मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र – Nepal Press

मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र

जनकपुरधाम । जिल्ला सरकारी वकिल कार्यालय सिरहाले मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरेको छ ।

सरकारी वकिल कार्यालय सहायक जिल्ला न्यायाधिवक्ता अनिल रेग्मीले मंसिर ८ मा ईप्रका मिर्चैयाका अनुसन्धान अधिकृत ईन्सपेक्टर अवध किशोर ओझालाई लेखेको पत्र आज सार्वजनिक भएको हो । उच्च सरकारी वकिल कार्यालय राजविराज, सप्तरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने निर्णय गरेकाले सरकारी वकिल कार्यालयले यादवलाई पक्राउ गर्न भनिएको छ ।

कोरोना संक्रमणका कारण गरिएको लकडानमा राहत वितरण गर्दा दुई पक्षबीच झडप भएको थियो । झडपमा मिर्चैयाका आमोद भनिने विजयकुमार यादव घाइते भएका थिए ।

उनले ज्यान मार्ने उदेश्यका साथ आक्रमण गरेको भन्दै प्रहरीमा मेयर यादव, शिवशंकर कापरी लगायतविरुद्ध उनीहरुले जाहेरी दिएका थिए । तर सरकारी वकिलको कार्यालयले मेयर साहमाथि मुद्दा नचलाउने निर्णय गर्यो । त्यसपछि पीडित भनिएका आमोद उच्च अदालत राजविराज पुगे ।

सरकारी वकिल कार्यालय सिरहाका अनुसार उच्च सरकारी वकिल कार्यालय राजविराज सप्तरीबाट ०७८ मंसिर ३ मा प्रतिवादी यादवउपर थप अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने निर्णय भएको छ । सो निर्णयबमोजिम यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी बयानका लागि पेश गर्न सरकारी वकिल कार्यालयले मिर्चैया प्रहरीलाई पत्राचार गरेको छ ।

पत्राचार गरेको ७ दिन बितिसक्दा पनि मिर्चैया प्रहरीले मेयर यादवलाई हाजिर हुन भनेका छैन । मेयर यादव भन्छन्, ‘राजनीतिक प्रतिशोधका कारण परमादेश जारी गराइएको छ । घटनाहुंदा म यहाँ थिइनँ । त्यही भएर प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने भनिसकेको थियो ।’

उनले हाजिर हुन पत्र नआएको र औपचारिक पत्र पाएपछि झुठो मुद्दाको फेस गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर