बाढीपहिरोबाट भएको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त – Nepal Press

बाढीपहिरोबाट भएको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

बिहीबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन् । उनले बाढी पहिरोमा परि ज्यान गुमाउने परिवारप्रति समवेदना पनि व्यक्त  गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विपद्को यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेमा विश्वस्त रहेको बताइन् ।

यसैगरी प्रकोपबाट धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरेकी छन् ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आवह्रान गरेकी छन् ।

साथै, राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनु पर्ने समेत बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर