मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित (विज्ञप्तिसहित) – Nepal Press

मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका स्थानीयबासी तथा आयोजना प्रभावितका लागि जारी गरेको आईपीओ बिक्री स्थगित गरिएको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजना र बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटलले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सेयर बिक्री स्थगित जानकारी दिएका छन् । कोरोना संक्रमण र स्थानीय तहको पत्रलाई मध्यनजर गर्दै वैशाख २३ देखि लागू हुने गरी परिस्थिति सहज नहुँदासम्मका लागि सेयर निष्कासन स्थगित गरिएको बताइएको छ । परिस्थिति सहज भएपश्चात अर्को सूचना जारी गरी आईपीओलाई निरन्तरा दिइने विज्ञप्तिमा जनाइएको छ ।

कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकै बीच आयोजनाले उक्त निर्देशनको अवज्ञा गर्दै आईपीओ खुलाएको थियो । आयोजना प्रभावित बाह्रबिसे नगरपालिकाले तत्काल आईपीओ जारी नगर्न वैशाख २० गते नै गरेको आग्रह आयोजनाले अटेर गरेको थियो ।

मध्य मध्यभोटेकोशी आयोजना प्रभावितका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि १०० रूपैयाँ प्रतिकित्ताका दरले ५० देखि ४०० कित्तासम्म आवेदन गर्न सक्ने गरी निष्कासन गरिएको थियो ।

आयोजना प्रभावित स्थानहरूमा भोटेकोशी गाउँपालिका-१ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रविसे नगरपालिका-५ र ६ (साविक घुम्थाङ्क र मानेश्वरा गाविस) रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *