एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो – Nepal Press
राष्ट्रियसभा उपचुनाव

एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सत्तारुढ नेकपा एमालेविरुद्ध अन्य चार दलले सामूहिक मोर्चा बनाएर लड्ने भएका छन् ।

आगामी जेठ १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदार मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै दलहरूले आफ्नो-आफ्नो तयारी गर्न थालेका हुन् ।

निर्वाचन कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । यो निर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले यसअघि माओवादीबाट एमालेमा प्रवेश गरेर सोही पदबाट पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए ।

तर अन्य दलले भने सामूहिक गठबन्धन बनाएर एकल उम्मेदार बनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह तथा जनमोर्चाले एमालेबाट लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदार बनाउने निर्णय गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गठबन्धन बनाएका ती दलले यो चुनावमा सामूहिक उम्मेदारको घोषणा गरेका थिए ।
जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले गठबन्धनका उम्मेदार दीर्घनाराण पाण्डेयलाई मतदान गर्ने पार्टीले निर्णय गरेको बताए ।

निर्वाचन आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

लुम्बिनीमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।

नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीय तहका पदाधिकारीलाई पार्टी एकाकाररूपमा अगाडि बढिसकेकाले एमालेको एकल मतभार बलियो भएको एमाले नेता भूमिश्वर ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर