८ लाख ४० हजार कांग्रेसीका नेता छान्ने १४ औं महाधिवेशनका ६ विशेषता – Nepal Press

८ लाख ४० हजार कांग्रेसीका नेता छान्ने १४ औं महाधिवेशनका ६ विशेषता

काठमाडौं । नेपाली कांग्रेसको १४ औंं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । २४ गते उद्घाटन हुने कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।

१ सय ६५ निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले निर्वाचित, भ्रातृ एवं शुभेच्छुक संस्थाबाट विधान बमोजिम मनोनीत तथा जनसम्पर्क समितिका गरी ४ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको मतबाट आगामि ४ वर्षका लागि कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ ।

कांग्रेसमा महाधिवेशन सबैभन्दा शक्तिशाली निकाय हो । जहाँबाट नीति र नेतृत्वको निर्धारण हुने गर्छ । कांग्रेसको १४ औं महाधिवेशनका अनेक विशेषता छन् । ती मध्ये ६ विशेषता यहाँ उल्लेख गरिएको छ–

१. उद्घाटनमा शक्ति होइन शालीनता प्रदर्शन

राजनीतिक दलहरुको महाधिवेशनको उद्घाटन समारोहलाई शक्ति प्रदर्शनको केन्द्र बनाउने प्रचलन रही आएको छ । हालै नेकपा एमालेले चितवनमा दशौं अधिवेशनको उद्घाटन समारोहमा चितवनमा ५ लाख कार्यकर्ता उतारेको दावी गरेको थियो ।

राप्रपाले पनि जारी महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न जिल्लाका कार्यकर्ता बोलाएर शक्ति प्रदर्शन गरेको थियो । कांग्रेसले भने उद्घाटन समारोहलाई शक्ति प्रदर्शनको केन्द्र नबनाउने जनाएको छ ।

सरकारको नेतृत्व गरिरहेको, कोभिडको तेस्रो भेरियन्टको जोखिम बढेको र समय चाप लगायतका कारण कांग्रेसले उद्घाटनमा सामान्य समारोह मात्रै गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उद्घाटन समारोहलाई व्यवस्थित र प्रभावकारी बनाइने तर शक्ति प्रदर्शनको स्वार्थ नराखिने बताए । ‘हामी शक्ति होइन शालीनता प्रदर्शन गर्छौ’, उनले भने ।

२. नीति होइन नेतृत्व

कांग्रेसको १४ औं महाधिवेशनमा नीतिभन्दा नेतृत्वमा बढी जोड दिइएको छ । हरेक ४ वर्षमा हुनुपर्ने महाधिवेशन विधान अनुसार थपेको १ वर्ष र संविधान बमोजिम प्राप्त ६ महिनाको सुविधामा पनि कांग्रेसले गर्न सकेन । यहीकारण पार्टीको वैधानिकता जोगाउनकै लागि नेतृत्व मात्रै चयन गर्नेगरी कांग्रेस महाधिवेशन हुन लागेको हो ।

कांग्रेस विधानले नीति र विधानका लागि छुट्टै महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको छ । १४ औं महाधिवेशनमा कांग्रेसको राजनीतिक प्रस्ताव समेत पेश हुनेछैन ।

हालसम्म केन्द्रीय समितिले गरेका निर्णय र विधान संशोधनका प्रस्तावहरुलाई महाधिवेशनले अनुमोदन भने गर्नेछ । महाधिवेशनमा नीति र विधानसम्बन्धी नयाँ प्रस्ताव पेश नहुने प्रवक्ता शर्माले जानकारी दिए ।

३. २९ वटा मतपत्र, मतदानकै लागि १ घण्टा

कांग्रेसको प्रचार विभागले विद्युतीय मतदानका लागि तयारी गरेपनि मतपत्रबाटै निर्वाचन हुने सम्भावना बढी छ । मतपत्रबाटै निर्वाचन गर्दा एकजना महाधिवेशन प्रतिनिधिले २९ थरी मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ ।

सभापति, पदाधिकारी, प्रदेश र समावेशी क्लष्टरका सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र आवश्यक पर्ने भएकोले निर्वाचनमा २९ वटा मतपत्र प्रयोग हुनेछ । एकजना महाधिवेशन प्रतिनिधिले मत दिन झण्डै १ घण्टा लाग्नेछ । ४ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गर्नुपर्ने भएकाले मतदानका लागि अधिक समय छुट्याउनुपर्ने देखिन्छ ।

निर्वाचन समितिले मतदान सकिएपछि सबैभन्दा पहिले सभापतिको मतगणना गर्नेछ । पहिलो चरणमा परिणाम नआए सभापतिका लागि दोस्रो चरणको मतदान गरेर सभापतिको नतिजा आएपछि मात्रै पदाधिकारी र सदस्यहरुको मतगणना हुनेछ ।

विद्युतीय मतदान नहुँदा कांग्रेस निर्वाचनको पूर्ण नतिजा आउन दश दिनभन्दा बढी समय लाग्ने देखिन्छ ।

४. ८ लाख ४० हजार कांग्रेसीको नेता छानिने

कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय नेतृत्व छान्न ४ हजार ५ सय बढी महाधिवेशन प्रतिनिधि काठमाडौंमा जम्मा हुनेछन् । यद्यपि उनीहरु कांग्रेसका ८ लाख ४० हजार १ सय ६ जना क्रियाशील सदस्यका प्रतिनिधि हुन् ।

कांग्रेसको कुल क्रियाशील सदस्य संख्या ८ लाख ४० हजार १ सय ६ रहेको छ । सबै क्रियाशील सदस्यले निर्वाचनबाट चुनेका क्षेत्रीय प्रतिनिधिहरुमध्येको निर्वाचनबाटै महाधिवेशन प्रतिनिधिहरु छानिएका हुन् । यसर्थ चौधौ महाधिवेशमा कांग्रेसमा औपचारिक रुपमा आवद्ध ८ लाख ४० हजार कार्यकर्ताको नेता छान्नेछ ।

५. कुन–कुन पदमा कति जना ?

कांग्रेस विधानले केन्द्रीय समितिको आकार १ सय ६७ सदस्यीय हुने व्यवस्था गरेको छ । जसमध्ये ३३ जना केन्द्रीय सदस्य महाधिवेशनबाट चुनिने सभापतिले मनोनीत गर्नेछन् । बाँकी पदाधिकारीसहित १ सय ३४ जनाका लागि महाधिवेशनमा निर्वाचन हुनेछ ।

कांग्रेस विधानले १ सभापति, २ उपसभापति, २ महामन्त्री, समावेशी क्लष्टरका आधारमा ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ ।

त्यस्तै खुल्लातर्फ ३५ जना केन्द्रीय सदस्य, खुल्ला महिलातर्फ ९ जना केन्द्रीय सदस्य, प्रदेशगत रुपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यस् प्रदेशगत रुपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य, त्यस्तै ४ महिलासहित ९ दलित, ७ महिला सहित १५ आदिवासी जनजाति, ६ महिलासहित १३ खसआर्य, ४ महिलासहित ९ मधेशी, २ महिलासहित ४ थारु, १ महिलासहित ३ मुस्लिम र पिछडिएको क्षेत्रबाट १ जना गरी ५४ जना केन्द्रीय सदस्य पनि निर्वाचित हुनेछन् । त्यस्तै अल्पसंख्यक र अपांगता भएका व्यक्तिबाट १–१ जना केन्द्रीय सदस्यका लागि पनि निर्वाचन हुनेछ ।

कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ जनालाई केन्द्रीय समितिले कोषाध्यक्षमा निर्वाचित गर्नेछ ।

६. महाधिवेशनको नारा

कांग्रेसले १४ औं महाधिवेशनका लागि छुट्टै नारासमेत तय गरेको छ ।

महाधिवेशन प्रचार समितिका संयोजक समेत रहेका प्रवक्ता शर्माका अनुसार ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने नारा तय गरिएको छ । महाधिवेशनको अधिकतम डिजिटल प्रचार गरिने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर