माधव नेपालसँग गोविन्द बन्दीको तारन्तार भेट, बन्लान् त मन्त्री ? – Nepal Press

माधव नेपालसँग गोविन्द बन्दीको तारन्तार भेट, बन्लान् त मन्त्री ?

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट बढाएका छन् । बुधबार मात्रै उनले माधव नेपालसँग दुई पटक भेट गरे ।

नेपाल निकट स्रोतका अनुसार बन्दी नेपाललाई भेट्न बिहानै नेकपा एसको पार्टी कार्यालय पुगेका थिए । त्यस्तै बुधबार साँझ पनि उनले नेपालसँग भेट गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक साढे ५ बजेपछि बोलाइएको थियो । तर, माधव नेपाल दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई साढे चार बजेतिरै स्थगित गराएर निस्किएका थिए । त्यो एक घण्टाको बीचमा नेपाल र बन्दीबीच भेटघाट भएको स्रोतले बतायो ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि भन्दै माधव नेपाल स्वयं उनलाई मन्त्री बनाउन चाहन्छन् । नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै सत्तारुढ गठबन्धनका नेताहरुलाई एकजना कानूनी पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

उक्त कुराको जानकारी प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा गराएका थिए। ‘माधवजीले संसद बाहिर रहेका एकजना कानूनविदलाई मन्त्री बनाउनुपर्यो भन्नुभएको छ’ भनेर देउवाले नेताहरुलाई सुनाएका थिए ।

बन्दीलाई यसअघि केपी ओली सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानेका थिएनन् । बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्वन्द्वकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्डले उनीसँग ‘कम्फरटेबल’ महशुस गरेका थिएनन् ।

तर पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले प्रचण्ड पनि उनीसँग प्रभावित भएका छन् । बन्दीको माधव नेपालसँग पारिवारिक नातासमेत छ । नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ-साँढु भाइ हुन् ।

द्वन्द्वकालीन न्यायाका राम्रा जानकार बन्दीलाई मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुंग्याउन सत्ता गठबन्धनका नेताहरु समेत सहमत हुने बताइन्छ । त्यस्तो सहमति भएमा ६ महिनाका लागि उनी मन्त्री हुने छन् र उनले कानून मन्त्रालयलको जिम्मेवारी पाउने छन् ।

कानून मन्त्रालय अहिले नेपाली कांग्रेसले लिइरहेको छ । बन्दीलाई मन्त्री बनाउने सहमति गठबन्धनमा भएको खण्डमा ज्ञानेन्द्र कार्कीलाई अन्य मन्त्रालय दिएर मिलाइने छ।

यो पनि पढ्नुस्:

शान्ति प्रक्रिया टुंग्याउन गोविन्द बन्दीलाई ६ महिने मन्त्री बनाइँदै !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर