेको छ । यी दुवै शक्तिहरु परास्त भइसकेका छन् ।

अब भन्सार विभागले आवश्यक व्यवस्थापन गर्न र परीक्षा संचालनको सूचना निकाल्न मात्र बाँकी छ । भन्सार विभागसँग यस्ता परीक्षा संचालनको अनुभव नभएको र एकैचोटि नौ हजारभन्दा बढी परीक्षार्थीको लिखित परीक्षा संचालन गर्नुपर्ने भएकोले लोकसेवा आयोगको सहयोग लिनुपर्ने अवस्था छ ।

लोकसेवा आयोगको आफ्नै नियमित कार्यतालिकामा असर नपारी परीक्षा संचालन गर्नुपर्ने र फेरि तेस्रो लहरको रुपमा आएको कोरोनाको महामारीका कारण केही समय लागेको छ । तर अब भन्सार एजेन्टको यसपालि हुने परीक्षा कसैगरी रोकिनसक्ने अवस्था देखिँदैन ।

लामो समयदेखि नयाँ नियुक्ति हुन नसक्दा भन्सार एजेन्टको कमी भइसकेको छ । र अब धेरै अवरोध हटिसकेकाले परीक्षा सञ्चालन अन्तिम चरणमा पुगेको छ । अब कोरोनाबाहेक कुनै पनि कारण यो रोकिने अवस्था छैन । अब पनि परीक्षा हुन सकेन भने अर्को विकल्पबारे सोच्नु पर्दछ ।


प्रतिक्रिया

One thought on “भन्सार एजेन्टको परीक्षा, अन्योल र यथार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *