युवराज सिंह पक्राउ प्रकरणः के भनेर होच्याएका थिए चहललाई ? – Nepal Press

युवराज सिंह पक्राउ प्रकरणः के भनेर होच्याएका थिए चहललाई ?

एजेन्सी । प्रख्यात भारतीय क्रिकेटर युवराज सिंहलाई शनिबार भारतीय प्रहरीले पक्राउ गर्यो र जमानतमा छोड्यो । अर्का क्रिकेटर यजुभेन्द्र चहलमाथि घृणाजन्य टिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सिंहलाई हरियाणाको प्रहरीले हिजो पक्राउ गरेर ३ घन्टासम्म सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उच्च अदालतको आदेशबाट उनी जमानतमा छुटेका हुन् । युवराजले आफूविरुद्धको मुद्दा खारेजीका लागि पञ्जाब हरियाणा उच्च अदालतमा निवेदन दिएका थिए ।

गत वर्ष जून महिनामा लकडाउनका बेला क्रिकेटर सिंह अर्का क्रिकेटर रोहित शर्मासँगै इन्स्टाग्राम लाइभमा आएका थिए । अनौपचारिक कुराकानीका क्रममा उनले चहलको जातलाई होच्याउने शब्द प्रयोग गरेपछि विरोध सुरु भएको थियो । दुई महिनापछि ट्विटरमा ‘माफीमागो युवराज’ ट्रेन्डिङमा समेत आयो ।

विवादपछि सिंहले आफ्नो उद्देश्य कसैलाई चोट पुर्याउने नभएको भन्दै माफीसमेत मागेका थिए । तर, पनि विवाद सुल्झिएन ।
आठ महिनापछि गत फेबु्रअरीमा अधिवक्ता रजन कल्सनले हरियाणाको हंसी पुलिस स्टेसनमा सिंहविरुद्ध सेडु्यूल कास्ट एक्टअन्तरगत एफआइआर दर्ता गरे ।

एफआइआरमा युवराजले दलित समुदायप्रति अनादरपूर्ण टिप्पणी गरेको भन्दै उनलाई पक्राउ गर्न माग गरिएको थियो । प्रहरीले उनीविरुद्ध एसटी एक्ट अन्तरगत नै मुद्दा समेत दायर गर्यो । त्यसपछि सिंहले आफूमाथि लागेको आरोप गलत भएको बताउँदै एफआइआर खारेज गर्न पञ्जाब र हरियाणा उच्च अदालतमा अपिल गरे ।

सिंहको अपिलमाथि सुनवाइ गर्दै हरियाणा उच्च अदालतले सिंह अनुसन्धानमा सहयोग गर्न आउँदा हरियाणा प्रहरीले उनलाई पक्राउ गर्न सक्ने र लगत्तै उनले जमानत पाउने आदेश सुनाएको थियो । त्यसबमोजिम सिंह शनिबार हरियाणा उच्च अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको थियो । लामो सोधपुछपछि उनलाई अन्तरिम जमानतमा छोडियो । उनी जेल बस्नु नपरे पनि तारेख धाउनुपर्ने छ । अर्को सुनवाइ १८ नोभेम्बरमा हुने छ ।

के भनेका थिए ?

युवराज र रोहितको कुराकानीका क्रममा यजुवेन्द्र चहलको टिकटकको प्रसंग निस्केको थियो । चहलले आफ्नो टिकटकमा बुवालाई समेत नाच्न लगाएको भन्दै रोहितले मजाक उडाएका थिए ।

उनले भनेका थिए, ‘मैले यसलाई सम्झाएको थिएँ, तँ आफ्नो बाउलाई नचाएर बस्छस । पागल त भइनस साले ।’
रोहितको मजाकमा थप्दै युवराजले भनेका छन्, ‘यी भंगी मानिसहरुको केही काम छैन (ये भंगी लोगका कोही काम नही है) ।’

यहाँ उनलाई एउटा शब्दले डुबाएको छ– भंगी । यो शब्द भारतमा उच्च जातकाले अछुत भनिने एउटा दलित जातिलाई होच्याउन प्रयोग गर्छन् । ‘भंगी’ लाई सजिलो भाषामा ‘फोहोरी’ भनेर बुझ्न सकिन्छ ।

यस जातका मानिसहरु विगतदेखि नै उत्पीडित छन् । पहिले–पहिले उनीहरुले फोहोर उठाउने, ट्वाइलेट सफा गर्ने र लाशको व्यवस्थापन गर्नेजस्ता काम मात्रै पाउँथे । अहिले भने यस जातका युवाहरुले अन्यत्र पनि काम पाउन थालेका छन् । चहल यही जातका सदस्य हुन् ।

युवराज र रोहितबीच भएको कुराकानीलाई लिएर पनि उनले पनि चित्त दुखाएका थिए । यद्यपि, कानूनी प्रक्रियामा भने गएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर