स्थानीयको अवरोधपछि विद्युत प्राधिकरण हर्दी सवस्टेसन निर्माणमा ढिलाइ – Nepal Press

स्थानीयको अवरोधपछि विद्युत प्राधिकरण हर्दी सवस्टेसन निर्माणमा ढिलाइ

चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका-६ हर्दीमा निर्माणाधीन विद्युत सवस्टेसनको काम पूरा गर्न ढिलाई भएको छ । हर्दी सवस्टेसनबाट चैनपुर सवस्टेसनसम्म डबल सर्किट सवप्रशारण लाइन बनाउने काम रोकिन पुगेको हाे ।

पुरानो राजमार्गहुँदै लगिने सवप्रशारण लाइनको टावर बनाउने क्रममा स्थानीयले अवरोध गरेका छन्। हर्दीबाट खैरहनी नगरपालिकाको पुरानो राजमार्ग क्षेत्र १०, ९, ७, ६ नम्बर वडा हुँदै चैनपुरसम्म प्रशारण लाइन लैजाने गरि सर्वे भएको थियो ।

करिब ८.५ किमि दुरीमा ४६ वटा विद्युत टावर बनाउनुपर्नेमा १४ वटामात्र बन्दैछन् । राप्ती नगरपालिका तर्फका १६ मध्ये १४ टावरमात्रै बन्न लागेका हुन्।

खैरहनीतर्फका ३० टावर बनाउन स्थानीयले रोकेका छन् । स्थानीयले १७ बुँदे माग जिल्ला प्रशासन कार्यालयमा बुझाउँदै प्रशारणलाइनको रुट परिवर्तन गर्न माग गरेका छन् । पुरानो राजमार्ग क्षेत्रको सडक क्षेत्राधिकार एकिन नभएको, दर्जनौ बोर्डिङ, स्कुल, कलेज छेउमै पर्ने, रोग तथा दुर्घटनाको जोखिम बढ्ने, दुरी लामो हुने भन्दै स्थानीयले विमति जनाएका छन् ।

२०७५ असारदेखि पूर्वीचितवन १३२–३३–११ केभी सवस्टेसन आयोजनाको काम सुरु भएको हो । आयोजना प्रमुख रमनराज शर्माले सवप्रशरण लाइन तान्ने बाहेका सबै काम पूरा भएको बताए । ‘खैरहनीतर्फका टावर फाउन्डेसनको काम बाँकी छ,’ उनले भने, ‘घरगोठबाट ३ मिटर पर सडककै जग्गामा टावर बनाउन खोज्दासमेत स्थानीयले छलफलको माग राखेका छन्, हामी छलफलमै छौं।’

उनले हाइ–भोल्टेजको नभइ मझौला भोल्टेजको सवप्रशारण लाइन लैजान खोजिएको बताए । ‘सुरक्षित रुपले अग्ला टावरमा तार राखिने भएकाले हानीनोक्सानी केही हुने छैन,’ उनले थपे, ‘पूर्वीचितवनमा लाइन ट्रिप हल गर्न यो काम पूरा हुन जरुरी छ ।’

भरतपुरबाट ल्याइएको ३३ केभी फिडरलाई केही वर्षपछि देवनगर–गीतानगरमा बन्ने सवस्टेसनमा पठाएपछि चैनपुर सवस्टेसनको विद्युतको मुख्य स्रोत हर्दी सवस्टेसन नै हुनेछ । करिब २१ किमि लामो दूरीमा भरतपुरबाट ल्याइएको एउटामात्रै ३३ केभि फिडर मार्फत खैरहनी–२ चैनपुरमा रहेको ३३–११ केभी सवस्टेसनबाट पूर्वीचितवनमा विद्युत प्रवाह हुँदै आएको थियो ।

तर, विद्युतको माग बढी भएकाले ओभरलोड हुने समस्याले भोल्टेज कम हुने, बारम्बार ट्रीप हुने, बेलाबखत विद्युत अवरुद्ध हुने समस्या थियो। पूर्वी चितवनमा ६५ हजार बढी ग्राहक छन् ।

चैनपुर सवस्टेसनको क्षमता वृद्धि गर्न हर्दीको सवस्टेसनले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । सो स्टेसनबाट ३३ केभीका डबल सर्किट सवप्रशारण लाइन लगेपछि चैनपुरको १५ मेघावाटबाट ४० मेघावाट क्षमता हुनेछ ।

हर्दी सवस्टेसनका प्रशासन प्रमुख सुरेश पण्डितले स्थानीयकै सहमतिमै छिटै टावर बनाउने काम सुरु हुने बताए । ‘केही भ्रमहरु छन्, ती बारे बुझाउन सके अवरोध हट्ने देखिन्छ,’ उनले भने, ‘वस्तीनै जोखिममा पारेर विद्युत लाइन लैजाने कल्पना समेत गर्न सकिँदैन, हामी यी सबै नीति र मापदण्ड पालना गरेरै काम गर्दैछौं ।’

मुख्य सडक हुँदै सवप्रशारण लाइन लैजान ठाउँ अभाव भएकाले पुरानो राजमार्ग क्षेत्र रोजिएको उनले बताए । ‘दुवैतर्फ ११ केभी हाइटेन्सन लाइन छ, पोल तथा टावर थप्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले पुरानो राजमार्ग हुँदै लैजान खोजिएको हो ।’

हर्दी सवस्टेसनमा ३० एमभीए क्षमताका २ र १६ एमभीए क्षमताको १ वटा पावर ट्रान्सर्फमर छ । अहिले यही सवस्टेसनबाट खुरखुरे, भण्डारा, लोथर लगायतका क्षेत्रमा विद्युत सेवा दिइएको छ । ५१ करोड ५१ लाख रुपैयाँ बराबरको आयोजनाको सवप्रशारण लाइनको काम पूरा गर्न ३ करोड ७० रुपैयाँ छुट्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *