कृष्णप्रसाद हत्याको १७ वर्ष : न्याय नपाएसम्म संघर्ष गरिरहने आमा गंगामायाको चेतावनी – Nepal Press

कृष्णप्रसाद हत्याको १७ वर्ष : न्याय नपाएसम्म संघर्ष गरिरहने आमा गंगामायाको चेतावनी

काठमाडौं । छोराको न्यायको लागि अनसनरत गोरखाकी गंगामाया अधिकारीले  दोषीहरूलाई  कारबाही नगरुन्जेल  संघर्ष जारी राख्ने बताएकी छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले घटनाको पुनः अनुसन्धान गर्न अन्तर्राष्ट्रिय मानवअधिकार संघठन तथा संयुक्त राष्ट्रसंघलाई आग्रह गरेकी छन् ।

२०६१ साल जेठ २४ गते आजकै दिन गंगामायको १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले अपहरणपश्चात् चितवनको बकुल्लहर चोकमा निर्ममतापूर्वक हत्या गरेका थिए ।

उनले घटनाको अनुसन्धानमा सहयोग गर्ने, घटनाको सत्यतथ्य स्थापित गर्ने र घटनामा जिम्मेवार रहेकाहरूलाई सजाय दिने व्यक्ति र निकायले नै अपराधीलाई संरक्षण गरेको देख्दा आफू थप पीडित भएको बताएकी छन् ।

आफूले आफ्नो पीडा सुनाउँदा पनि सबैले सहानुभूति व्यक्त गरे तर ठोस काम नगरेकी गुनासो गरेकी छन् । ‘किनकि मेरा छोरालाई मार्ने व्यक्तिहरू माओवादी पार्टीका कार्यकर्ता थिए र उनीहरू शक्ति र सत्तामा थिए,’ विज्ञप्तिमा भनेकी छन् ।

गंगामाया र उनका पति नन्दप्रसाद अधिकारी २०६८ माघ २२ गतेदेखि आमरण अनसन सुरु गरेका थिए । अनसकनकै क्रममा २०७१ असोज ६ गते नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।

‘आफ्ना प्रिय निर्दोष छोराछोरी तथा आफन्त मारिएका तर न्यायका लागि संघर्ष गर्न नसकेका सबै आमाबुबा तथा आफन्तजनको पीडा अनुभव गर्न म सरोकारवाला व्यक्ति तथा संस्था समक्ष अपील गर्दछु,’ उनले भनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *