देउवाले गुजरातमै मोदीसँग साइडलाइन वार्ता गर्ने : एजेन्डामा मल, हवाइ रुटदेखि ऊर्जा ब्यापारसम्म – Nepal Press

देउवाले गुजरातमै मोदीसँग साइडलाइन वार्ता गर्ने : एजेन्डामा मल, हवाइ रुटदेखि ऊर्जा ब्यापारसम्म

काठमाडौं । भारतको गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

भारत र नेपालका परराष्ट्र मन्त्रालयले देउवाको भ्रमण सूचीलाई संयुक्तरुपमा सार्वजनिक गर्ने तयारी थालेका छन् । तर, परराष्ट्रदेखि प्रधानमन्त्री स्रोतका अनुसार देउवाले गुजरातमै सम्मेलनको दौरान भारतीय समकक्षीसँग साइडलाइन वार्ता गर्ने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देउवाको गुजरात भ्रमणलाई स्वीकृति समेत प्रदान गरेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेका अनुसार रासायनिक मल आयात, ऊर्जा ब्यापार, हवाइ रुट, सीमालगायतका विषयमा भारतसँग कुरा हुनेबारे प्रधानमन्त्रीले मन्त्री र सचिवलाई जानकारी गराएका छन् ।

मन्त्री आलेका अनुसार भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाइ रुटको लागि भारतसँग प्रधानमन्त्रीले कुरा गर्ने जनाइएको छ । तर, भ्रमणमा नेपाल–भारत रेलसेवाको उद्घाटन भने नहुने भएको छ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल २० सदस्यीय हुने बताइएपनि यसबारे औपचारिक जानकारी आउन बाँकी छ ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट देउवा दिल्ली पुग्नेछन् । अन्य यात्रु त्यहीँ झरेपछि देउवा सोही बिमानबाट गुजरात पुग्ने कार्यक्रम छ । भाइको उपचारको लागि दिल्लीमा रहेकी देउवा पत्नी आरजु राणा पनि त्यहीँबाट सामेल हुने जनाइएको छ ।

नेपाली टोलीमा प्रधानमन्त्री, उनकी पत्नी, सचिवालयका सदस्य, परराष्ट्रमन्त्री, अर्थ र परराष्ट्र सचिव, मन्त्रालय र दूतावासका अन्य कर्मचारी सहभागी हुने भएका छन् । नेपाली सेनाका चार तथा अनुसन्धानका एक–एक गरी ६ जना सुरक्षाकर्मी पनि सामेल हुने भएका छन् ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले आइतबार प्रधानमन्त्री त्यसतर्फ जाने निश्चित भएपनि विस्तृत जानकारी भारत र नेपालले संयुक्तरुपमा सार्वजनिक गर्ने तयारी भैरहेको बताइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २६ गते भाइब्रेन्ट गुजरात समिटको उद्घाटन गर्नेछन् । सो सम्मेलनमा देउवासहितका पाँच मुलुकका सरकार प्रमुखले भाग लिनेछन् । नेपालको सेमिनार पहिलो दिनमै बिहान साढे १० बजेदेखि १२ बजेसम्म हुने भएको छ ।

देउवाको यो राजकीय भ्रमण चाहिँ होइन । देउवाले यो भ्रमणलाई राजकीय बनाउन चाहे पनि भारतले स्वीकार नगरेको स्रोतको दावी छ । देउवासहितको टोली भ्रमणको तेस्रो दिन गुजरातको मन्दिर सोमनाथको दर्शनमा जाने र पुस २८ मा दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

देउवा र मोदीबीच दुई महिनाअघि स्कटल्यान्डको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)को क्रममा भेट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर