माडीका स्थानीयको प्रचण्डलाई प्रश्न: सुरुङमार्ग र आकाशेपुलको नारा भोट तान्न मात्रै थियो ? – Nepal Press

माडीका स्थानीयको प्रचण्डलाई प्रश्न: सुरुङमार्ग र आकाशेपुलको नारा भोट तान्न मात्रै थियो ?

चितवन । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा चुनाव जित्नका लागि बाँडेको एउटा लोकप्रिय योजना थियो, चितवन राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग र आकाशेपुल बनाउने । माडीका नागरिकलाई भरतपुरसम्म आउजाउ गर्न सजिलो हुने गरी उक्त मार्ग बनाउने बचन दिएपछि त्यहाँका स्थानीयले प्रचण्डलाई भोट हाले । परिणामतः उनले चुनाव जिते । तर, चुनाव जितेको चार वर्ष हुनलाग्दा पनि सुरुङमार्ग र आकाशेपुल बनाउने प्रक्रियासमेत सुरु भएको छैन ।

रणनैतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण शीर्षकमा आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ मा यहाँ सुरुङमार्ग र आकाशेपुल बनाउन ५०–५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । तर, काम भने भएन ।

भरतपुर महानगर र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशेपुलका लागि बजेट छुट्याएपछि यहाँका स्थानीय खुसी भएको थिए । तर, काम नभइ बजेट फ्रिज भएपछि स्थानीय निराश भएका छन् ।

युनेस्कोले सजिलै निकुञ्जभित्र सुरुङमार्ग वा आकाशे पुल बनाउन अनुमति नदिने प्रष्टै छ । २४ सै घण्टा निकुञ्ज वारपार गर्न माडीबासीले पाउँदैनन् । विकास निर्माण तथा सुकुमबासी बस्ती व्यवस्थापनका काममा माडी नगरपालिका र निकुञ्जबीच बेलाखबत जुहारी चल्दै आएको छ ।

सुरुङमार्ग या आकाशेपुल छाडेर अहिले बाटो सुधारको काम भइरहेको छ ।सघन सहरी विकास कार्यालयले यहाँको बाटोका लागि ४८ लाख रुपैयाँमा वजेट विनियोजन गरेको छ । त्यसमा २० प्रतिशत जनश्रमदान गर्नुपर्ने भनिएको छ ।

वनकट्टा–कसरा बाटो मर्मत तथा स्तरोन्नति उपभोक्ता समिति बनाएर असारमा काम थालिएको छ । वनकट्टा पोष्टदेखि करिब १२ सय मिटर परदेखि देउराली घोलसम्मको ३ दशमलव ४ किमि बाटो कालोपत्रे जस्तै बनाइने योजना छ । जसमध्ये अब डेढ किमि काम बाँकी छ ।

यो खण्डमा ग्रेडिङ, रोलिङको काम गरेर ग्राबेल राखेर फेरि रोलिङ गरिनेछ । झट्ट हेर्दा पीच गर्न ठिक्क पारिएको बाटो जस्तो हुनेछ । १० सेमी मोटो बेसको ६ मिटर फराकिलो बाटो तयार हुनेछ । तर, ध्रुव पोष्टदेखि कसरा पोष्टसम्मको बाटो भने मर्मत मात्रै गरिनेछ ।

माडी नगरपालिका १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल निकुञ्जभित्रको सडक धुलोमुक्तमात्रै बनेपनि खुशी हुने बताउँछन् । ‘सुरुङ मार्ग वा आकाशे पुललाई चुनावी नारा बनाए’, ‘८ मिटर फराकिलो धुलोमुक्त बाटो बनेको दिन खुशी हुन्छौं ।’

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पौडेल २०७६ फागुन ७ गते ८ दिनसम्म ७ सुत्रीय माग राखेर आमरण अनसन बसेका थिए ।

एमाले माडीका सचिव नारायण अधिकारी प्रचण्डले माडीका जनतालाई झुक्याएको बताउँछन् । ‘फेरि चुनावी नारा बनाउलान् कि !’, उनी भन्छन्, ‘डिपिआर गर्न पनि ध्यान दिएनन्, न बजेटनै प्रयाप्त छुट्टाए ।’

करिब ७ वर्ष निकुञ्जभित्रको बाटो मर्मतको नेतृत्वमा थिए उनी । उनकै नेतृत्वमा २ वर्ष पहिले निकुञ्जको बाटो मर्मत गरिएको थियो ।

उनी निकुञ्जभित्रको करिब ४ किलोमिटर खण्डमा आकाशेपुल बनाउन सुझाउँछन् । देउराली घोलदेखि धु्रव पोष्ट करिब ४ किमि क्षेत्रमा वन्यजन्तुको चहलपहल बढी भएकाले सो खण्डमा आकाशे पुल बनाए राम्रो हुने उनको बुझाइ छ ।

विगतमा माडीमा विद्युतीकरण गर्दा होस् या राप्तीमा पुल बनाउँदा निकुञ्जकै कारण अवरोध भएको थियो । माडी–ठोरी हुलाकी सडकमा पुल तथा सडक कालोपत्रे गर्न खोज्दा पनि निकुञ्ज ऐन आकर्षित भएर नगरपालिकासित द्वन्द बढेको थियो ।
चुनाव जितेपछि बेलाबखत माडी आउने गरेका प्रचण्डले निकुञ्ज ऐन संशोधन गरेर जनमैत्री बनाउने आश्वासन बाँड्न छाडेका छैनन् ।

नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज २०४१ सालमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत भएको थियो ।

चुनावताका प्रचण्डले के भनेका थिए ? हेर्नुहोस् भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर