मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ? – Nepal Press

मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ?

काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलभित्र अनेकन बेथितिका चाङ छन् । तीमध्ये यात्रुहरूले भोग्नुपरेको साझा समस्या हो, ट्याक्सीको ठगी ।

विमानस्थलबाट ओर्लिएर बाहिरी सडकसम्मको दूरी मुस्किलले ५ सय मिटर छ । लगेजसहित आउनेहरूलाई १०-१५ मिनेट पैदल हिँडेर त्यहाँसम्म आइपुग्न कठिन हुन्छ । त्यसैले ट्याक्सी प्रयोग गर्नुपर्ने वाध्यता पर्छ । र, यस्ता यात्रुहरूबाट ट्याक्सीहरूले मनोमानी भाडा असुल्ने गरेका छन् ।

यही जनगुनासोलाई सम्बोधन गर्दै आजबाट सरकारले विमानस्थलभित्रै यात्रुवाहक बस सेवा सञ्चालनमा ल्याएको छ । त्यो पनि नि:शुल्करूपमा । अब ट्याक्सीलाई महंगो भाडा नतिरिकन विमानस्थल टर्मिनलबाट सडकको गोल्डेन गेटसम्म आइपुग्न सकिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २० दिनभित्र विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रुवाहक बस सेवा सुरू गर्न निर्देशन दिएका थिए । त्यसबमोजिम आजदेखि नि:शुल्क यात्रु बोक्न ३ वटा हायसहरू सञ्चालन गरिएका छन् । सेवा शुभारम्भका क्रममा मन्त्री आले आफैं विमानस्थलमा पुगेर हायस चढेका थिए ।

पहिले पनि ट्याक्सीले यात्रु ठगेको भन्दै विमानस्थलले प्रहरीलाई संचालनका लागि एउटा हायस दिएको थियो । मन्त्री आलेको निर्देशनपछि प्रहरीलाई दिएको सो हायससमेत फिर्ता ल्याएर सेवा सुरु भएको हो । सार्वजनिक खरिद ऐन अनुसार बस खरिद गर्न समय लाग्ने भएकाले आफैंसँग भएको हायस चलाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

‘प्रहरीलाई विमानस्थलभित्र आवतजावत गर्न सहज होस् भनेर दिएको हायस फिर्ता ल्याएर विमानस्थलको आन्तरिक टर्मिनलभित्रै सेवा दिएका हौं,’ उनले भने ।

अब नि:शुल्क बस सेवा संचालनमा आएपछि यात्रुहरू ट्याक्सीबाट नठगिने ठाकुरको दाबी छ ।

‘सबै ट्याक्सी चढ्न सक्षम हुँदैनन् । धेरै यात्रुहरू आफूले ल्याएको भारी बोकेर नै बाहिरी सडकसम्म आउने गरेका थिए । अब यात्रुले नि:शुल्क हायस चढ्न पाउँनेछन्,’ उनले भने ।

हायसको अगाडिको सिट सामान हाल्नका लागि झिकिएको छ । एउटा हायसमा १० जना यात्रु हटाउँछन् । अब अन्तर्राष्ट्रिय विमानबाट आएर झरेका यात्रुहरू आन्तरिक टर्मिनलमा आउन चाहे भने पनि त्यसैले ओसार्ने व्यवस्था मिलाउने तयारीमा विमानस्थल लगेको छ ।

पछिल्लो समय विदेशबाट आउने यात्रुहरूलाई तातो र चिसो पिउँने पानीको पनि व्यवस्था गरिएको छ । मन्त्रीको निर्देशनमा नै विदेशबाट आउने यात्रुलाई पिउँने पानी र बस्ने व्यवस्था गरेको ठाकुरले बताए ।


प्रतिक्रिया

One thought on “मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ?

  1. राम्राे कार्यकाे थालनी हाे । सबैले संरक्षण र प्रशंसा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर