एमालेले भन्यो- प्रतिपक्षमाथि दोष थोपरेर सरकारले सुतुरमुर्ग चाल देखायो – Nepal Press

एमालेले भन्यो- प्रतिपक्षमाथि दोष थोपरेर सरकारले सुतुरमुर्ग चाल देखायो

प्रतिस्थापन विधेयकका नाममा वित्तीय अनुशासन उल्लंघन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले गठबन्धन सरकार सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको बताएको छ ।

बजेट पारित गर्ने प्रमुख दायित्व रहने वर्षे अधिवेशन बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरिएको टिप्पणी गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ ।’

प्रतिनिधिसभाको बैठक शुरू भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै नबनेको भन्दै एमालेले यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद अधिवेशन स्थगित गरिएको आरोप लगाएको छ ।

‘दल विभाजनसम्बन्धी अध्यादेश जारी हनपर्व नै प्रतिपक्षी दलका सांसदहरूमाथि गरिएको कारवाहीको सूचना प्रकाशित नगरी दल विभाजनलाई प्रोत्साहन दिने काम सभामखका तर्फबाट भयो । सरकार र सभामुखका तर्फबाट भएका अनचित र गैरकानूनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएको पदीय मर्यादाविपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको छ । तर समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारवाही अघि बढाउने काम भइरहेको छ । आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्सेझै हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ । यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो ।’

आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारण आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुन पुगेको एमालेको निष्कर्ष छ । प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको भन्दै विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी सडक आयोजना कटौती गरेर सरकारले गैरजिम्मेवापूर्ण काम गरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर