राजदूत र भूतपूर्व ब्रिटिस गोर्खालाई बोलाएर परराष्ट्रले छलफल गर्ने, बेलायतसँग वार्ताको जिम्मा राजदूतलाई दिने तयारी – Nepal Press

राजदूत र भूतपूर्व ब्रिटिस गोर्खालाई बोलाएर परराष्ट्रले छलफल गर्ने, बेलायतसँग वार्ताको जिम्मा राजदूतलाई दिने तयारी

लन्डन । राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएपछि बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकले अवरुद्ध वार्ता अघि बढ्ने विश्वास लिएका छन् । राजदूत नहुँदा बेलायतसँग डिसेम्बरमा हुने भनिएको वार्ता हुन नसकेपछि निराश बनेका भूपु गोर्खा सैनिक राजदूत नियुक्त भएसँगै हर्षित सुनिएका छन् ।

परराष्ट्र मन्त्रालयले केही दिनमै गोर्खा सैनिक र राजदूत आचार्यलाई बोलाएर छलफल चलाउने भएको छ । त्यसपछि राजदूत आचार्य लन्डन पुगेर ब्रिटिस गोर्खा सैनिकलाई भेट्ने भएका छन् । त्यसपछि उनकै नेतृत्वमा बेलायतसँग वार्ता गर्ने सरकारको तयारी छ । राजदूत आचार्यलाई नै वार्ताको जिम्मा दिएर मन्त्रिपरिषद्बाट स्वीकृती दिने तयारी भएको छ भने आवश्यक परेमा परराष्ट्रमन्त्री र रक्षामन्त्री पनि वार्तामा उपस्थित हुने जनाइएको छ ।

यसअघि नेपाल र बेलायत सरकारबीच डिसेम्बरमा वार्ता हुने तय भएपनि राजदूत नहुँदा वार्ता हुन सकेको थिएन । अब भने नेपाल सरकारले वार्तामा बिलम्ब गरेको आक्रोश व्यक्त गरिरहेका भूतपूर्व गोर्खा मुद्दाले छिट्टै निकास पाउनेमा आशावादी देखिएका छन् । भूतपूर्व गोर्खाहरुले एकजना अनुभवी कूटनीतिज्ञको संलग्नतामा आफ्ना ऐतिहासिक समस्या टुंगो लाग्ने आशा पनि गरेका छन्।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राईले नयाँ राजदूतलाई बधाइ दिंदै उनी गोर्खा मुद्दा र परराष्ट्र मामलामा जानकार भएकाले आफू आशावादी भएको बताएका छन् ।

गोर्खा सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले राजदूत आचार्यलाई बधाइ दिंदै उनका लागि काम गरेर देखाउने अवसर आएको बताए । ‘राजदूतज्यूलाई बेलायतमा स्वागत गर्न आतुर छौं । उहाँले नेपाल र नेपालीको इज्जतलाई बढाउँदै गोर्खाहरुमाथि भए गरिएका अन्यायविरूद्ध भिड्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएका छौं’, राईले भने ।

भूतपूर्व गोर्खाहरुले बेलायती सैनिक सरह समान पेन्सन, सुविधा लगायत क्षतिपूर्तिको माग गर्दै शुरु गरेको आन्दोलनले तीन दशक पार गरिसकेको छ ।यसबीचमा बेलायतले आवासीय अधिकार र गोर्खा वयस्क सन्तानका हकमा कयौं व्यवस्था गरेपनि समान पेन्सन मुख्य समस्याका रुपमा कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर