तरलता अभावबीच बैंकमा बढ्यो निक्षेप, ३८ अर्ब संकलन हुँदा ३९ अर्ब लगानी – Nepal Press

तरलता अभावबीच बैंकमा बढ्यो निक्षेप, ३८ अर्ब संकलन हुँदा ३९ अर्ब लगानी

निक्षेप बढ्नुमा यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीडी अनुपात ९० प्रतिशत कायम गरेपछि पछिल्लो समय बैंकिङ प्रणाली तरलता अभावबाट गुज्रिरहेको छ ।

राष्ट्र बैंकले गत साता रिपोमार्फत ३० अर्ब बजारमा पठाएको थियो । तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाले निक्षेप खोसाखोस गर्ने रणनीतिअनुसार मुद्दती तथा साधारण बचतको ब्यादजर उच्चरूपमा बढाएका छन् ।

केही बैंक तथा वित्तीय संस्थाले त महिनाको बीचमा पनि ब्याजदर बढाएकै कारण बैंकर्स संघको बैठक आव्हान गरेर राष्ट्र बैंकले कानूनविपरीत घटाउन निर्देशन दिएको थियो ।

बैंकिङ प्रणालीमा भदौ महिनामा नै तरलता अभावको समस्या हुन थालेकाले अन्तरबैंक सापटी लिनेक्रम बढेपछि अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशतको हाराहारीमा पुगेको थियो । यसैगरी बैंकहरूले ५ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमार्फत एसएलएफमार्फत रकम प्रयोग गर्नेक्रम पनि बढिरहेको छ ।

असोजको दोस्रो साता भने बैंकिङ प्रणालीमा तरलता अभावको चाप घटेको देखिन्छ । कर्जा प्रवाह र निक्षेप संकलन बाराबरी अवस्थामा छ । गत साता नेपालको बैंकिङ प्रणालीमा ३८ अर्ब निक्षेप संकलन हुँदा ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सरकारले खर्च बढाएका कारण यो साता निक्षेप बढेको छ । गत साता सरकारले करिब ६२ अर्ब खर्च गरेकोमा १८ अर्ब ५० करोडमात्रै राजस्व संकलन गरेको छ ।

यसैगरी दसैँलक्षित बजारका कारण पनि आर्थिक गतिविधि चलायमान हुँदा निक्षेप बढेको जानकारहरू बताउँछन् । चाडबाडको सायमा रेमिटान्स भित्रिने क्रम बढेसँगै निक्षेप पनि बढेको छ । असोजको पहिलो साता ८ अर्ब निक्षेप संकलन हुँदा ३१ अर्ब कर्जा लगानी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर