ओलीजी र म जेलदेखिका साथी हौं : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

ओलीजी र म जेलदेखिका साथी हौं : प्रधानमन्त्री देउवा (भिडिओ)

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन् ।

चितवनको नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।

‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दु:ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।

नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताए ।

‘हाम्रा असहमतिहरुलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ । त्यसलाई हामी सबैले स्वीकार्नुपर्दछ’, देउवाले भने । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग-अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर