नेपालसहित सार्कका चार मुलुकसँग चीनद्वारा दुई संयन्त्र स्थापनाको प्रस्ताव – Nepal Press

नेपालसहित सार्कका चार मुलुकसँग चीनद्वारा दुई संयन्त्र स्थापनाको प्रस्ताव

काठमाडौं । चीनले नेपालसहित दक्षिण एसियाका अन्य चार मुलुकलाई समेटेर ‘चीन-दक्षिण एसिया आपतकालिन आपूर्ति संयन्त्र’ र चीन-दक्षिण एसिया गरिबी उन्मुलन र विकास साझेदारी केन्द्र स्थापनाको प्रस्ताव गरेको छ ।

चीनको यो प्रस्तावमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशले सहमति जनाएको चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

संयुक्त बक्तव्य भनिएको उक्त विज्ञप्तीमा सबै पक्षसँग मित्रतापूर्ण परामर्श गरेर संयन्त्र गठन गर्न लागिएको उल्लेख छ । गत मंगलबार ६ मुलुकका विदेशमन्त्रीबीच भर्चुअल छलफल भएको थियो ।

कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे पनि छलफल भएको थियो । दक्षिण एसियाका भारत, माल्दिभ्स र भुटानबाहेकका पाँच मुलुकसँग मिलेर सहयोग संयन्त्र बनाउने घोषणा चीनले गरेको हो ।

संयुक्त बक्तव्य दाबी गर्दै चीनले यस्तो उल्लेख गरेपनि भर्चुअल छलफलपछि नेपालले जारी गरेको विज्ञप्तीमा यसबारे उल्लेख थिएन । बरु, कोभिड–१९ महामारीविरुद्ध आवश्यक स्वास्थ्य सामाग्री खरिदको लागि ९ करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने घोषणा भएको थियो ।

चीनले प्रस्ताव गरेको उक्त संयन्त्रमार्फत निःशुल्क सहायता, व्यवसायको लागि खरिद र खोपहरुको उत्पादन तथा भण्डारण, अन्य मुलुकलाई खोप प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । दक्षिण एसियाली मुलुकहरुले कोभिड-१९ को महामारीको सामना गरिरहेकाले चिनियाँ विदेशमन्त्रीले उक्त प्रस्ताव गरेका थिए ।

साथै, कोभिड-१९ पछि अर्थतन्त्रलाई पुनःउत्र्थान गर्नको लागि चीन-दक्षिण एसिया गरिबी उन्मुलन र विकास साझेदारी केन्द्र स्थापना गर्न चीनले प्रस्ताव गरेको पनि विज्ञप्तीमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री यीले उक्त संयन्त्रमार्फत कोभिड-१९ संकटको सामना गरिरहेको भारतलाई मद्दत र सहायता प्रदान गर्न आफूहरु सकारात्मक रहेको बताएका थिए । मंगलबार भएको उक्त भर्चुअल बैठक भारतलाई सहायता उपलब्ध गराउने उद्देश्यको साथ बसेको समेत जनाइएको छ ।

कोरोनाभाइरसको उत्पतिलाई अफवाह बनाएर केही मुलुकले राजनीतिक रङ दिएको र ६ वटै मुलुकले यस्तो कार्यलाई विरोध गर्नुपर्नेमा विदेशमन्त्रीहरुले सहमति जनाएको पनि विज्ञप्तीमा उल्लेख छ ।

दुई संयन्त्र बनाउने चीनको प्रस्तावलाई छलफलमा भाग लिएका नेपालसहितका दक्षिण एसियाली मुलुकले समर्थन जनाएको पनि चीनले उल्लेख गरेको छ । ती मुलुकका विदेशमन्त्रीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)मा प्रतिबद्धता जनाएको पनि उल्लेख छ ।

चीनको काठमाडौंस्थित नेपाली दूतावासले विदेशमन्त्रीहरुको उक्त भर्चुअल छलफल लाभदायक रहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर