राप्रपमा लिङ्देन-राणाको गठजोड, अध्यक्ष र महामन्त्रीमा उम्मेदवारी दिँदै – Nepal Press

राप्रपमा लिङ्देन-राणाको गठजोड, अध्यक्ष र महामन्त्रीमा उम्मेदवारी दिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने भएका छन् । पार्टीका प्रभावशाली धवलशम्शेर राणासँगको गठजोडमा उनले अध्यक्षको चुनाव लड्न लागेका हुन् ।

आज काठमाडौंको होटल एल्लो प्यागोडामा लिङ्देन-राणाको प्यानल घोषणा गरिँदै छ । राणाले महासचिवमा उम्मेदवारी दिने छन् । उनी नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत हुन् । हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रशाचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ । यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए ।

तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री लड्न तयार भएका छन् । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ । अन्य दुई अध्यक्षको अडान अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, राप्रपाको युवा पुस्तामा लिङ्देन बढ्दो रुपमा लोकप्रिय छन् । पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनने मत बलियो छ । लिङ्देन प्रदेशमा बलियो देखिएका छन् ।

सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र वागमती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।

पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् । राप्रपाको महाधिवेशन १५-१७ मंसिरमा हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर