ट्रकमा लिफ्ट मागेर बुटवल जाँदै गरेकी महिलाको ट्रकभित्रै पटकपटक बलात्कार – Nepal Press

ट्रकमा लिफ्ट मागेर बुटवल जाँदै गरेकी महिलाको ट्रकभित्रै पटकपटक बलात्कार

पर्सा । ट्रकमा लिफ्ट दिने बाहनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका ६ बस्ने २५ वर्षीय शिववालक महत्तो रहेका छन् ।

काठमाडौं कलंकीबाट असार २७ गते विहान बुटवल जान २ वर्षीय छोरा सहित ना ५ ख २८७० नम्बरको ट्रकमा गएकी थिइन् । तर नारायणगढ मुग्लिन सडकमा जाममा परेपछि ट्रक चालक सुनिलले ट्रकभित्रै बलात्कार गरे । र उनलाई सोही ट्रकमा चितवन रामनगरसम्म ल्याई असार २९ गते दिउँसो पुन ना६ ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको खुल्न आएको छ ।

साथै उक्त ना ६ ख ३३६९ नम्बरको ट्रकका चालक शिववालकले वुटवल जाने भनि वीरगंजतर्फ लगि शिववालक, सोही ट्रकका सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक बलात्कार गरेर असार ३० गते वीरगंज महानगरपालिका १७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी छोडेर फरार भएका थिए ।

महिलालाई अलपत्र अवस्थामा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्दार गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालक लगायतका व्यक्तिहरुले बलात्कार गरेको खुलेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया

One thought on “ट्रकमा लिफ्ट मागेर बुटवल जाँदै गरेकी महिलाको ट्रकभित्रै पटकपटक बलात्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *