आरोहीलाई कोभिड संक्रमण भयो भन्ने हल्लालाई पर्यटन मन्त्रालयले गर्यो खण्डन – Nepal Press

आरोहीलाई कोभिड संक्रमण भयो भन्ने हल्लालाई पर्यटन मन्त्रालयले गर्यो खण्डन

काठमाडौं । सगरमाथालगायत अन्य हिमालमा चढ्ने आरोहीमा कोभिड संक्रमण फैलिएको भन्ने समाचारलाई पर्यटन मन्त्रालयले खण्डन गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको खण्डन गरेको हो ।

मन्त्रालयका अनुसार सन् २०२१ को ‘स्प्रिङ सिजनमा’ विभिन्न ७१ देशका ७४५ जना आरोहीलाई हिमाल आरोहणका लागि अनुमति दिएको थियो । तर, अहिले बाहिर हल्ला भएजसरी आरोहीलाई स्वास्थ जोखिम भएको जानकारी मन्त्रालयमा आएको छैन् ।

साथै अहिले सबै आरोही हिमाल चढ्नका लागि पूर्व तयारीमा जुटेको पनि मन्त्रालयले जानकारी दिएको छ । हिमाल चढ्न जाने आरोहीलाई पीसीआर रिपोर्ट हेरेर मात्र अनुमति दिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरे अनुसार आरोहीका हरेक क्रियाकलाप, तथा महत्वपूर्ण घटना आदिका बारेमा जानकारी लिन प्रत्येक आरोही दलमा एक जना सम्पर्क अधिकृत पनि तोकिएको छ । जसले आफ्ना दलमा भएका सबै घटनालाई पर्यटन विभाग र मन्त्रालयमा जानकारी गराउने छन् ।

आधिकारिक निकायबाट हिमाल आरोहणमा जाने आरोहीलाई कोभिड लागेको जानकारी मन्त्रालयले प्राप्त नगरेको अवस्थामा सरकारी निकायसँग कुनै पनि समन्वय नगरी भ्रमपूर्ण समाचार फैलाएकोमा मन्त्रालयले आक्रोस पोखेको छ । यस्ता भ्रमपूण समाचारले पर्वतारोही र उनका परिवारमा त्रास फैलाउने गरी अपुष्ट समाचार छाप्ने काम बन्द गर्न पनि विभागले सम्वन्धित निकायलाई आग्रह गरेको छ ।

यस्ता समाचार प्रकाशन गर्दा आधिकारिक निकायबाट जानकारी लिएर मात्र समाचार सम्प्रेशण गर्न सम्बिन्धित निकायलाई मन्त्रालयले प्रष्ट पारेको छ । अहिलेको स्वास्थ प्रतिकुल अवस्थामा पदयात्री र पर्वतारोहीलाई उद्धार गरि सुरक्षित गन्तव्यमा पुर्याउन र त्यसको व्यवस्थापनका लागि पर्यटन मन्त्रालयले कोभिड संकट सहजीकरण एवं समन्वय इकाइ समेत गठन गरेको पनि मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर