दसैंको मुखमा चिमचिमे नाकामा पहिलोपटक पुग्यो विजुली – Nepal Press

दसैंको मुखमा चिमचिमे नाकामा पहिलोपटक पुग्यो विजुली

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको दाङ देउखुरी गढवा गाउँपालिकाको एक गाउँमा विद्युत पुग्दा स्थानीय खुसी छन् ।

दसैंको मुखमा गढवा गाउँपालिका वडानम्बर २ चिमचिमे नाकाका ८५ घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्थाबाट उज्यालो बाल्नुपरेको थियो ।

भारतसँग सीमा जोडिएको गढवाको सबैभन्दा विकट वडा मानिने वडानम्बर २ को चिमचिमे नाकामा पहिलो पटक विद्युत् पुग्दा नाकाबासीहरु हर्षित छन् ।

विजुली वत्तीको उद्घाटन हुने भनेपछि लठ्ठीको सहारामा कार्यक्रमस्थल पुगेका स्थानीय ७३ वर्षीय तुलाबहादुर रोकायले विजुली बत्तीले बाल्न पाएपछि निकै खुसी भएको बताए ।

उनले विगत सम्झिँदै भने, ‘पहिला उज्यालोको व्यवस्था गर्नका लागि झर्को ल्याउन जंगल जाँदा एक दिन पूरै काट्नु पर्थ्‍याे । किताव पढ्नका लागि पनि त्यसैले उज्यालो बनाइ पढ्थ्याैं । हामी त्यो बेला घरमा कुराकानी गर्दा अब हामी मरेपछि आउँछ होला विजुली भनेर कुराकानी गर्थ्याैं ।’

अहिले बूढेसकालमा आफ्नै हातले विजुल्ली बाल्न पाउँदा आफैंलाई खुसी महशुस भएको छ, उनले सुनाए ।

गाउँमा बत्ती बलेपछि घरमा उज्यालो मात्र नभई पढ्नलाई समेत आफूहरुलाई समेत सजिलो भएको स्थानीय टंकबहादुर थापाले बताए । गतवर्षदेखि विद्युत् विस्तार कार्य सुरु भएको केन्द्रीय सरकारको दुई करोड र वडाको एकलाख सहयोगमा चिमचिमे नाकामा बत्ति बलेपछि गाउँ उज्यालो मात्र नभइ आगामी दिनहरुमा स–साना घरेलु उद्योगहरु संचालन गरी बढीभन्दा बढी फाइदा लिन सकिने र दिगो व्यवस्थापनको लागी समेत वडाबाट हुने सहयोगमा आफू सदैव लागि पर्ने गढवा गाउँपालिका वडानम्बर २ का वडाध्यक्ष भक्तुराम चौधरीले बताए । चिमचिमे नाकामा पहिलो पटक बत्ति बल्ने हो भनेपछि, स्थानीयहरुले दुई लाख बराबरको श्रमदानपछि बत्ति बाल्न सफल भएको उनले बताए ।

यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको गाउँका स्थानीयवासी रामवरण चौधरीले बताए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही शाखाले ५० किलोवाट क्षमता भएको विद्युतले ८५ घरधुरीले बिजुली बालिरहेका छन् ।

नाकाका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी कुसुम चौधरीका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर गढवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो ।

कालाकाटे डढवा सडकदेखि चिमचिमे नाकामा ८ किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेज विद्युत् प्रभाव भइरहेको छ । नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र लमहीका प्रतिनिधि अर्जुन यादवले ३३ वटा मिटर निकासी मध्य अहिलेसम्म चिमचिमे नाकाको २० वटा घरमा मिटर जडान गरिएको जानकारी दिए । उनले अव अन्य थप ५६ वटा मिटर जोड्न बाँकी रहेको बताए ।

मन्त्री चौधरी पुगे उद्घाटन गर्न

केही दिनअघि मात्रै मन्त्री बनेका लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले चिमचिमे नाकामा पुगेर विद्युत् वत्तीको उद्घाटन गरे । मन्त्री थारुले दशैँको मुखमा झिलिमिलि चिमचिमे बनाउने लक्ष्य पूरा भएको बताउँदै विकासको पूर्वाधार विद्युत् महत्वपूर्ण आधार भएको बताए ।

मन्त्री थारुले सबैको सहयोगले मात्रै विकास सम्भव भएको र नमुना गाउँ बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । ‘दुर्गम क्षेत्रमा विकास पुर्‍याउने उद्देश्य र हाम्रो राजनीति र विचार पनि त्यही नै भएको हुनाले ठगिएका बस्ती र दुर्गम क्षेत्रलाई प्राथामिकता दिएर अगाडि बढेका छाँै, सीमाक्षेत्रमा खानेपानीको समस्या समाधानको लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्नेछौँ, मन्त्री थारुले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर