नेपालमा २६ जनामा कालो ढुसी संक्रमण पुष्टि, औषधि नहुँदा उपचारमा समस्या – Nepal Press

नेपालमा २६ जनामा कालो ढुसी संक्रमण पुष्टि, औषधि नहुँदा उपचारमा समस्या

काठमाडौं । कोरोना बिरामीमा प्रकोपको रुपमा देखिएको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमण नेपालमा अहिलेसम्म २६ जना बिरामीमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी भर्ना भएका छन् ।

भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले जानकारी दिए । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने हुने गरेको उनले जनाए ।

कालो ढुसी भएका एक बिरामीले अहिलेसम्म ज्यान गुमाएका छन् भने दुईजनाको आँखा निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको समेत उनले जनाए । उक्त औषधि उपलब्ध नहुँदा अहिले बिरामीले पोसाकोनाजोल नामक वैकल्पिक औषधि प्रयोग गरिरहेका छन् ।

एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ । औषधि महंगो हुने भएकाले समेत नेपालले खरिद प्रक्रिया अघि बढाउन सकेको छैन भने विकल्पमा पोसाकोनाजोल औषधिलाई प्रयोग गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर