प्राकृतिक प्रकोपले जोखिममा परेका बस्तीलाई बासस्थानको व्यवस्था गर्न काम भइरहेको छ: मन्त्री झाँक्री (भिडिओ) – Nepal Press

प्राकृतिक प्रकोपले जोखिममा परेका बस्तीलाई बासस्थानको व्यवस्था गर्न काम भइरहेको छ: मन्त्री झाँक्री (भिडिओ)

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् ।

उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताइन् ।

विहीबारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५ आँै योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताइन् ।

मन्त्री झाँक्रीले भनिन्,‘योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको छ । राष्ट्रिय योजना आयोगबाट तयार भएको १५ आैँ योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरुका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन् ।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सृजित समस्याले मानव बस्तीहरु जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताए । भूकम्प पछिको पुनःनिर्माणमा निजी घरहरुको पुनःनिर्माण लगभग सकिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘१८ हजार परिवारहरुको घर बनाउनु पर्नेमा १४ हजार परिवारहरुको घर निर्माण पूर्णरुपमा सम्पन्न भएको छ, उनीहरुले थर्ड ट्रान्जेक्शन पनि लिइसकेका छन्, नेपालमा अब प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले कुनै पनि बस्ती समस्यामा छैन । १२ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अब आउँदो दिनमा चाँडै नै बाँकी रहेका घर निर्माणको कामलाई सकेर विकासको निम्ति हामी अघि बढ्नेछौँ ।’

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुको बारेमा छलफल हुनेछ । सम्मेलनले दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिनेछ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर