फोटो खिचेरै १५ लाख कमाइ, प्रभावकारी बन्दै डिएसएलआर सेवा – Nepal Press

फोटो खिचेरै १५ लाख कमाइ, प्रभावकारी बन्दै डिएसएलआर सेवा

चितवन । भरतपुरका कुँवर दाजुभाइले घरदैलोमै पुगेर फोटोग्राफी सेवा दिने व्यवसाय गरेका छन् । भरतपुर महानगर–७ प्रेमबस्तीका सन्तोष र सन्देश कुँवरले डिएसएलआर सेवा अनलाइन मोबाइल एप सार्वजनिक गरेर घरदैलो सेवा सुरु गरेका हुन् ।

२०७५ वैशाखमा नारायणी नदीकिनार घुम्न आउनेको फोटो खिचेर मनग्ये कमाएका यी दाजुभाइले एपमार्फत बुकिङ लिएर व्यक्तिगत तथा परिवारका फोटाहरु खिच्न थालेका हुन् ।

उनीहरुले विवाह, व्रतबन्ध बाहेकका फोटाहरु खिच्ने गर्छन् । फोटोसुट गर्न उत्सवनै हुनुपर्ने मान्यतालाई हटाउन उनीहरुले यो काम थालेका हुन् ।

ग्राहकले बोलाएकै ठाउँमा पुगेर फोटो खिच्दै आएका उनीहरुले प्रतिफोटो ३० रुपैयाँ लिने गर्छन् । उनीहरुबाट वर्थ डे, एनिभर्सरी, बालबच्चा, परिवारको फोटो खिच्न पाइनेछ ।

उनीहरुले सञ्चालन गरेको डिएसएलआर सेवामार्फत देवघाट, नारायणी किनार, सौराहा लगायतका ठाउँलाई वेष्ट लोकेसनका रुपमा फोटोसुट गर्दै आएका छन् ।

उनीहरुले दिनभर फोटो खिच्नुपरे ४ हजार ५ सय देखि ८ हजार रुपैयाँ लिएर फोटोग्राफर उपलब्ध गराउँदै आएका छन् । ‘घुमफिर गर्दा स्तरीय क्यमेराबाट फोटो खिच्ने चाहना सबैको हुन्छ’, सन्तोषले भने, ‘बोलाएको स्थान र समयमा पुगेर फोटो खिच्दै आएका छौँ, फोटो खिच्न ग्राहकले क्यमारानै किन्नुपर्ने बाध्यता पनि हटेको छ ।’

एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर डिएसएलआर सेवा एप डाउनलोड गरी सजिलै बुकिङ गर्न सकिनेछ । पहिलोपटक बुकिङ गर्दा २५ प्रतिशत छुट सुविधा समेत घोषणा गरिएको छ ।

२४ वर्षका सन्तोषले स्नातक र २२ वर्षका सन्देशले प्रवीणता प्रमाणपत्र तहसम्म पढेका छन् । ४ वर्षयता उनीहरु फोटो खिच्ने व्यवसायमा रमाएका छन् ।

उनीहरुले सुरुमा १ लाख खर्चेर नारायणी नदी किनारमा घुम्ती फोटो सेवा दिँदै आएका थिए । त्यो बेला दैनिक २ सय ५० रुपैयाँदेखि १५ हजार रुपैयाँ कमाइ भएपछि करिब २ वर्ष नदी किनारमै केही युवालाई रोजगारी समेत दिएका थिए ।

पछि नदी किनारमा अन्य व्यक्तिले समेत फोटो सेवा सुरु गरेका थिए । फोटो खिचेरै उनीहरुले १५ लाख कमाएका छन् । पत्रकारिता पढेका सन्तोषले कान्तिपुर फिल्म एकेडेमीबाट फिल्म निर्देशन तालिम पनि लिएका छन् ।

उनीहरु डिएसएलआर सेवालाई देशभर बनाउने अभियानमा छन् । हाल यो सेवा चितवनको भरतपुर, सौराहा, माडी र विराटनगरमा विस्तार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर