पत्रकार महासंघको राहत कोषमा बलेफी गाउँपालिकाको एक लाख सहयोग – Nepal Press

पत्रकार महासंघको राहत कोषमा बलेफी गाउँपालिकाको एक लाख सहयोग

१५ लाख संकलन, संक्रमितका लागि खर्च गरिने

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले स्थापना गरेको पत्रकार महासंघ कोभिड–१९ राहत कोषमा बलेफी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

बलेफी गाउँपालिकाको आइतबार सम्पन्न कार्यपालिकाको बैठकले पत्रकार महासंघले आम पत्रकार र जिल्लाबासीको लागि सुरु गरेको अभियान राम्रो भएकाले सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

कोभिडको दोस्रो भेरियन्ट सुरु भएपछि पत्रकार महासंघसँग आवद्ध पत्रकारहरु र अन्य संक्रमितहरुको लागि भन्दै पत्रकार महासंघ सिन्धु शाखाले राहात कोषको सुरुवात गरेको थियो । कोष स्थापना भएपछि स्वदेश र विदेशमा रहने सिन्धुबासी लगायत अन्य क्षेत्रबाट स्वस्फुर्त रुपमा सहयोग आउने क्रम सुरु भएको थियो ।

संस्थागत रुपमा नै स्थानीय सरकारहरुको तर्फबाट भने बलेफी गाउँपालिकाले पहिलोपटक सहयोग गरेको पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए । महासंघले स्थापना गरेको कोषमा हालसम्म करिब १४ लाख रुपियाँ संकलन भएको छ ।

व्यक्तिगत रुपमा नेकपा एमालेका नेता भोटेकोशी गाउँपालिकामा अध्यक्षका उमेदवार छिरिङ शेर्पा र माओवादी नेता नकुल नेपालले एक/एक लाख यसअघि नै प्रदान गरेका थिए ।

पत्रकार महासंघले कार्यविधि बनाएर संकलन भएको रकमबाट ४० प्रतिशत अन्य सर्वसाधरण र ६० प्रतिशत पत्रकार महासंघमा आवद्ध सदस्यहरुका लागि खर्च गर्ने महासंघका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।

जिल्लामा अक्सिजनको समस्या भएपछि पत्रकार महासंघले सुनसरी जिल्लामा पुगेर १ सय ४२ थान अक्सिजन भरेर सिन्धुपाल्चोकमा ल्याएको थियो । चौतारा अस्पताल र सिन्धु सदाबहार अस्पताललाई २५–२५ थान र बलेफी गाउँपालिकाको जालवारीमा रहेको आइशोलेसनमा १० थान भरिएको सिलिण्डर प्रदान गरिएको महासंघका सचिव विदुर आचार्यले जानकारी दिए ।

जिल्लाका सबै आइशोलेसनमा रहेका संक्रमित बिरामीहरुका लागि स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा लिएर जाने तयारी भैरहेको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर