सरकारले गर्‍यो उखुको मूल्य निर्धारण, अब प्रतिक्विन्टल ५ सय २० रुपैयाँ – Nepal Press

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण, अब प्रतिक्विन्टल ५ सय २० रुपैयाँ

भारतबाट जीटुजीमार्फत मल खरिदको सम्झौता गर्ने निर्णय

काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु प्रतिक्विन्टल ५ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले नेपाल प्रेससँग भने – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश गरेको थियो । त्यसैले उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषमा पेश गरेको थियो । त्यसमा प्रतिक्विन्टल ५ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय भयो ।

किसानले ६ सय ५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेका थिए भने उद्योगीले ५ सय ८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गर्दै आएका थिए । मूल्य निर्धारणमा सरकारले ढिलाई गरेको भन्दै किसानले आन्दोलन पनि सुरु गरिसकेका थिए ।

मन्त्री यादवका अनुसार बैठकले भारतबाट जीटुजीमार्फत मल खरिदको सम्झौता गर्ने निर्णय पनि गरेको छ । दुवै देशका सरकारविचमा पाँच वर्षका लागि मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय भएको हो । जस अनुसार पहिलो वर्ष डेढ लाख मेट्रिकटन खरिद गरिने र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मल खरिद सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *