पदक अस्वीकारको लहरः चार सञ्चारकर्मीद्वारा नलिने घोषणा – Nepal Press

पदक अस्वीकारको लहरः चार सञ्चारकर्मीद्वारा नलिने घोषणा

काठमाडौं । चार सञ्चारकर्मीले संविधान दिवसका अवसरमा सरकारद्वारा घोषणा गरिएको मानवपद्वी लिन अस्वीकार गरेका छन् । आफूहरूको जानकारीबिना पदक पाउनेको सूचीमा समावेश गरेको भनेर उनीहरूले बेग्लाबेग्लै स्पष्टीकरण दिएका छन् ।

नयाँ पत्रिकाका अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कार्टुनिष्ट रविन सायमी, इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापा र नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृतले पदक नलिने भन्दै फेसबुकमा स्टाटस लेखेका हुन् । उनीहरुले आ-आफ्ना तर्क प्रस्तुत गरेका छन् ।

सुप्रवल जनसेवाश्री पदक पाएका देवकोटाले पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक नहुने उल्लेख गरेका छन् ।

‘नेपाली पत्रकारितामा थोरै भए पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ,’ उनले लेखेका छन् ।

सुप्रबल जनसेवाश्री पदक पाएका हरिबहादुर थापाले आफूलाई सोध्दै नसोधि नाम राखिएको भन्दै अस्वीकार गर्ने बताएका छन् ।
‘राज्यले सम्मान नै गर्नुहुन्न भन्न होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुलाबहस हुनुपर्छ । विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रवल जनसेवाश्री पाएका कार्टुनिष्ट सायमीले हाललाई या पुरस्कार नलिने निर्णय गरेको बताएका छन् । प्रजातान्त्रिक सरकार पनि अझै पदक दिने मामलामा गोरखादक्षिणबाहु प्रवृत्तिबाट मुक्त हुन नसकेकाले यो निर्णय गरेको उनको भनाइ छ ।

प्रबल जनसेवाश्री पदक पाएका अमृतले भागबण्डामा दिइने पुरस्कार अस्वीकार गर्ने बताएका छन् । मानपदवी, विभूषण र अलंकार वितरण प्रक्रिया अपारदर्शी भएकोमा भन्दै उनले आफ्नो नाम झिकिदिन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *